२०७८ माघ २८, शुक्रबार ०६:३९

जनकपुरधाम ।मधेशवादी दलको उद्गमस्थल लहानका प्रथम मधेशी सहिद रमेश महतोको सहादतमाथि टेकेर मधेश प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन लागेको छ ।

देशमा अन्तरिम संविधानको विरोध गर्दै तत्कालीन मधेशी जनअधिकार फोरमले गरेको नेपाल बन्दको क्रममा तत्कालीन माओवादीका प्रभावशाली नेता राम कार्कीलाई लहानको बन्द छिचोल्न माओवादीले चलाएको गोली लागेर महतोको मृत्यु भएको थियो । महतोको हत्याले मधेशमा आन्दोलन चर्किएको थियो ।त्यसपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अन्तरिम संविधानमा मधेशका मागलाई सम्बोधन गर्न बाध्य भएका थिए । २०६३ साल माघ ५ गते सहादत दिएका महतोको स्मृतिमा मधेश प्रदेश सरकारले बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ । प्रदेश सरकारमा सहभागी भएको नेकपा माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहको सक्रियतामा जनयुद्ध दिवस प्रदेश सरकारले मनाउन लागेको छ । मधेश प्रदेश सरकारले पहिलो पटक आगामी फागनु १ गते जनयुद्ध दिवस मनाउने भएको छ । यसक्रममा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

आगामी फागुन १ गते ती परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम तय भएको प्रदेश सरकारले जनाएको छ । विगत तीन वर्षदेखि माघ ५ गतेलाई मधेश बलिदानी दिवसका रूपमा मनाउँदै आएको प्रदेश सरकारले पहिलोपटक फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरेको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गतको मधेशी सहिद प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रमलाई पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बोधन गर्ने बताइएको छ । पहिलो चरणमा प्रदेशको आठवटै जिल्लाका ४० माओवादी सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने तयारी रहेको बताइएको छ । जनयुद्धमा सहादत दिएकाहरुलाई संघीय सरकारले आर्थिक सहायता उपलब्ध गराएको छ ।जनयुद्धको क्रममा देशभर १७ हजार भन्दा बढी मानिसको हत्या भएको थियो ।

Comment


Related News

Latest News

Trending News