अपडेट 
२०७८ फाल्गुन ४, बुधबार ०७:२९

मधेस प्रदेश सरकारले चार वर्षको कार्यकालको उपलब्धि सार्वजनिक गरेको छ । यो चार वर्षको उपलब्धिलाई हल्का रुपमा लिइनु हुन्न । सर्वप्रथम त देशमा प्रादेशिक सरकारको गठन भएको हो र अहिलेसम्म देशमा रहेका सात प्रदेशमध्ये मधेस प्रदेशको सरकारमात्र स्थिर छ । यो पनि निश्चित छ कि देशको अन्य प्रदेशमा एउटै पार्टीको सरकार थियो तर अनेक कारणले सरकार परिवर्तन हुन पुग्यो तर मधेस प्रदेशमा गठबन्धनको सरकार थियो र अहिलेसम्म गठबन्धनको सरकार नै रहेको छ । हो, गठबन्धनमा केही फेरबदल भएको छ तर सरकार उही हो र देशमा सबैभन्दा लामो समयसम्म पहिलो सरकार चलाउने मधेस सरकार नै हो भन्ने पनि स्पष्ट भएको छ । यसलाई पनि एउटा उपलब्धि यस अर्थमा पनि मान्नु पर्छ कि धेरैले मधेसमा गठबन्धनको सरकार टिक्दैन भन्ने सतही अनुमान लगाएका थिए । जहाँ पहिलेदेखि केही पनि हुन्न, त्यहाँ काम गर्न सुरुदेखि नै थाल्नु पर्दछ ।

देशमा त पहिले एकात्मक शासन प्रणाली थियो । ठूलो आन्दोलन, बलिदान र त्यागले देशमा गणतन्त्रको स्थापना भयो, संघीयताको स्थापना भयो । देशमा संघीयता र गणतन्त्र आएपछि देशमा संविधानअनुसार तिन तहको सरकार गठन हुने व्यवस्था भयो । यस अनुसार केन्द्रीय वा संघीय सरकार, हरेक प्रदेशमा एउटा प्रादेशिक सरकार र त्यसपछि हरेक स्थानीय तहमा एउटा स्थानीय सरकार वा पालिका सरकार हुने भयो । देशमा पहिलोचोटि नागरिकदेखि नेतासम्मले यस संरचनालाई बुझ्नमा धेरै समय लगाए । अझै पनि राम्ररी सबैले बुझिसकेका छैनन् । देशको आधुनिक इतिहासमा प्रादेशिक संरचनाको सरकार नै नौलो अभ्यास रहेको थियो र नौलो अभ्यासको प्रारम्भमा नै प्रदेशमा भएको निर्वाचनले सरकारको गठन ग¥यो र यसै क्रममा प्रदेश नम्बर २ मा पनि सरकारको गठन २०७४ फागुन ३ मा गठन भयो । यस सरकारले चार वर्षको अवधि पार गरेको छ वा चार वर्षको अवधि पूरा गरेको छ । मधेस प्रदेश सरकारले हालै सार्वजनिक गरेको चार वर्षे उपलब्धिमा नै जनाइएको छ कि यस अवधिमा तिन पटक पुनर्गठन भएको छ मन्त्रिमण्डल । मन्त्रिमण्डलमा अहिले १४ सदस्य रहेका छन् । मन्त्रिमण्डल हेरफेर, पुनर्गठन तथा आकारको संख्या सानो र ठूलो हुनु राजनैतिक विषय हुन् । गठबन्धन सरकारका केही सीमाहरु हुन्छन् । दुई वा बढी दलको सहमतिमा चल्नुपर्ने हुन्छ । यसले गर्दा कतिपय अवस्थामा चाहेर पनि मन्त्रीलाई राखिराख्न सकिँदैन र कतिपय अवस्थामा नचाहेरै पनि मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने हुन्छ । गठबन्धनमा पार्टीहरु सरकारमा आउने र सरकारबाट बाहिरिने हुन्छन् ।

