अपडेट 
२०७८ माघ २३, आईतवार ०८:१८

जनकपुरधाम । बिहीबारदेखि लगातार जारी बषाका कारण मधेस प्रदेशका इँटा उद्योगमा करोडौं क्षति भएको छ ।

तीन दिनदेखिको लगातारको वर्षाले धनुषासहित मधेस प्रदेशको विभिन्न जिल्लाको दर्जनौ इँटा उद्योगमा बनाएर राखिएको काँचो ईंटामा क्षति पुगेको छ । तयारी अवस्थामा रहेको करोडौं रुपैयाँ मूल्य बराबरको काँचो इँटा लगातारको वर्षाले पूर्णतःनष्ट भएका छन् । अहिले इँटा तयार पार्ने याम भएकाले सबै इँटा उद्योगहरुमा काँचो इँटा नै तयारी भइरहेको बेला अचानक वर्षा भईदिँदा तयारी ईंटाहरु नष्ट भएको उद्योग सञ्चालकहरुको गुनासो गरेका छन् । उद्योग सञ्चालकहरूका अनुसार एउटा इँटा उद्योगमा कम्तीमा २५ देखि ३० लाख मूल्य बराबरको काँचो इँटा वर्षाको पानीमा गलेर नष्ट भएको हो । इँटा उद्योग व्यवसायी संघ मधेस प्रदेशका अध्यक्ष विनय यादवले भन्छन् ,‘वर्षाको कारण इँटा उद्योगहरुमा अहिले भएको क्षतिको कारण तत्काल उद्योग नै सञ्चालन गर्न नसक्ने अवस्था सृजना भएको छ ।’ वर्षाले उद्योगीहरुको ढाडै टुट्ने गरी क्षति पु¥याएको गुनासो उनले पोखेका छन् । अध्यक्ष यादवका अनुसार मधेस प्रदेशका सबै जिल्ला गरी ६ सय इँटा उद्योग सञ्चालनमा रहेको छ । एउटा उद्योगले कम्तीमा ३० देखि ५० लाख काँचो इँटा तयार पारेका थिए । तयारी भएको इँटाभट्टामा पोल्ने तयारी गरिरहेको बेला एक्कासी भएको लगातारको वर्षाले कामै नलाग्ने सबै काँचो इँटा नष्ट भइसकेको छ ।

एक–दुई महिना लगाएर तयार पारिएको इँटा पुस–माघमा भट्टीमा पोलेपछि तयार हुने गरेको छ । काँचो इँटा तयार पार्न उद्योगले लाखौं रुपियाँ कामदारहरुमाथि गरेको खर्च समेत खेर गएको छ । वर्षाले गर्दा तयार पारिएका काँचो इँटाका साथै भारतबाट खरिद गरेर ल्याइएका कोइला पनि नष्ट भएको अध्यक्ष यादवले बताए । उनले उद्योग सञ्चालनका लागि फेरि सुरुकै अवस्थामा फर्कनुपर्ने बताउँदै सञ्चालकहरू दोहोरो खर्चको ठूलो मारमा पर्ने भएको उनले दुखेसो व्यक्त गरे । मधेस प्रदेशको धनुषामा मात्रै ८० इँटा उद्योग संचालनमा रहेको छ । । यस वर्षाले सबै उद्योगमा क्षति पुगेर कतिपय उद्योग बन्द हुने अवस्थामा पुगेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–६ सखुवाबजार नयाँटोलमा सञ्चालित रामजानकी इँटा उद्योगका सञ्चालक अरुण साहले वर्षाका कारण भएको क्षतिपछि उद्योग बन्द हुने अवस्थामा पुगेको बताए । उनले तयारी गरेर पोल्नका लागि राखेको सबै काँचो इँटा नष्ट भइ एउटा पनि काम नलाग्ने अवस्था रहेको बताए । इँटा उद्योग व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष सञ्जय चौधरीले वर्षाका कारण स्टक गरेर राखिएको सबै कोइला पनि नष्ट भएको गुनासो पोखे । फेरि दोहोरो खर्च गरेर भारतबाट मगाउनुपर्ने अवस्था सृजना भएको दुखेसो समेत उनले व्यक्त गरे । सरकारले अन्य उद्योगहरूका लागि बीमाको व्यवस्था गरे पनि इँटा उद्योगमा बीमाको व्यवस्था छैन ।

खुला आकाशमुनि निर्माण हुने इँटा उद्योगहरूलाई सरकारले बीमाको व्यवस्था नगरेको हो । दैवीप्रकोप वा कुनै दुर्घटना हुँदा बीमा गराएका अन्य उद्योगहरूले क्षतिपूर्ति पाए पनि इँटा उद्योगहरू त्यो सुविधाबाट वञ्चित छन् । उद्योग सञ्चालकहरूले बीमाको व्यवस्था गर्न पटक–पटक आग्रह गरे पनि सरकारले उनीहरूको माग सम्बोधन गरेको छैन । इँटा उद्योग व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष विनय यादवले सरकारले बीमाको व्यवस्था नगरेका कारण प्राकृतिक विपत्ति आउँदा सम्पूर्ण क्षति उद्योगले आफैँ बेहोर्नु परिरहेको जानकारी दिए । अन्य उद्योगजस्तै इँटा उद्योगलाई पनि बीमाको व्यवस्था गर्न सरकारसँग पुनः माग समेत अघि सारेका छन् ।

Comment


Related News

Latest News

Trending News