नवलपुर । स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्वको अवस्था र कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विहीबार सर्लाहीको नवलपुरमा दलित सरोकार मञ्च नेपाल कञ्चनरुप नगरपालिका –८,सप्तरीको आयोजनामा भएको सो अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सबै दलका दलित अगुवाहरु गोलबद्ध हुनु पर्ने आवश्यकता औंल्याए । स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्वको वर्तमान अवस्था चिन्ताजनक रहेको बताउंँदै वक्ताहरुले आगामी निर्वाचनमा स्थानीय तहमा दलित महिलालाई मात्र नभई दलित पुरुषहरुको लागि समेत कोटा छुट्याउनु पर्ने माग गरे । कार्यक्रममा पाटन क्याम्पसका प्राध्यापक डा. विजय प्रसाद मिश्रले स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्वको अवस्थाबारे सहभागीहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा वक्ताहरुले स्थानीय तहमा जनसंख्याको आधारमा दलितहरुको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका थिए । दलित सरोकार मञ्च नेपालका आइटी अफिसर सुनिल सरबरियाको अध्यक्षतामा आयोजित अन्तक्रियामा स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा दलित अगुवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