यसले गर्दा मन्त्रिमण्डलमा हेरफेर वा पुनर्गठन स्वाभाविक हुन्छ । एउटै पार्टीको सरकार हुँदा पनि यस किसिमको काम भइरहेको हुन्छ । तिन पटक मन्त्रिमण्डल पुनर्गठनलाई अत्यन्त स्वाभाविक लिनु पर्छ । यद्यपि यहाँको सरकार अहिलेसम्म पनि स्थिर छ र यो पनि एउटा दृष्टान्तको रुपमा रहेको छ । निसन्देह, यस प्रदेशको सबैभन्दा महत्वपूर्ण र सर्वकालिक उपलब्धिको रुपमा प्रदेशको नामकरण र स्थायी राजधानी तोक्नु हो । यस प्रदेशको नाम यस प्रदेशका बासिन्दाको सामूहिक पहिचानको आधारमा हुन गएको छ । यस प्रदेशको नाम मधेस हुनु आफैँमा एउटा गौरवको विषय रहेको छ । यस गौरवपूर्ण उपलब्धिलाई सदैव मधेस र मधेसीलाई सम्झिइरहने कुरामा दुई मत छैन । र, मधेसले आफ्नो स्थायी राजधानी पाउनु पनि ठूलो कुरो हो । राजधानीको अभावमा प्रदेशले प्रादेशिक स्थायी संरचनाको निर्माण गर्न सकिरहेको थिएन । अब प्रदेशले प्रदेश सभा भवन, सचिवालय, आवास, प्रादेशिक मन्त्रालय र यी तथा यसका सम्बन्धित कार्यालय, विभाग र अन्य संरचनाको निर्माणतिर ध्यान दिन पाउने छ । आगामी दिनमा प्रदेशको पहिचानको कुरा प्रदेशको राजधानीमा भौतिक रुपमा धेरैले देख्न पाउने निश्चितप्रायः छ । यी दुई उपलब्धिलाई सबैभन्दा प्रमुख उपलब्धिको रुपमा मानिनु सर्वथा उचित हुन्छ । मधेस प्रदेश सरकारले चार वर्षे कार्यकालका जुन उपलब्धिहरु सार्वजनिक गरेका छन्, त्यसमा बुँदागत उपलब्धिहरु दिइएका छन् ।

पहिलो रहेको सामाजिक विकास । सामाजि विकासअन्तर्गत स्वास्थ्य क्षेत्रका उपलब्धिहरुलाई पहिलो नम्बरमा राखिएका छन् । स्वास्थ्यको क्षेत्रमा प्रदेशले गरेका मुख्य ३८ उपलब्धिहरु यसअन्तर्गत समावेश गरिएका छन् । सामाजिक विकासकै शिक्षा तथा सामाजिक क्षेत्रका विकासलाई पनि बुँदागत रुपमा चिनाइएको छ । शिक्षा र सामाजिक क्षेत्रअन्तर्गत प्रदेश सरकारले गरेका मुख्य उपलब्धिहरुमध्ये १७ बुँदामा धेरै कार्यलाई सूचीकृति गरिएको छ । यसै गरी पूर्वाधार विकासको क्षेत्रको पनि चर्चा गरिएको छ । पूर्वाधार विकासमा प्रदेशमा रहेका ६४ निर्वाचन क्षेत्रमा कम्तीमा पाँच किलोमिटर कालोपत्रे पु¥याउने कुरो गरिएको छ । हुन त यो गत वर्षको बजेटमा पनि आएको थियो तर अहिले कालोपत्रे गर्नका लागि सूचना प्रकाशित भइसकेको भनिएको छ अर्थात बोलपत्र सूचना प्रकाशित कार्यान्वयनको एउटा चरणमा गइसकेको बताइएको छ । यो ज्यादै महत्वपूर्ण भौतिक उपलब्धि हुने देखिन्छ । भौतिक पूर्वाधारअन्तर्गत मुख्य सात बुँदामा दिइएका उपलब्धिलाई धेरै कार्यलाई सूत्रात्मक रुपमा बताइएको छ । सामान्यतया सर्वसाधारणको नजरमा भौतिक पूर्वाधारलाई नै विकास मान्ने गरिएको दृष्टिकोणले हेर्ने हो भने पनि प्रदेश सरकारको चार वर्षे उपलब्धिलाई सन्तोषजनक मान्नुपर्ने देखिन्छ । भूमि व्यवस्था, कृषि तथा सहकारीको क्षेत्रमा मधेस प्रदेश सरकारले गरेका उपलब्धिहरुलाई विभिन्न बुँदामा देखाइएको छ ।

