अपडेट 
२०७८ फाल्गुन ९, सोमबार ०७:५६

सप्तरी । किशोरकिशोरीको क्षमता विकास र अभिवद्धिका लागि सप्तरीमा मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन हुने भएको छ ।

रक्षा मिडिया हाउस प्रालि काठमाडौँले आइकनको अन्तिम तयारीअन्तर्गत आइतवार फाइनलका लागि १७ जना छनोट गरेको जनाएको छ । राजविराजस्थित आइ गार्डेन होटलमा निर्णायकको अन्तर्वार्ता, वाककला, प्रश्नोत्तर, व्यक्तित्व आदिबाट फाइनल चरणको लागि १७ जनाले प्रवेश पाएको आयोजक लायन्स क्लब अफ राजविराज सिटीले जनाएको छ । सप्तरीमा पहिलो पटक भइरहेको कलेज आइकन प्रतियोगिताका लागि नेपाल पत्रकार महासङ्घ सप्तरीका सल्लाहकार मनोहर पोखरेल, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष अनिता देवकोटा, युवा उद्यमी मिलन सिंह, राजविराज जेसीजकी पूर्व अध्यक्ष पुनम पोखरेलले सहभागीसँग अन्तर्वार्ता लिनुभएको थियो । अन्तर्वार्ताका क्रममा राजविराज लिटिल आइकन २०२१ का विजेता आयुषी र उपविजेता मानसीकोसमेत उपस्थिति थियो । पूर्वाञ्चल तथा काठमाडौँबाट आउनु हुने लब्धप्रतिष्ठित व्यक्तित्वले राजविराजमा हुने ग्राण्ड फाइनल कार्यक्रमबाट मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन– २०२२ छनोट गर्नेछ ।

फाइनलका लागि शिवशङ्कर सिनेमा हलमा भव्य तयारी भइरहेको लायन्स कल्ब अफ राजविराज सिटीका अध्यक्ष अरुण प्रधानले जानकारी दिनुभयो । उहाँले आगामी शनिबार राजविराजको शिवशङ्कर सिनेमा हलमा हुने फाइनलका लागि टिकट बिक्रीसमेत खुला गरिएको बताउनुभयो । राजविराज बजार केन्द्रित मात्र नभइ विभिन्न पालिकाका सहभागीलाई एक महिनासम्म कोरियोग्राफर, फोटोग्राफर, डान्सर र विभिन्न विषयका विज्ञ प्रशिक्षकबाट तालिम दिइएको रक्षा मिडिया हाउस प्रालिका प्रबन्ध निर्देशक भुवन राउतले बताउनुभयो । उहाँका अनुसार सहभागीको व्यक्तित्व विकासका लागि सामाजिक रहनसहन, नैतिक जिम्मेवारी, वाककला, सामाजिक उत्तरदायित्व, जीवनशैली, कलासंस्कृति, बोलीचाली, मानव अधिकार, ट्राफिक नियम, मनोवृति, क्याटवाकका विषयमासमेत विशेषज्ञबाट प्रशिक्षित गराइएको छ । प्रतियोगितामा विजेतालाई शनिबार ताजसहित क्राउन, प्रमाणपत्र, उपहारसहित मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन घोषणा गरिनेछ ।

प्रचार विज्ञापन गराउँदै आएको प्रालिले अभिभावकको मञ्जुरी भएमा आइकन बिजेतालाई म्युजिक भिडिओका लागि समेत मौका दिने जनाएको छ । यस अघि राजविराज जेसीजको आयोजना र राउतकै निर्देशनमा पहिलो पटक राजविराज लिटिल आइकन–२०२१ सफलतापूर्वक सम्पन्न भएको थियो । रक्षा मिडिया हाउस प्रालिले नेपालको झापा, इलाम, उदयपुर, सुर्खेतलगायातका जिल्लाको सहरमा यसअघि पनि विभिन्न प्रतिभामूलक आइकन प्रतियोगिता गरिसकेको छ ।रासस

Comment


Related News

Latest News

Trending News