मलंगवा । सर्लाहीको ईश्वरपुरमा सडक निर्माणको विषयलाई लिएर दुई पक्षबीच विवाद भएको छ ।
विवादमा वडाध्यक्षको कुटाईबाट स्थानीय एक व्यक्ति घाइते भएका छन् । ईश्वरपुर नगरपालिका–१२ वडाका वडाध्यक्ष नागेन्द्र पाख्रिनको कुटाईबाट सोही वडाका सुधाकर ढुंगेल घाईते भएका छन् । वडाध्यक्ष पाख्रिनले सडक निर्माण सम्बन्धी सामान्य विषयलाई लिएर आफूमाथि ढुंगा प्रहार गरेका पीडित ढुंगेलको आरोप छ । वडाध्यक्ष पाख्रिनले चलाएको ढुंगाले लागेर ढुंगेलको टाउकोमा गहिरो चोट लागेको छ । सडक विस्तारको क्रममा आफूले एकलौटी सडक दिँदा समेत वडाध्यक्षले अनावश्यक विवाद सृजना गरेको उनको आरोप छ । मैले एकलौटी सडक दिएको छु, उनले भने,‘त्यसमा पनि वडाध्यक्षले यहाँबाट दे, त्यहाँबाट हँुदैन भनेर जबरजस्ती गरिरहेका छन् ।’ छिमेकीहरुले दुबै तर्फबाट बराबर बाटो दिन नमानेपछि ढुंगेलले आफ्नो बारीको बीचबाट एकलौटी बाटो बनाउन जग्गा दिएका छन् । वडाध्यक्ष पाख्रिनले छिमेकीसगँ साँठगाँठ गरेर आफूलाई एकलौटी पेलेर सडक निर्माण गर्न खोजेको ढुंगेलको आरोप छ ।
वडाध्यक्षले गुण्डागर्दी शैलीमा केही व्यक्तिहरुलाई बोलाएर उनकै आदेशमा कुटपिट गराएको ढुंगेलले बताए । ईलाका प्रहरी कार्यालय केशरगंजका प्रमुख एवं प्रहरी निरीक्षक जनक ढुंगानाले घटनाको बिषयमा अनुसन्धान गरिरहेको बताए । घटना भए लगतै प्रहरी टोली घटना स्थल पुगेको र वडाध्यक्ष लगायतका झगडियाहरुसंग सोधपुछ जारी रहेको उनले बताए ।
https://www.youtube.com/watch?v=OlGYOveCUWk

