अपडेट 
२०७८ फाल्गुन १, आईतवार ०९:११

जनकपुरधाम । हंसपुर नगरपालिकामा दोस्रो मेयर कप भलिबल प्रतियोगिता सुरु भएको छ ।

नपाका मेयर रामज्ञान मण्डलको सभापतित्वमा शनिबार आयोजित एक समारोह बीच भलिबल प्रतियोगिताको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता तथा पूर्व मन्त्री शरद सिंह भण्डारी, उमाशंकर अरगरिया लगायतका नेताहरुले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । प्रतियोगितामा नवलपरासी, पाथिभारा ताप्लेजुंग, उतरवाडी टोल कटरैत धनुषा सहितका २० वटा टोलीको सहभागिता रहने जनाइएको छ । उद्घाटन समारोहमा बोल्दै लोसपाका वरिष्ठ नेता भण्डारीले कुनै पनि क्षेत्रमा प्रतिस्पर्धाले विकास तथा समृद्धिको बाटो खुल्ने भएको र खेलकुदका गतिविधिले व्यक्तिमा स्वच्छ प्रतिस्पर्धा गर्ने संस्कार विकास हुने भएकोले खेलकुदको गतिविधिलाई तीव्रता दिनु पर्ने आजको आवश्यकता रहेको बताए । उनले खेलकुदको विकासको लागि स्थानीय तहले गर्दै आएको काम सराहनीय रहेको चर्चा गर्दै खेलकुदले व्यक्तिलाई अनुशासनदेखि लिएर समयको पालना गर्न समेत सिकाउने भएकोले स्थानीय तहबाट खेलकुदका क्रियाकलापको लागि अतिरिक्त बजेट विनियोजन गर्नु पर्ने आवश्यकता समेत औंल्याए ।

समारोहमा लोसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य उमाशंकर अरगरियाले खेलकुदमा उत्साहित युवाहरुले अभिभावकबाट खासै प्रोत्साहन नपाउने भएकोले सोचमा परिवर्तन आवश्यक रहेको बताए । खेलकुदमा पनि उत्कृष्ट प्रदर्शन गरी विश्वमै पहिचान र दाम समेत कमाउन सकिने युगमा पनि यस क्षेत्रका अभिभावकहरुले बालबालिकालाई खेल प्रतिको नकारात्मक धारणा राख्नु दुर्भाग्यपूर्ण रहेको उनको ठहर थियो । समारोहमा मेयर मण्डलले युवाहरु दिन प्रति दिन लागुऔषध दुव्र्यसनको शिकार बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै खेलकुदका गतिविधिलाई बढाउन सकिए युवाहरुलाई सृजनात्मक कार्यमा लगाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए । उनले सरकारले खेलकुद क्षेत्रमा व्यापक रुपमा बजेट दिनु पर्ने माग गर्दै उनले भने,‘ नगरपालिकाबाट उत्साहित युवाहरुलाई खेलकुदको लागि सहयोग गर्दै आएका छौं तर त्यो पर्याप्त नरहेकोले यस क्षेत्रमा बजेटमा वृद्धि गर्न सरकार तत्पर हुनु पर्छ ’ । समारोहमा लोसपाका प्रमुख सचेतक परमेश्वर साह सहितका नेता कार्यकर्ताहरुले आ–आफ्नो मन्तव्य राखेका थिए ।

Comment


Related News

Latest News

Trending News