अपडेट 
२०७८ माघ २५, मंगलवार ०७:३६

कुनै पनि समुदाय, समाज, समूह, विरादरी र जात ÷ जातिका लागि मातृभाषा बहुमूल्य निधि हुन्छ किनभने उनीहरुको बोली ÷ भाषाले नै उनीहरुको सामाजिक, सांस्कृतिक र राजनैतिक पहिचान र अन्तर सम्बन्धलाई जीवन्त बनाई राखेको हुन्छ । नेपालमा गणतन्त्रको प्रादुर्भाव सगै पहिचानको राजनीति जोरदार किसिमले अग्रसर भईरहेको छ । “ एउटै भाषा एउटै भेष “ को नीति असफल भई सकेकोछ । मधेश प्रदेशमा “ मैथिली बहुसंख्यकको भाषा हो “ भने कुरो विवादास्पद भई सकेको छ ।

मधेश प्रदेशमा बोलिने मातृभाषाहरु खास गरी मगही, मैथिली, भोजपुरी, बज्जिका, नेपाली र हिन्दी हुन् । बि.स. २०७८ सालको जनगणना भरखरै सकिएको छ । मगही र मैथिली भाषा ०७८ को जनगणनामा लेखाउन केही मंत्री र सांसदहरु पनि मधेश प्रदेशमा लबिङ्ग गरेका थिए । गंगा जस्तो ठूलो नदी, पहाड र निर्जन, विशाल बाँझो जमीन भाषाको प्रसारलाई रोक्दछन् भने कुरो भाषा विज्ञानको मान्यता छ । तसर्थ गंगा पारीको भाषा मगही नेपालको मधेसमा कसरी कुदेर आउन सक्छ भनेर तर्क गर्न स्वाभाविक हो । तर हामीले के विर्सनु भएन भने गंगा नदी वारीपारीका मानिसहरुको आवगमन कहिल्यै बाधित भएन । दोस्रो कुरो नेपालको हाम्रो मधेस / मिथिला विभिन्न काल खण्डमा मगध राज्यको अधिनमा रहेको ऐतिहासिक प्रमाणहरु हामीहरुसँग छन् । चन्द्र गुप्ता अशोक राजागुरुको समयमा मिथिला मगधको क्षेत्राधिकार भित्र पर्दथ्यो । ईसाको चौथो शताब्दीमा मिथिला पुनश्च गुप्त साम्राज्यको अधिनमा आयो । गुप्ता कालमा राष्ट्रका एकाइहरुलाई “भुक्ति“ भनिने हुँदा मिथिला “तीर भुक्ति“ नामले प्रख्यात भएको कुरा इतिहासकारहरुलाई थाहा भएको कुरो हो । सातौ शताब्दीको अन्तिम वर्षहरु तिर भुक्ति मगधको अधिनमा फेरि पनि आएको र आदित्य सेनले शासन गरेको ऐतिहासिक प्रमाण छ । आठौं शताब्दीमा हाम्रो क्षेत्र बंगालका पालहरुको अधिनस्त थियो । त्यस पछि कर्नाटवंशी राजाहरुले २२५ वर्ष सम्म मिथिलामा राज्य गरे । दिल्लीको गयासुद्दीनले मिथिला माथि आक्रमण गरे पछि हरिदेव सिंह भागेर उत्तर पहाड तर्फ लागे । कर्नाटवंशको पतन पछि मिथिलामा मुस्लिम आधिपत्य हुन गयो । ३०० वर्ष सम्म मिथिला क्षेत्र मुसलमानहरुको अधिनमा रह्यो । उपरोक्त तथ्यहरुबाट के निष्कर्ष निकाल्न सकिन्छ भने उहिले मानिसहरु ठूल–ठूला समूहहरुमा नेपालको मधेसमा बसाई सराई गरेका होलान् । त्यसैले होला सर्लाही जस्तो जिल्लाहरुमा मगहिया तेली, कुशवाहा, बढई, डोम, दुसाध र अन्य अनेक जात ÷ जातिहरुको बसोवास छ । यिनीहरुको भाषा मगही हो ।

