लहान । सिरहा जिल्लाबाट एक जना नक्कली प्रहरी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले आफूलाई प्रहरी निरीक्षक बताउने नक्कली प्रहरीलाई पक्राउ गरेको छ । झापाको गौरादह नगरपालिका–१ घर भई हाल काठमाण्डु महानगरपालिका–४ मण्डिखाटार बस्दै आएका ३२ वर्षीय अशिम गुरुङलाई पक्राउ गरिएको जिप्रका सिरहाका सूचना अधिकारी सुभाष बुढाथोकीले जानकारी दिए । पक्राउ परेका गुरुंगको साथबाट प्रहरीले लागुऔषध समेत बरामद गरेको छ ।गुरुंगलाई शुक्रबार सिरहा नगरपालिका– ७मा रहेको युवराज डिलक्सको बस काउण्टरमा प्रहरी हुँ भनी धम्की दिँदै गर्दा पक्राउ गरिएको थियो भने आइतबार उनलाई पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको छ । प्रहरीले शंकाको आधारमा चेकजाँच गर्दा उनको झोलाबाट नाइट्रोभेट–१० लेखिएको ३९ थान ट्याब्लेट, स्पास्मो प्रोक्सिवन प्लस २२ थान, प्रहरी निरीक्षक अशिम गुरुङ लेखिएको नेपाल प्रहरीको नक्कली परिचय पत्र, नक्कली पिस्तल १ थान र सोमा प्रयोग हुने होलस्टर एक थान, ड्याईगन चक्कु १ थान, साइरास्याङ्गबो र अशिम गुरुङ लेखिएको मेटल नेम प्लेट २ थान, मोबाईल २ थान, चेकबुक, एटिएम कार्ड, अशिम गुरुङ नामको नेपाली नागरिकताको फोटोकपी, नेपाली रुपैयाँ ३ हजार र एनसेलको ३ वटा सिम बरामद गरिएको जानकारी जिप्रका सिरहाले दिएको छ ।

