अपडेट 
२०७८ माघ २६, बुधबार ०७:४९

स्थानीय चुनावको मिति तोकिएको छ । अब समाजमा चुनावी सक्रियता बढेको छ । चुनावी सक्रियताको अर्थ यो हो कि आउँदो वैशाख ३० मा हुन गइरहेको पालिका तहको चुनावमा उम्मेदवार हुन चाहेका व्यक्ति स्पष्ट हुँदै गएर आफ्नो पक्षमा माहौल बनाउन तयार हुने अवस्था हो । अहिले अब चुनावको विषयमा लोकजीवनका सबै क्षेत्रमा सन्दर्भगत चर्चा हुन थालेको पनि छ ।

राजनीतिमा रुचि लिनेले आफूलाई अझ बढी सक्रिय बनाउन थालेका छन् भने रुचि नहुनेले पनि अरुको सरसल्लाहमा रुचि लिनु परेको छ । हरेक मतदातासम्म करिब करिब यो खबर पुगिसकेको छ कि अब चुनाव हुन्छ । चुनाव हुन्छ कि हुँदैन भन्ने संशय अब कम भएको छ र एक हिसाबले देश निर्वाचनतिर उन्मुख भइसकेको छ । पालिकाको चुनाव धेरै किसिमले महत्वपूर्ण छ । बुझ्नुपर्नेले अब बुझिसकेका छन् कि पालिका सरकार पनि आफैँमा एउटा सरकार हो । देशको संविधान, कानुन, नीति र निर्देशनको अधिनमा रही तथा प्रदेशको पनि कानुन, नीति र निर्देशनको अधिनमा रही पालिका सरकारले पनि आफ्नो ऐन, कानुन बनाउन सक्छ, नीति र निर्देशन जारी गर्न सक्छ । अहिले सर्वसाधारणका लागि सबैभन्दा नजिकको सरकार नै पालिका सरकार हुन गएको छ । र, कतिपय अवस्थामा सरकार हुनुको अनुभूति पनि सर्वसाधारणले गर्न पाएका छन् । यद्यपि यो पहिलो प्रयोग थियो । पहिलो प्रयोग भएको हुनाले धेरै हदसम्म पालिका सरकारको अभ्यासमा नै समय खर्च भएको छ । यद्यपि अहिले पालिका सरकारको संरचनाको बारेमा बुझ्नुपर्नेले बुझिसकेका छन् र अबको समयमा पालिका सरकारले निकै छिटो वा छोटो समयमा नै गति लिने निश्चित देखिएको छ । देशमा सात सय त्रिपन्न पालिका छन् । यसको अर्थको देशमा सात सय त्रिपन्न पालिका सरकार छन् । सबै पालिकामा एकै चोटि निर्वाचन भएको थिएन ।

वर्तमान पालिका सरकारको निर्वाचन तिन चरणमा भएको थियो । तिन चरणमा निर्वाचन हुँदा पहिलो चरणको निर्वाचनको तिथिलाई नै कानुनले मूल निर्वाचनको तिथि मानेको थियो । यसले गर्दा वैशाख ३१ मा भएको पहिलो चरणको निर्वाचनको मितिभन्दा एक दिन पहिले पाँच वर्ष पूरा हुने भएकोले पाँच वर्ष पूरा हुने दिन अर्थात् आउँदो वैशाख ३० मा नै पालिका निर्वाचनको मिति घोषणा गरिएको हो । यो निर्वाचन समयमा सम्पन्न हुँदा व्यवहारमा पनि एकै दिन सबै पालिका सरकारको कार्यारम्भ हुन्छ । अहिले कार्यरत कतिपय पालिका सरकारले दिन गणनाको हिसाबले पाँच वर्षको अवधि पूरा गर्न नपाएको पनि देखिन्छ । यसको कारण पनि सबैले बुझेका छन् कि तिन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो र यो भनिएको थियो कि पहिलो चरणको निर्वाचन भएको मितिलाई नै निर्वाचनको आधार मानिने छ । यस अर्थमा दोस्रो र तेस्रो चरणमा निर्वाचित पालिकाका जनप्रतिनिधिले आफ्नो अवधि त पूरा गरे तर पूरा पाँच वर्ष भने पु¥याउन पाएनन् । अब भनिरहनु पर्दैन कि हरेक सरकारको आफ् नो पहिचान हुन्छ । अझ सरकारको पहिचान त्यहाँको भूगोल र संस्कृतिले नै गर्ने हो । सन्दर्भ पालिका चुनावको हो र पालिका सरकारको भौगोलिक सीमाभित्रको परिवेशलाई पहिचानको आधारमा पनि मूल्यांकन हुनु आवश्यक छ । यो कुनै जरुरी छैन कि हरेक स्थानीय तहको भौगोलिक सीमाभित्रको आन्तरिक पहिचान फरक नै होला । भूगोल त फरक हुन्छ तर भौगोलिक परिवेश पूर्णतया एकै किसिमको हुने वा पूर्णतया फरक नै हुने हुन्छ भन्ने पनि होइन ।

