![](https://ejanakpurtoday.com/wp-content/uploads/2022/02/IMG-20220203-WA0008.jpg)
ध्रुबकुमार झा
जनकपुरधाम । धनुषा जिल्लामा जडिबुटी सताबरी (कुरिलो)को व्यवसायिक खेतीको सम्भावना पर्याप्त देखिएको छ ।
सम्भावना भए पनि बजार व्यवस्थापन र प्रचार प्रसारको अभावका कारण किसानहरू यसप्रति आकर्षित हुन नसकिएको पाइएको छ । जानकार हरूका अनुसार अन्य बाली उत्पादन नहुने स्थानमा पनि सताबरीको उत्पादन प्रशस्त गर्न सकिन्छ । गाई भैंसी तथा सुत्केरीको दुध उत्पादनमा सताबरीलाई सहयोगी मानिएको छ । सताबरीबारे सर्वसाधारणमा जानकारी भए पनि प्रचार प्रसारको अभाव तथा दोश्रो मुलुक निर्यात गर्ने कठिन प्रक्रियाको कारण सताबरी खेतीको प्रचुर सम्भावना भए पनि यसले व्यवसायिक रुप लिन नसकी ओझेलमा परेको छ । थोरै जग्गामा खेती गरी थुप्रै आम्दानी गर्न सकिने कुरिलो खेती ओझेलमा पर्नुको मुख्य कारण जडिबुटीको बजारीकरणको अभाव तथा राज्य स्तरबाट गरिने कार्यक्रमहरु प्रभावहीन हुनु पनि छ । विभिन्न ८१ प्रजातिको जडिबुटी उत्पादन गर्न सकिने सम्भावना बोकेको धनुषा जिल्लालाई सताबरी खेतीमय बनाउन सकिने सम्भावना भने प्रचुर रहेको वनस्पति अनुसन्धान केन्द्र धनुषाका प्रमुख ताहिर हुसैन बताउँछन् । उनी भन्छन्,‘ पोष्पलपुर ,केम्लीपुर ,देउरी परवाहा,अन्दुपट्टी कटरैत लगायतका तत्कालीन जिल्लाको १ सय १ गाविस मध्ये २५ वटा गाविसका किसानहरुले कुरिलो खेती गर्दै आएका छन् र सोको लागि कार्यालयले अभियान नै सञ्चालन गरेको थियो ।’ वर्षायामको जेठदेखि साउन सम्ममा रोपाईँ गरी एक एक कठ्ठामा प्रति वर्ष न्यून लगानीमा हजारौं रुपियाँ आम्दानी गर्न सकिने कुरिलो नेपालमा भन्दा पनि भारत निर्यात गर्न सकिए अधिक आम्दानी गर्न सकिने बताइन्छ । कुरिलो रोपेपछि यसको बिरुवा फल्ने दाना सुकाएर २ हजार प्रति किलो सहजै बिक्री वितरण हुने गरेको छ भने अढाई वर्ष पछि जरो अर्थात सताबरीको सेला गाउँघरमै खुद्रा मूल्य एक हजारदेखि १२ सय प्रति किलो बिक्री हुने गरेको देउरी परवाहाका किसान सुरेश ठाकुर बताउंछन् ।
एक पटक रोपेर दुई वर्ष सम्म कुरिलोको दाना बेचेर प्रति कठ्ठा २० हजारको दरले आम्दानी हुने गरेको बताउँदै उनी भन्छन्,‘सताबारी खेतीलाई व्यापकता दिन सकिए यसले जिल्लाको कायापलट नै हुनेछ ।’ पुरुषार्थ वृद्धि,धातु वृद्धि,वीर्य वृद्धि एवम् सुत्केरीको दुध वृद्धि गर्न सक्ने गुणले भरिएको सताबरी स्वप्नदोष,मुत्रसम्बन्धी रोगको निवारणमा मात्र नभइ बुद्धिबद्र्धक तथा अग्निबद्र्धकका साथै अनेकौं काममा लाभदायी हुने जडिबुटी मानिन्छ । अन्य बालीको तुलनामा जडिबुटीको खेतीमा न्यून लगानी ,न्यून कामदार लाग्ने भएकोले यसको खेती उत्तम रहेकोले आफूले सताबरी खेतीलाई निरन्तरता दिएको अन्दुपट्टीका किसान महाबीर राउतले बताए । उनले भने,‘तीन कठ्ठामा सताबरी खेती गरेको थिएँ दुई वर्ष भइसक्यो दुई पटक २०÷२० हजार आम्दानी गरेको र जरो(सेला) उखाले पछि सोबाट पनि करिब ५० हजार जति कमाउनेछु।’ एक कठ्ठा जग्गामा दुई वटा कामदारले दिनभरि खटेर खेती गर्न सकिने सताबरीको खेती कम झन्झटिलो ,कम खर्चिलो भएकोले किसानहरुले खेती गर्दा मनग्य आम्दानी गर्न सकिने राउतले बताए । घरमै बनाउन सकिने कम्पोष्ट मलको प्रयोग गरेर सहजै उत्पादन गर्न सकिने सताबरी खेतीको लागि सामान्य रुपमा खेत जोतेर एक पटक विरुवा लगाइसकेपछि वर्षको दुई चार पटक गोडमेल गरेर झारहरु सफाई गरेपछि उत्पादन लिन सकिने भएकोले सताबरी खेतीको प्रशस्त सम्भावना रहेको र सम्पूर्ण धनुषा जिल्लालाई नै सताबरीमय बनाउन सकिने अवस्था रहेको अनुसन्धान केन्द्रका प्रमुख हुसैनको विश्वास छ । कुरिलोको जरो (सेला) तयार हुन अढाई वर्षको समय लाग्ने भए पनि सो अवधिमा दाना भने दुई तीन पटक सम्म उत्पादन गर्न सकिने र दानाको मूल्य पनि राम्रो रहेकोले यसको खेती तर्फ किसानहरुलाई आकर्षित गर्न प्रसार प्रसारमूलक कार्यक्रमहरु ल्याउनु पर्ने आवश्यकता देखिएको छ ।
उष्णप्रदेशीय क्षेत्रले सताबरी उत्पादनको लागि अनुकूल वातावरण हुने भएकोले पनि यसको खेती धनुषा जिल्लाको लागि वरदान नै साबित हुने भएकोले सरकारले पनि यसको प्रचार प्रसारको लागि बिशेष कार्यक्रमहरु ल्याउनु पर्ने आवश्यकता रहेको नेपाल सरकार उद्योग मन्त्रालय अन्तर्गतको ग्रामीण उद्योग तथा विप्रेषण कार्यक्रमका अधिकृत पुरना साहले बताउँछन् । उनले भने,‘जडिबुटी खेतीलाई प्रोत्साहन गर्न स्थानीय सरकारहरुले पनि पहल गर्नु पर्छ ,धनुषा जिल्ला सताबरी मात्र नभई विभिन्न प्रजातिको जडिबुटी उत्पादनको लागि उर्बर भूमि भएको ठाउँ हो ।’ अहिले पनि बाँके लगायतको स्थानबाट कुरिलोको बीउ (दाना) किन्न व्यापारीहरु यहाँसम्म आउने गरेको वनस्पति अनुसन्धान केन्द्र धनुषाका प्रमुख हुसैनले बताए । उनले भने,‘ करिब पाँच वर्ष यतादेखि धनुषाबाटै डाबर नेपाल औषधि कम्पनीले दाना किनेर लैजाने गरेको छ । त्यसै गरी हेटौडा लगायतका किसानहरुले पनि कुरिलोको लागि धनुषा सम्म आउने गरेका छन् तर माग अनुसारको उत्पादन नहुँदा फिर्ता जानु पर्ने दुर्भाग्यपूर्ण स्थिति रहेको छ । दुईदेखि अढाई वर्षमा तयार हुने सताबरीको सेला खेती र बिरुवाको दाना दुई पटक सम्म बेच्न सकिने भएकोले यसको खेतीको लागि सरकारले निःशूल्कमै विरुवा दिने गरेको छ । सरकारद्वारा जडिबुटी खेती तर्फ किसानहरुलाई आकर्षण गर्न अमला,सताबरी,लेमनग्रास तथा सोहिजन गरी विभिन्न चार प्रकारको विरुवा निःशुल्क रुपमै उपलब्ध गराइएको छ । सामान्य गोडमेलको भरमा बन्जर जग्गामा समेत उत्पादन गर्न सकिने सताबरी खेती गरी कठ्ठाको २० किलो जति दाना उत्पादन गर्न सकिन्छ भन्दै उनले भने‘जरो(सेला) उखेलेपछि एक हजारको प्रति किलो सहजै बेच्न सकिन्छ , र धनुषाकै यदुकुहाको किसानहरुले एउटै बोटमा ९ किलो सम्मको सेला उत्पादन गरेको तथ्य समेत रहेको छ ।
यदुकुहाका किसान अब्दुल खालिदले केही वर्ष अगाडि एउटै कुरिलोको बोटमा ९ किलोको सेला उत्पादन गरेका थिए । अन्य जडिबुटी जस्तै सताबरी पनि भारतीय बजारमा राम्रो मूल्यमा सहजै बिक्री वितरण हुने भए पनि जिल्ला वन कार्यालयबाट प्रक्रियामा ढिलाई गर्दा सिजन नै पास भइदिँदा बजार अभावमा थुप्रै समस्या भोग्नु परिरहेको किसानहरुको गुनासो रहेको छ । सताबरीको साथ साथै धनुषा जिल्लामा अत्यन्त उपयोगी मानिने र युरोप अमेरिका समेतमा निर्यात गर्न सकिने जडिबुटी लेमनग्रास यस वर्ष जिल्लाको एकै पटक २७ हेक्टर क्षेत्रफलमा गरिने जनाइएको छ ।