मगही भाषा मैथिलीबाट सजिलै छुट्टिन्छ । ’पानी’, ’भैंसी’, ’माटी’लाई मैथिलीमा ’पाइन’,’महिस’, र ’माइट’ भनिन्छ । ठाउँको अभावको कारण यी तीन शब्दहरुको अन्तर मात्रै देखाइएको छ । अभिव्यक्तिका मुलधार मगही र मैथिलीका वाक्य संरचनाहरुमा अन्तरहरु छन् । वास्तवमा भन्ने हो भने सर्लाही देखि पूर्व सुनसरी, मोरंग र झापा सम्म पिछडा वर्ग, दलित, महादलितहरुको भाषा मगही हो । संयोगको कुरो के हो भने कनौजियाहरु पनि मगही नै बोल्दा रहेछन् । सर्लाहीको पिछडावर्ग, दलित र महादलितहरुको मगहीमा एकदैम समानता छ । त्यसै गरी अन्यहरुका पिछडा वर्ग, दलित र महादलितहरुको मगही भाषा बोलाइमा समरुपता देखिन्छ । सर्लाही जिल्लाको मगही र पूर्व जिल्लाहरुको मगही भाषामा बोल्दा खेरी अलिकति फरक पर्नु भौगोलिक कारणले गर्दा हो । मगही अति प्राचीन भाषा हो भन्दा अतिशयोक्ति नहोला । मैथिली, भोजपुरी, अवधी, हिन्दी, र नेपालीहरु भन्दा पुरानो । गुगल हेर्दा थाहा हुन्छ कि गौतम बुद्धले आफ्नो प्रवचन मगही भाषामा नै गर्दथे । उनका अनुयायी अशोक सम्राटहरुले बोल्ने भाषा हो मगही । बिहारका दस जिल्लाहरु , झारखण्डका आठ जिल्लाहरु र बंगालका पश्चिम क्षेत्रहरुमा मगही भाषीहरुको आबादी रहेको छ । ईस्वी सन २०११ को जनगणना अनुसार भारतका ती प्रान्तहरुमा मगही भाषीहरुको संख्या २ करोड ७० लाख थियो । नेपालमा २०६८ को जनगणनामा मगही भाषीहरुको संख्या ३६ हजारको हाराहारीमा मात्रै देखाइएकोले मगहियनहरुलाई दुःख लाग्नु स्वाभाविक हो । त्यसैले २०७८ को जनगणनामा मगहियनहरु अलि चनाखो देखिएका थिए । नढाटी भन्ने हो भने बिवाहोत्सवका गीतहरु, धान रोपाईका बेला गाइने गीतहरु, पहराती, भगतयी, झिझिया र अन्य अवसरहरुमा गाइने गीतहरु मैथिलीका थोरै र मगहीका बढी हुन्छन् । पिछडा वर्ग, दलित र महादलितहरुलाई एक ठाउँमा अर्थात मगहियनहरुलाई एक ठाउँमा गिन्ती ÷ गणना गर्ने हो भने मैथिली भाषीहरुको सख्या न्यून हुन आउँछ मधेश प्रदेशमा ।

तथ्य र वास्तविकताहरु अन्यथा भए पनि केही स्वार्थी र अवसरवादीहरु मैथिलीको तथाकथित विशालता, प्रगाढता र प्राचीनताको ढिढोरा पिटीरहेका छन् । प्राचीन मिथिलाको भाषा मैथिली थियो भन्छन् ! सीताजीसंग हनुमानजीले अशोक वाटिकामा मैथिलीमा संवाद गरे अरे ! यी यावत कुराहरु बेबुनियादी छन् । प्राचीनकालमा मिथिला राज्य नेपालको हिमाल देखि दक्षिण भारतको गंगा नदी सम्म थियो भनेर भनिन्छ । मल्ल कालका केही शिलालेखहरु मैथिलीमा लेखिएको प्रमाणहरु फेला परेका छन् भनेर मैथिलीका जानकारहरु दाबी गरी रहेकाछन् । पोखरा पनि मिथिला क्षेत्र भित्रै थियो भनेर भन्नेहरु छन् । मानि लिऔं ती सबै ठाउँहरुमा मिथिला र मैथिली भाषाको उपस्थिति थियो, अनि ती भूभागहरुमा नेपाली, नेवारी, राई लिम्बू, तमाङ्ग र अन्य भाषाहरु कसरी आए ?

