२०७८ फाल्गुन ५, बिहीबार ०७:५२

जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जातीय विभेद अन्त्य नभए सम्म मुलुकमा समृद्धि र विकास हुन नसक्ने बताएका छन् ।

सन्त शिरोमणी रविदासजी महराजजीको ६४५औं जन्म जयन्तीको अवसरमा बुधबार जनकपुरधाम उपमहानगरपालिका– २४मा आयोजित समारोहमा बोल्दै उनले भने,‘यहाँ व्याप्त जातीय भेदभाव ,छुवाछुत लगायतको विभेदहरुको अन्त्य नभए सम्म प्रदेश मात्र नभइ समग्र मुलुककै विकास सम्भव छैन ।’ ऐतिहासिक मधेश विद्रोहबाट प्राप्त मधेशी ,दलित उत्पीडित वर्गको लागि आरक्षणले मुलुकमा परिवर्तन हुँदै गएको अनुभूति गराए पनि जातीय विभेद भने कायमै रहेको उनले बताए । तर आन्दोलनबाट प्राप्त उपलब्धिका कारण राजनीतिक प्रतिनिधित्वमा पालिकादेखि सांसद सम्ममा दलित र पिछडावर्गको थोरै भए सहभागिता हुँदै जानुले परिवर्तनको संकेत गरेको जिकिर समेत उनले गरे । विगतको फोरमको नेतृत्वमा भएको आन्दोलनबाटै आरक्षणका कोटाहरु सहितका विभिन्न उपलब्धि भएको र सोही कारणले अत्यन्त पिछडिएका समुदायका महिलाहरु समेत राजनीतिक रुपमा अगाडि बढेको भए पनि सो सहभागिता अझै पर्याप्त नरहेको ठहर अध्यक्ष यादवले गरे । विभेदकै विरुद्धको अभियानमै जीवन अर्पण गरेका सन्त शिरोमणी रविदासको जीवनीमाथि चर्चा गर्दै उनले भने सामाजिक विभेदको अन्त्यकै लागि उनले गरेको योगदान अविष्मरणीय रहेको र सन्त रविदास सहितका व्यक्तित्वहरुकै अभियानको कारण समाज परिवर्तनशील बन्दै गएको उनले उल्लेख गरे ।

Comment


Related News

Latest News

Trending News