तर एउटा के स्पष्ट छ भने हरेक पालिका सरकारले आफ् नो भूगोल वा भौगोलिक सीमाभित्र रहेर नै विकास तथा निर्माणको मूल काम गर्नुपर्दछ । अन्य पालिकाको सीमामा सम्बन्धित पालिकाको समन्वयबिना काम गर्न सजिलो छैन । काम गरेको उचित पनि मानिएको पाइँदैन र हाम्रो परिवेश यस्तो रहेको छ कि आफ्नै भौगोलिक सीमाभित्र अनेक किसिमका अभाव र समस्या छन् । तिनको पहिचान तथा निराकरण गर्नमा नै बजेटको अभाव रहेको छ । यस अवस्थामा अन्य पालिकामा कुनै अन्य पालिकाले नैतिक सहयोग गर्नु स्वाभाविक हो वा अति सामान्य विकासात्मक कार्यमा सहयोग गरेको पनि हुनुपर्छ जुन सामरिक दृष्टिकोणले आफ्नो पालिकालाई महत्व राख्दछ तर समग्रमा आफ्नो पालिकाको पहिचान र विकासलाई नै सम्बन्धित पालिकाले विशेष महत्व दिएको हुनुपर्छ । दिएको छ पनि । पालिकाको चुनाव राष्ट्रिय महत्वको रहेको छ । यसमा द्विविधा छैन कि पालिकाको चुनावले सबैको ध्यान तानेको छ । हरेक पार्टीले आफूलाई सक्षम र सबल भनिरहेको छ र आफूलाई बलियो बताइरहेको अवस्था छ । तर्कको दृष्टिकोणले यसलाई नकारात्मक रुपमा लिनु हुँदैन । जबसम्म चुनावको परिणाम आउँदैन तबसम्म जनताको नजरमा आफू र आफ्नो दललाई राम्रो वा ठूलो भन्न पाउनु स्वाभाविक हो । एकभन्दा बढी मानिसमा यस किसिमको क्षमता हुन्छ पनि ।

नागरिकले पनि एकै समयमा एकभन्दा बढी मानिसलाई मन पराएको पनि हुन सक्छ तर चुनावमा कोही एकलाई भोट दिनुपर्ने हुन्छ । यस्तो अवस्थामा दुई वा दुईभन्दा बढी मानिसलाई मन नपराएको पनि भनिहाल्न मिल्दैन । यद्यपि जो जिता वही सिकंदर भन्ने हुन जाने हुन्छ । परिणाममा एकलाई निर्वाचित गराउनुपर्ने हुन्छ र नागरिकले यही गर्छन् पनि । यसले के देखाउन सक्छ भने राम्रामध्ये पनि राम्रो छानिएका छन् । पराजितहरु जति सबै नराम्रा नै थिए भन्ने अर्थ कदापि लाग्दैन । नागरिकले अवसर दिने बेलामा एक जनालाई मात्र दिन सकिने घेरामा रहेर निर्वाचित गरेका हुन् भन्ने बुझ्नु सकारात्मक हुन्छ । स्थानीय तहको निर्वाचन भनिए पनि पालिका निर्वाचन भन्नु पनि कुरो एउटै हो । हरेक पालिकामा देशभर एकै साथ चुनाव हुने भएपछि हरेक पालिका आफँैमा व्यस्त हुन्छ । हरेक पालिकाका उम्मेदवार र मतदाताको ध्यान एक साथ निर्वाचन केन्द्रित हुन जान्छ । यो अवसरले एउटा मन्थनको अवसर पनि प्रदान गरेको छ । त्यो के हो भने वर्तमान अवस्थामा कार्यरत रहेका पालिका प्रतिनिधिहरुले सम्बन्धित पालिकाको पहिचानको लागि के कस्ता काम गरेका छन् ? यस दृष्टिकोणले पनि सकारात्मक बहस गर्नु आवश्यक छ । यस दृष्टिकोणले पनि नागरिकले पालिका सरकारको मूल्यांकन गर्नु उचित हुन्छ र सम्बन्धित पालिका सरकारले समेत आफ् नो पालिकाको पहिचानको लागि के कस्ता कामहरु गरेका छन् भनेर आफ्नो मूल्यांकन नागरिकसामु राख्नु उचित हुन्छ ।

