अपडेट 
२०७८ माघ २९, शनिबार ०७:४९

राजविराज । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको सीतापुर कलौनी बजारमा बस विसौनी निर्माण गर्ने सहमति भएपछि स्थानीयवासीले गर्दै आएको आन्दोलन स्थगित भएको छ ।

अग्निसाईर कृष्णासवरन गाउँपालिकाको कार्यालयमा शुक्रबार सडक निर्माण परियोजना प्रमुख र स्थानीय बीच भएको दुई पक्षीय सहमति पश्चात स्थानीयवासीद्वारा आन्दोलनका कार्यक्रम फिर्ता लिइएको हो । सडक डिभिजन परियोजना प्रमुख निरज शर्मा र स्थानीयवासी बीच भएको वार्तामा कलौनी सीतापुर बजारमा बस बिसौनी निर्माण गर्ने र छ लाईनको सडक निर्माणका लागि तत्कालै प्रक्रिया अगाडि बढाउने सहमति भएको ईटहर्वा बजार व्यवस्थापन समिति सीतापुर कलौनीका अध्यक्ष मिलन चौधरीले जानकारी दिए । बस विसौनी सहित छ लाईनको सडक निर्माण हुनुपर्छ भन्ने हाम्रो तर्फबाट प्रस्ताव अगाडि बढायौ, अध्यक्ष चौधरीले भने, सडक डिभिजन परियोजना प्रमुखका तर्फबाट हामिले उठाएको माँगलाई सकारात्मक रुपमा लिँदै सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेपछि सहज वातावरणमा सहमतिमा पुग्यौं । दुईपक्षीय सम्झौता पछि तत्कालका लागि आन्दोलन स्थगित गरिएको उनले बताए । सम्झौता कार्यान्वयन नभए थप सशक्त आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी समेत दिए ।

वार्तामा अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष परशुराम चौधरी, उपाध्यक्ष मिना चौधरी, पत्रकार बृजमान तामाङ, एमाले नेता तथा साविक सीतापुर गाविस उपाध्यक्ष योगेन्द्र प्रसाद चौधरी, माओवादी नेता बेचन प्रसाद चौधरी, जसपा नेता श्याम कुमार चौधरी, चाईना रेल्वे कम्पनीका सम्पर्क प्रमुख सुन लियाङ थोङ, परियोजनाका प्राविधिकहरु, सरोकारवाला निकायका प्रतिनिधिहरु , बजार व्यवस्थापन समितिका पदाधिकारी लगायतका स्थानीय बुद्धिजीवीहरुको सहभागिता रहेको थियो । जिल्लाकै पुरानो बजारमा बसविसौनी र छ लाईन सहितको सर्भिस रोड कटौती गरेको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका थिए । सरोकारवाला निकायमा पटक–पटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएको भन्दै स्थानीयवासीहरुले सडक निर्माणको काम अबरुद्ध गर्दै चाईना रेल्वे कम्पनीको सवारी साधान विहीबार नियन्त्रणमा लिइ विरोध प्रदर्शन गरेका थिए । गाउँपालिका समेतले समस्या समाधानमा वेवास्ता गरेको भन्दै आक्रोशित स्थानीयवासीद्वारा गाउँपालिका अगाडि धर्ना बसेर जनप्रतिनिधि र कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाइएको थियो ।

कंचनपुर– कमला सडक परियोजना अन्तर्गत चारलेनको बाटो निर्माणको ठेक्का चाईना रेल्वे कम्पनीले लिएका छ्न । परियोजनामा बजार चोक लगायतका स्थानमा आवश्यकता अनुसारको बसबिसौनी र छ् लाईनको सर्भिस रोड निर्माण गर्ने योजना रहेको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News