मिथिला र मैथिली भाषाको नामो निशान छैन । वारा, पर्सा र रौतहट सम्म पनि मैथिलीको अस्तित्व छैन । सर्लाही पूर्व सबै मधेसका जिल्लाहरुमा मैथिली भाषीहरु छन् भनी प्रचार गर्नु सर्वस्वीकार्य हुन सक्दैन । मैथिली बाह्र सय वर्ष पुरानो भाषा हो भनेर भनिन्छ तर यस भाषामा उल्लेख्य धार्मिक एवं अन्य पुस्तकहरु छैनन् । अर्को तिर पाँच सय वर्ष पहिले (पन्द्रहौं, सोह्रौं शताब्दी ) का कबीर, रहीम र गोस्वामी तुलसी दासका कृतिहरु जनजनकालागि प्रेरणाका स्रोतहरु बने । मैथिली विकसित, लोकप्रिय र सर्व स्वीकार्य भाषा भएको भए हिन्दी जस्तै राजनीति शास्त्र, विज्ञान, गणित, अर्थशास्त्र आदिका पुस्तकहरु मैथिलीमा पाइन्थे होला ? केपनि भनिन्छ भने सीताजी मैथिली बोल्दथिन अरे ! मिथिला राज्यको भाषा मैथिली थियो । अशोक बाटिकामा हनुमानजीले माता सीतासँग मैथिलीमा संबाद गरे ! यी सबै कुराहरु निराधार छन् । वास्तबिकता के हो भने रामायण कालिन भाषा वाल्मीकि प्रणीत रामायण (चौथो हिन्दी सस्करण, पृष्ठ ६०३–६०४) पढदा थाहा पाइन्छ । हनुमानलाई रावणको छद्ममवेषी जासुस नबुझुन् जानकीले, तसर्थ हनुमानजीले जानकीसँग अयोध्या तिर प्रयोग हुने खालको संस्कृत प्रयोग गरी उहाँसँग वार्तालाप गरे । मधेश प्रदेशका विभिन्न भाषा भाषीहरुका बीचमा भाषाहरुका लागि विवाद हुनु दुर्भाग्यपूर्ण हो किनभने सबै जना एउटै भाषा परिवारका छन्, सगै हातेमालो गरेर बसेका छन्, एकले अर्काको बोली सहजै बुझेका छन् । सबैका कुल, गोत्र उही हो ।

थारु र दनुवारले हाम्रा भाषा ÷ बोली अलग हुन भनेर भन्दा हामीले हो भन्दा के को आपति? पहिला पहिला मानव शास्त्र, समाजशास्त्र र मनोविज्ञान एकै विषय अन्तरगत पठन पाठन हुन्थे तर अहिले अलग– अलग विधाको रुपमा पठन पाठन हुन्छन् । मगही र मैथिली सहोदर हुन् । अलग–अलग रुमा स्वीकार्य गर्दा के को टाउको दुखाई ? हामीले के विर्सनु हुँदैन भने हाम्रा यी भाषाहरुमा जातीय, वर्गीय र क्षेत्रिय विशेषताहरु छन् । यो कुरोलाई हृदयगम गरौं । स्वार्थी तत्वहरुबाट सतर्क रहौं । विवाद न गरौं । मगही हाम्रो भाषा हो भन्नेलाई भाषिक अधिकारको सम्मान गरौं ।

Comment


Related News

Latest News

Trending News