पालिकाको पहिचानको सन्दर्भ विभिन्न किसिमले आउन सक्छ । कुन किसिमले नागरिकले आफ्नो पालिकाको पहिचान कायम गर्न खोजका थिए ? कुन किसिमले अहिले पहिचान खोजिरहेका छन् ? कुन किसिमले पालिका सरकारले पहिचान स्थापित ग¥यो, गरिरहेको छ वा गर्ने आधारको निर्माण गरेको छ ? हरेक पालिकाको ऐतिहासिक, सांस्कृतिक पृष्ठभूमि हुनुपर्छ । हरेक पालिकाको आप्mनो भाषिक तथा साहित्यिक परिचय पनि हुनुपर्छ । हरेक पालिकाको लोकसंस्कृति हुनुपर्छ । के यी पक्षमा कुनै काम भएका छन् ? के यस्ता कामलाई महत्व दिइएको छ ? पालिकाले प्राज्ञिक क्षेत्रमा के कस्ता कामहरु गरेका छन् ? पालिकाले पालिकाबासीको गाँस, बास र कपासको व्यवस्था गर्न सम्भव भएसम्म राम्रै काम गरेको हुनुपर्छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा कुनै नमुना काम हुन सकेको छ ? शिक्षाको क्षेत्रमा भएका प्रगतिहरु के के हुन् ? स्वास्थ्यको क्षेत्रमा पालिकाले के कति काम गरेको छ ? के पालिकाले आफ्नो तर्पmबाट प्राज्ञिक शिक्षाको क्षेत्रमा कुनै विशिष्ट उपलब्धिमूलक काम गर्ने प्रयास गरेको छ ? उदाहरणको लागि आफ्नो पालिकाभित्रका शिक्षक वा सामान्य नागरिकलाई कुनै विषयमा पिएचडि उपाधिका लागि कुनै किसिमले सहयोग गर्ने योजना बनाएको छ ? अहिले जब कार्यकाल पूरा हुन खोज्दैछ तब कुनै पनि क्षेत्रमा पिएचडि गराउनको लागि कसैलाई छात्रवृत्ति सुविधा उपलब्ध गराएको छ ?

