विद्यालय व्यवस्थापन समितिको कार्यकाल समाप्त भएको दुई वर्षभन्दा बढी भइसक्दा पनि चुनाव नगराएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाको एक विद्यालयका अभिभावकहरु आन्दोलित भएका छन् ।
उनीहरु दुई दिनदेखि अनशनमा बसेका छन् । डाक्नेश्वरी नगरपालिका– ९ पत्थरगाडामा रहेको एसएलपी माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको निर्वाचन तत्काल गर्नु पर्ने माग गर्दै अभिाभावकहरुले रिले अनशन सुरु गरेका हुन् । उनीहरुले चुनावको मिति घोषणा नगरेसम्म रिले अनशन जारी रहने बताएका छन् । २०७३ सालमा विद्यालय व्यवस्थापन समितिको निर्वाचन भएको थियो भने सो समितिको कार्यकाल समाप्त भएको दुई वर्ष बढी भइसकेको छ । तीन वर्षे कार्यकाल रहे पनि पाँच वर्ष बित्न लाग्दा पनि निर्वाचन गर्न आलटाल गरेको स्थानीय अभिभावकको आरोप छ । यसअघि पटक–पटक भएको अभिभावक भेलाबाट समयमै सहमतिबाट नभए निर्वाचन प्रक्रियाबाट व्यवस्थापन समिति गठन गर्नु पर्ने समझदारी भए पनि कार्यान्वयन हुन नसक्दा बाध्य भइ अनिश्चितकालीन रिले अनशन सुरु गरेको अभिभावक सत्यनारायण ठाकुरले बताए । विद्यालय प्रशासन र नगरपालिका समेत निर्वाचन गराउन उदासीन रहेको उनीहरुको आरोप छ ।
विद्यालयका प्रधानाध्यापक देवु यादवले कोरोनाका कारण विद्यालय व्यवस्थापन समितिको निर्वाचन समयमै गराउन नसकिएको बाध्यता रहेको बताए । विगत लामो समयदेखि कोरोनाको प्रभावका कारण पटक– पटक विद्यालय बन्द गर्नु परेको छ उनले भने, “यस्तो जोखिमको बेला कसरी निर्वाचन गराउने ।” उनले कोरोनाको जोखिम कम हुने बितिक्कै नगरपालिका, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ, विद्यालय निरीक्षक र स्थानीय प्रशासनसँग अनुमति लिइ छिट्टै निर्वाचन सम्पन्न गर्ने आफ् नो योजना रहेको र यसमा सबैले सहयोग गर्नु पर्ने आग्रह समेत गरे । कसैको कार्यकाल अनावश्यक रुपमा लम्ब्याउने आफ्नो कुनै मनसाय नरहेको र सम्बद्ध निकायबाट अनुमति पाउनासाथ निर्वाचनको प्रक्रिया अघि बढाउने उनले प्रतिबद्धता समेत व्यक्त गरे ।

