अपडेट 
२०७८ फाल्गुन ९, सोमबार ०८:०१

मलंगवा । सर्लाही सहित मधेश प्रदेशको जिल्लामा कोदो खेती लोप हुँदै गएको छ ।

नयाँ पुस्ताका किसानलाई कोदोको महत्वबारे जानकारी अभावमा कोदो खेती लोप हुँदै गएको हो । कोदो खेतीले व्यवसायिक रुप समेत लिन नसक्दा कोदो फल्ने खेतमा अन्य बालीहरु लगाइने गरिएको छ । तराईमा कोदोलाई मरुवा भनेर चिनिन्छ । कोदोलाई औषधिका रूपमा समेत प्रयोग गरिनुका साथै पोषिलो तत्वका रूपमा समेत लिइने विज्ञहरु बताउँछन् । दुई–तीन दशक पूर्व सम्म सर्लाहीका दर्जनौं गाउँका किसानहरुले कोदो(मरुवा) खेती गर्दै आएका थिए । तर अहिले यसको खेती लगभग विस्थापित नै भइसकेको यहाँका बुढापाका किसानहरू बताउँछन् । पछिल्लो समय मानिसहरु कोदोबाट बनाइने रोटी लगायतका परिकारहरु खान छाडेकाले पनि किसानहरु यसको खेती गर्न छाडेको पुराना पुस्ताका एक किसान अयोधी रायले बताए । अहिले कोदोको बीउ समेत पाउन मुश्किल हुन थालेको किसान राय बताउँछन् । केही किसानले घरायसी प्रायोजनका लागि फाट्टफुट्ट रुपमा कोदोको खेती गरेको पाइन्छ ।

‘ आज भन्दा २०–३० वर्ष पहिले गाउँघरमा मुख्य खाना नै कोदोको रोटी हुने गरेको थियो तर अहिले मुख्य खाना भात र गहुँको रोटी भएकाले पनि कोदो खेती विस्थापित हुँदै गएको छ ।’, मलंगवा नगरपालिका–५ भाँडसरका किसान कुशेश्वर यादवले भने । पहिला पहिला जताततै सजिलै उपलब्ध हुने कोदो अहिले औषधिका लागि समेत पाउन मुश्किल भएको किसान यादवले बताए । कृषकहरु कोदोको सट्टा बाख्रापालन, तरकारी,फलफुल लगायतका नगदेबाली खेतीतर्फ आकर्षित हुन थालेको देखिएको छ ।

Comment


Related News

Latest News

Trending News