कोही नागरिकलाई पिएचडि पढ्ने वातावरण बनाइदिएको छ ? मेरो पालिकाको सरकार निर्वाचित हुनुभन्दा पहिले यत्ति संख्यामा पिएचडि थिए, मेरो अवधिमा यत्ति पिएचडि थपिए र यी मध्ये पालिकाले खर्च बेहोरेर र वातावरण बनाइदिएर यत्ति मानिस यी विषयमा पिएचडि गरे भनेर सगर्व घोषणा गर्ने पालिका सरकार कत्ति होलान् ? प्राज्ञिक मात्र होइन, भौतिक पूर्वाधार तथा पर्यटकीय क्षेत्रको विकास र विस्तारमा पालिकाले पहिचानमूलक काम गरेको हुन सक्छ । पालिकाका सबै कार्यालयहरु आफ्नै भवनमा चलेका हुन सक्छन् । पालिका कार्यालय पनि सुविधा सम्पन्न बनेको हुनुपर्छ । शिक्षा र स्वास्थ्यको भौतिक पूर्वाधारमा कुनै कमी नभएको हुन सक्छ । सडक र यातायात क्षेत्रको पूर्वाधार पनि गज्जबको नमुनालायक बनेको हुन सक्छ । पानी पर्दा सडकमा पानी जम्दैन । बाटोमा हिलो हुँदैन । हरेक घरमा खानेपानी पुगेको होला । हरेक घरको फोहोर पानी नालामा जाने र नालाले सही निकास पाएको होला । खेतमा सिंचाइ सुविधा पुगेको होला । विद्यालयमा शिक्षक अभाव नहोला । विद्यार्थीले कोचाकोच गरेर बस्नु पर्ने, शिक्षकको अभावमा आफैँले पढ्नुपर्ने, पाठ्यपुस्तकको अभावमा त्यत्तिकै पढ्नुपर्ने नहोला । डेस्क बेन्चको राम्रो व्यवस्था भएको होला र समयमा पाठ्यपुस्तक तथा छात्रवृत्ति पनि पाएको हुनुपर्छ । सर्वसाधारण अस्पताल पुग्दा उसले चिकित्सकको उपचार र सम्भव भएसम्म औषधि पाएको हुनुपर्छ । यसै गरी आवश्यकताअनुसारको परामर्श सेवा पाएको हुनुपर्छ । गर्भवतीले समयमा पोषण र चेकजाँचको सुविधा पाएको हुनुपर्छ । सुविधा सम्पन्न वातावरणमा बर्थिङ सेन्टर चौबिसै घन्टा चलेको हुनुपर्छ । अस्पतालमा उपकरणको अभाव नहोला । चिकित्सक र अन्य प्राविधिक कर्मचारीको पनि अभाव नहोला । पालिकाका ज्येष्ठ नागरिकले समयमा निवृत्तिभरण भत्ता पाइरहेको हुनुपर्छ ।

पालिकाले सेवा दिने कार्यालयहरुमा सेवाग्राहीले आत्मसम्मान पाएको हुनुपर्छ र सम्भव हुँदासम्म सेवाग्राही सन्तुष्ट हुने वातावरण हुनुपर्छ । पालिकाले बनाएको नीति र दिएको निर्देशनको आधारमा पालिकाभित्रका कार्यालयहरु संचालन भएको हुनुपर्छ । पालिका अनावश्यक खर्च गर्न नगर्ने र आवश्यक ठाउँमा खर्चको अभावमा काम बिग्रेको पनि अवस्था नभएको हुनुपर्छ । पालिकाबाट विपन्न परिवार, अल्पसंख्यक समुदाय तथा सुरक्षा पाउनुपर्ने अन्य वर्ग वा समुदायले सम्मानसहितको सुविधा र सुरक्षा पाएको हुनुपर्छ । यी र यस्ता अनेक क्षेत्र छन् जसमा पालिकाले आफ्नो परम्परागत पहिचानलाई कायम राखेर विकास गरेको हुन सक्छ वा नयाँ क्षेत्रको पहिचान गरेर पालिकाले विकास गरेको हुन सक्छ । पालिकाले फलानो क्षेत्रमा नमुना मात्र होइन, विशिष्ट पहिचान कायम गरेको हो भनेर बताउने हुनुपर्छ । कुन कुन क्षेत्रमा पािलकाले विशिष्ट काम गरेको छ ? पालिकाले कुन क्षेत्रमा आफ् नो पहिचान कायम गर्न सकेको छ र कुन क्षेत्रमा आफ्नो मर्यादालाई बढाएको छ ? यी कुरालाई पनि सार्वजनिक गर्नु जरुरी छ । यसलाई यसरी पनि बुझ्न सकिन्छ कि वर्तमान समयमा गरिएका अभ्यासहरुको आधारमा अर्को कार्यकालमा यी क्षेत्रमा यसरी पालिकामा यी यी कार्यहरु पहिचानका लागि विशिष्ट हुन सक्छन् । यी क्षेत्रमा भएका यी यी कामले पालिकाको सम्मानमा वृद्धि भएको छ । जसले पनि सजिलै देख्न सकिने उपलब्धिहरु यी यी हुन् र यी उपलब्धि नै वर्तमानको धरातलमा हाम्रा विशिष्टता वा पहिचान हुन् ।

Comment


Related News

Latest News

Trending News