२०७८ माघ २८, शुक्रबार १९:१४

वीरगन्जका प्रभावशाली नेता राजेशमान सिंह अन्ततः नेकपा एमालेमा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी विभाजन भएपछि लोकतान्त्रिक समाजवादी पार्टीका नेता सिँह नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेको तस्बिर सार्वजनीक भएसँगै नेता सिंहले एमालेमा प्रवेश गरेको समाचार प्रकाशमा आएको थियो । यद्यपी सिँहले शुक्रवार नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी औपचारिक रुपमा एमालेमा प्रवेश गरेको जानकारी दिएका छन् । आगामी फागुन १४ गते वीरगञ्जमा एमाले अध्यक्ष ओलीको उपस्थितिमा हुने पार्टी प्रवेश कार्यक्रमका बिच औचापरिक रुपमै आफ्नो नेतृत्वमा ठूलो संख्यामा पार्टी प्रवेश गर्ने सिंहले बताए ।

मधेशी दलले मधेशसँग गद्धारी गर्दा बाध्य भएर एमालेमा प्रवेश गर्नु परेको बताउँदै सिँहले एमालेमा गएपनि मधेशका एजेण्डा र मधेशवासीको हितका लागि सँधै तत्पर रहने प्रतिबद्धता जनाएका छन् । उनले मधेशवादी दलहरुले मधेशी जनताको एजेण्डालाई भाजार सत्ता पुग्ने सिढी मात्रा बनाएको आरोपसमेत लगाए । “मधेश केन्द्रित राजनीतिक दलले मुद्दाको नाममा आन्दोलन गरेर जनतालाई दुःख मात्रा दिएर आफू सत्तामा पुग्न खोज्छन । अन्त्यमा मधेशी जनतालाई केही पाउँदैन,“ सिंहले भने ।

सिंहले मधेशी जनताको अधिकार एमाले बाहेक अन्य कुनै पार्टीले दिलाउन नसक्ने दावी गर्दै भने, “मधेशी जनताको अधिकारका लागी मधेशवादी दल भन्दापनि एमालेले बढी गरेको छ । वर्षौंदेखि अड्किएको नागरिकताको समस्यालाई समाधान गर्न अध्यादेश ल्याउनेदेखि मधेश आन्दोलनका क्रममा प्रदर्शनकारीहरुमाथि लागेको मुद्दा फिर्तासम्म एमालेले गरेको देखाएको छ । आगामी दिनमा पनि मधेशी जनताको मागलाई एमालेले पूरा गर्नेमा म विश्वस्त छु ।“

मधेश आन्दोलन राज्यको विभेद विरुद्धको आन्दोलन हुनुका साथै मधेश भित्रकै विभिन्न विभेदहरुको समष्टिगत रुप भएपनि त्यसले सार्थकता पाउन नसकेको भन्दै सिँहले आपत्ति जनाए । मधेशीको हक अधिकार स्थापित गराउनकै लागि एक दशकभन्दा लामो समयदेखिे मधेशवादी दलमा आबद्ध भई अग्रणी मोर्चामा रहेर योगदान दिदाँ पनि उक्त योगदानको मूल्यांकन नभएपछि नेकपा एमाले रोज्न बाध्य भएको सिंहको भनाई थियो ।

सिंह पर्सामा एक प्रभावशाली नेता मानिन्छन् । युवाहरुको विच धेरै लोकप्रिया सिंह गत स्थानीय तहको निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट वीरगञ्जको मेयरका उम्मेदवार थिए । निर्वाचनमा उनि तत्कालिन संघीय समाजवादी फोरम नेपालका विजय सरावगीसँग पराजित भए । यस पटकपनि वीरगञ्जको मेयर पदमा आफ्नो दावेदारी दिने सोच बनाएका सिंह लोसपाबाट जित्ने छाटकाट नदेखिएपछि उनले पार्टी त्यागेर एमाले रोजेको बुझिएको छ ।उनलाई नेकपा एमालेबाट वीरगञ्ज महानगरको मेयर पदका लागि टिकट दिने एमाले अध्यक्ष ओलीले आश्वाशन दिएको स्रोतको दावी छ । स्रोतका अनुसार वीरगञ्जमा हुने कार्यक्रमका दौरान ओलीले मञ्‍चबाटै सिंहलाई आगामी स्थानीय तहको निर्वाचनमा वीरगञ्जको मेयर पदको लागि उम्मेदवार घोषणा गर्ने छन् ।

नेपाली कांग्रेसबाट आफ्नो राजनीतिको सुरुवात गरेका सिंह राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदै मधेश आन्दोलनका क्रममा राष्ट्रिय मधेश समाजवादी पार्टीमा गएका थिए । विगत १० वर्षभन्दा पनि लामो समयदेखि मधेश मुद्दालाई आफ्नो प्रमुख राजनीतिक एजेण्डा बनाएका उनि राष्ट्रिय मधेश समाजवादी पार्टी एकता भएर बनेको राष्ट्रिय जनता पार्टी र त्यसपछि जनता समाजवादी पार्टी हुँदै अहिले त्यो पनि फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टीसँग आबद्ध थिए । आज उनले त्यो पनि त्यागेर नेकपा एमाले प्रवेश गरेका छन् ।

Comment


Related News

Latest News

Trending News