२०७८ फाल्गुन ३, मंगलवार ०८:३२

प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको उद्घाटन गरिएको छ ।

सोमबार मुजेलियामा रहेको केन्द्रको प्रागंणमा आयोजित एक समारोहबीच मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कार्यालयको उद्घाटन गरेका हुन् । उनले प्रशिक्षण केन्द्रको शीलालेखलाई सार्वजनिक गर्दै केन्द्रको उदघाटन गरेका छन् । उदघाटन समारोहमा बोल्दै मुख्यमन्त्री राउतले मधेश प्रदेशमा सुशासन कायम गर्न प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । प्रदेशका जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुलाई प्रशिक्षण मार्फत दक्ष र अनुशासित बनाउने उद्देश्यले नै केन्द्रको स्थापना गरिएको उल्लेख गरे । एक महिना अघि स्थापना भएको प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रलाई प्रदेशकै नमूना अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउंदै उनले भने ,‘मधेश प्रदेश सरकार र केन्द्रका कर्मचारीहरुले ईमान्दारीपूर्वक काम गरे यो केन्द्र प्रदेशमा सुशासनको निम्ति कोशेढुंगा साबित हुनेछ। ’ केन्द्र तालिमको लागि मात्र नभइ मधेशका विभिन्न पक्षबारे अध्ययन अनुसन्धान तथा नीति निर्माणमा यसले सघाउने भएको हुँदा यसलाई अध्ययन अनुसन्धान गर्न चाहने देशी विदेशी नागरिककोहरुकालागि समेत आकर्षणको केन्द्र बनाउनु पर्ने धारणा राखे । भारत बिहारको पटना लगायतको उदाहरण दिँदै उनले भने,‘यति ठूलो क्षेत्रफलमा फैलिएको केन्द्रमा राम्रा राम्रा तालिम कक्ष तथा अनुसन्धानकर्ताहरुको लागि सस्तोमा बस्ने र खानाको व्यवस्था गर्न तर्फ काम गर्न सक्नु पर्छ त्यसले यस केन्द्रको विकासमा ठूलो योगदान पूग्नेछ।’

विगतको ग्रामीण विकास प्रशिक्षण केन्द्रलाई प्रदेशको मातहतमा ल्याउने आफ्नो सरकारले यस संस्थाको सक्दो सदुपयोग गर्न सकिए प्रदेशको कर्मचारी तन्त्रको समग्र विकासमा ठूलो टेवा पूग्ने विश्वास समेत उनले व्यक्त गरे । प्रदेशभरिका कर्मचारी र जनप्रतिनिधिकालागि प्रशिक्षण लिइ दक्षता अभिवृद्धि तथा सुशासनको क्षेत्रमा काम गर्ने ठूलो आधारको रुपमा केन्द्र रहेको र यसको लागि मधेश प्रदेश सरकारले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे । प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक सत्तार अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रमुख सचिव कृष्ण बहादुर राउत सहितका व्यक्तिहरुले आ–आफ्नो मन्तव्य राखेका थिए । विगतमा संघ सरकारको मातहतमा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्र प्रदेश मातहतमा आएपछि गत पुस २८ गते प्रदेश सरकारले प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा सत्तार अन्सारीलाई नियुक्त गरेको थियो । यो निर्देशनालय मुख्यमन्त्री कार्यालयको मातहतमा रहेको मुख्यमन्त्री कार्यालयका लेखा अधिकृत जितेन्द्र प्रसाद यादवले बताए । संघीयताको विषय ,कानून निर्माण लगायतका प्राविधिक ,अप्राविधिक विषयहरुमा खोज,अनुसन्धान,नयाँ नीति,विधि र प्रक्रियाबारे अनुसन्धान गर्ने उद्देश्यले यस केन्द्रको स्थापना गरिएको यादवले जानकारी दिए ।

टुडेकर्मीसंगको कुराकानीकमा उनले भने,‘स्थानीय तथा प्रदेश सरकारलाई कसरी क्षमतावान बनाउने विषयमा अनुसन्धान,सुशासनयुक्त संघीयता कायम गर्ने विषयमा अनुसन्धान र प्रशिक्षण दिँदै कर्मचारीहरुलाई दक्ष बनाउन समेत यस केन्द्रले ठूलो भूमिका निर्वाह गर्नेछ।’प्रदेश र स्थानीय तहका कर्मचारीहरुको क्षमता विकास सम्बन्धी तालिम,गोष्ठीको लागि कार्यक्रम सञ्चालन गर्न समेत यस केन्द्रले सहज हुने बताउंदै अधिकृत यादवले केन्द्रबाट गरिने अध्ययन अनुसन्धानले सुशासन कायम गराउन कोशेढुंगा नै साबित हुने बताए ।

Comment


Related News

Latest News

Trending News