जिल्लाको सबैभन्दा पुरानो र पहिलो नगरपालिकाको साथै जिल्ला सदरमुकाम समेत रहेको मलंगवा नगरपालिका व्यवस्थापन र विकासको काममा पछाडि परेको देखिएको छ ।
मलंगवा बजारका सडकहरु सवारी साधन पार्किङ गर्ने स्थल बनेको छ भने बजारको सडक छेउ सयौंको संख्यामा साइकल, मोटरसाइकल, जिप, कार, टेम्पो, ठेला लगायतका सवारीसाधनहरुको पार्किंग थलो बनेपछि नगर क्षेत्र अस्त व्यस्त बनेको हो । नगर क्षेत्रमा पर्ने जिविस चोकदेखि बसपार्क,बालमन्दिर चोक ,नगरपालिका कार्यालय नजिक मेन चोक हुँदै भगवती मन्दिर, नेपाल बैक लिमिटेड र मालपोत कार्यालयसम्मको सडकको दुबै तर्फ जथाभावि रुपमा पार्किङ गरी राखिएका सवारी साधनहरुका कारण ट्राफिक व्यवस्थापन अस्त व्यस्त बनेको छ । बसपार्कदेखि नेपाल बैंकसम्मको सडक अत्याधिक व्यस्त सडकको रुपमा रहेको छ । बालमन्दिरदेखि मेन चोकसम्मको सडकमा बैंकहरु रहेपनि बैंकले पार्किंग व्यवस्थापन नगरेको कारण दिनहुँ सयौंको संख्यामा आउने सेवाग्राहीहरुको सवारी पार्किंग सडकमै हुने गरेकोले नगर क्षेत्रको ट्राफिक व्यवस्थापन अस्त व्यस्त बनेको छ । यसरी दुबैतर्फ पार्किङ गरेर राखिएका सवार ीसाधनका कारण सो बाटो भएर ओहोरदोहोर गर्न अन्य सवारीसाधन तथा पैदल यात्रुलाई समस्या हुने गरेको एक व्यापारीले बताए । एकातिर चालकको मनोमानीले हुने गरेको सवारी पार्किङ र अर्को तर्फ स्थानीय पसलेहरुले सडक छेउमै (फुटपाथ) समानहरु थुपारेर बेच्न थालेपछि पैदल हिंड्न समेत गा¥हो हुने गरेको स्थानीय संजय पाण्डेले गुनासो गरे ।
स्थानीयवासी प्रभाकर झाले सम्बन्धित नियमनकारी निकायको लापरवाही र उदासीनताले गर्दा मलंगवा बजारको सडक पार्किङ स्थल बन्दै गएको छ भनै फुटपाथका व्यापारीहरुको लागि मलंगवाको सडक खुल्लाा गोदाममा परिणत भएको छ । एका बिहानैदेखि मलंगवा बसपार्क क्षेत्रमा टेम्पु,मोटरसाइकल र बसको बाक्लो भीडका कारण स्थानीयवासी र पैदल यात्रुहरुले समस्या भोग्नु परिरहेको छ । यात्रुवाहक दिवा तथा रात्री सेवाका बसहरु पनि जताततै सडक किनारमै पार्किंग गर्ने प्रवृति बढ्दै गएपछि नगर क्षेत्रको सडक अस्तव्यस्त बन्ने गरेको छ । बजार क्षेत्रमा सवारीको भिड मात्र नभइ बाटो छेउमै फोहरको डुँग्रो थुप्रिएको र नगरपालिकाले पनि सरसफाईमा कुनै चासो नदिएको स्थानीयवासीहरुको गुनासो छ । अव्यवस्थित पार्किङ तथा फोहर व्यवस्थापनको अभावमा दिनहुँ स–साना सवारी दुर्घटना समेत हुने गरेको स्थानीयवासीहरुले गुनासो गरेका छन् । बजार क्षेत्रमा ट्राफिक प्रहरी हुँदा हुँदै दुई चार रुपियाँको प्रलोभनमा परी चालकहरुलाई मनोमानी गर्न छुट दिने गरेको आरोप समेत स्थानीयवासीहरुले लगाएका छन् ।