पहिलोमा अनुदान कार्यक्रमअन्तर्गत शतप्रतिशत अनुदान उपशीर्षकमा पाँच बुँदामा विभिन्न कार्यक्रम, दोस्रोमा पचासी प्रतिशत अनुदामा विभिन्न चार कार्यक्रम, तेस्रोमा पचहत्तर प्रतिशत अनुदान उपशीर्षकमा दुई कार्यक्रम, चौथोमा पचास प्रतिशत अनुदान उपशीर्षकमा विभिन्न तिन कार्यक्रम र कोभिड १९ विशेष कार्यक्रमअन्तर्गत गरिएका उपलब्धिहरुलाई समावेश गरिएका छन् । सचेतनामूलक तथा सेवा प्रवाह सम्बन्धी विशेष कार्यक्रमहरु पनि मधेस प्रदेश संचालन गरेर प्रदेशमा प्रवाह गरेका सेवा तथा सुविधा र कार्यक्रमलाई पाँच वटा बुँदामा देखाइएको छ । यसै गरी अन्य कार्यक्रमअन्तर्गत तिन वटा कार्यक्रम संचालन गरिएको बताइएको छ । उद्योग, पर्यटन तथा वनसम्बन्धमा वन तथा वातावरण क्षेत्रमा प्रदेश सरकारले गरेका उपलब्धिहरुलाई देखाइएको छ । यसअन्तर्गत सबैभन्दा महत्वपूर्ण वृक्षरोपण कार्यक्रम हो । झन्डै डेढ करोड विरुवा प्रदेशमा रोपिएको कुरो निकै प्रशंसनीय छ । उद्योग, वाणिज्इ तथा पर्यटनको क्षेत्रमा प्रदेश सरकारले गरेका उपलब्धिहरुलाई पनि सात बुँदामा देखाइएको छ । सामाजिक सुरक्षाको क्षेत्रमा प्रदेश सरकारले गरेका उपलब्धिहरुलाई पन्ध्र बँदामा देखाइएको छ । पाँच हजार छ सय छैसठी छोरीलाई छोरी बिमा कार्यक्रमअन्तर्ग बिमा गरिनु र विद्यालयमा छात्राहरुलाई साइकल प्रदान गरिनुलाई यस क्षेत्रको ठूलो र प्रशंसनीय उपलब्धिको रुपमा अन्य प्रदेशले पनि स्वीकार गरेको छ ।

यी दुई कार्यक्रमले प्रदेशको मानमा वृद्धि गरेको कुरो सबैले स्वीकार गरेका छन् । आर्थिक तथा विकास योजनाअन्तर्गत प्रदेश सरकारले गरेका उपलब्धिहरुलाई विभिन्न पाँच बुँदामा देखाइएको छ भने सुशासन तथा शासकीय सुधारअन्तर्गत प्रदेश सरकारले गरेका उपलब्धिहरुलाई दब विभिन्न बुँदामा देखाइएको छ । आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन तथा सञ्चार अन्तर्गत आन्तरिक सुरक्षाको क्षेत्रमा प्रदेश सरकारले गरेका उपलब्धिहरुलाई पाँच बुँदामा, विपद् व्यवस्थापन अन्तर्गत प्रदेश सरकारले गरेका उपलब्धिहरुलाई विभिन्न तिन बुँदामा सूचना र संचारको क्षेत्रमा प्रदेश सरकारले गरेका उपलब्धिहरुलाई विभिन्न दुई बुँदामा उल्लेख गरिएको छ । कानुन तथा न्याय क्षेत्रमा प्रदेश सरकारले हासिल गरेका उपलब्धिहरुलाई विभिन्न चार बुँदामा समावेश गरिएको छ । यसरी प्रदेश सरकारले आफ्नो हालसम्मको कार्यकालका प्रमुख उपलब्धिहरुलाई सार्वजनिक गरेको छ । प्रदेश सरकारले गरेको उपलब्धिको सार्वजनिकीकरणलाई महत्वपूर्ण मान्नुपर्छ । हरेक सरकारी तथा गैरसरकारी संस्थाहरुले आफ्नो उपलब्धि आवधिकरुमा सार्वजनिक गर्दै जानु राम्रो नै हो । यसको अनुकरण तथा विस्तार हुनु आवश्यक छ ।

यसबाट यो पनि हुन्छ कि अर्को उपलब्धिपत्र सार्वजनिक गर्ने बेलासम्म अझ राम्रो कुन कुन उपलब्धिहरु हुन सक्छन्, त्यसतर्फ ध्यान दिनु जरुरी छ । यसले सर्वसाधारणमा पनि प्रदेश सरकारले गरेका उपलब्धिको जानकारीको संचार हुन्छ । प्रदेशको बारेमा सर्वसाधारणले थाहा पाउने हुन्छ र प्रदेश सरकारले गर्ने कार्यक्रमको बारेमा पनि केही हदसम्म जानकारी हुन्छ । यस प्रकारको कार्यको निरन्तरता होओस्, आगामी वर्ष यो उपलब्धिपत्र सार्वजनिक हुँदा सर्वसाधारणले अझ धेरै कुराहरु थाहा पाऊन् ।

Comment


Related News

Latest News

Trending News