अपडेट 
२०७८ फाल्गुन १०, मंगलवार ०७:२९

फेब्रुअरी २१, मातृभाषा दिवस । सन् १९५२मा हालको बांग्लादेश र तत्कालीन पूर्वी पाकिस्तानमा मातृभाषा बांग्ला बोल्न र लेख्न पाउनु पर्छ भन्ने माँग सहित बंगाली छात्रहरुले आन्दोलन गरेका थिए । तत्कालीन पाकिस्तानी सरकारले उर्दूलाई देशको सरकारी भाषाको रुपमा देशैभरी थोपरेको थियो । सरकारले आन्दोलनकारीमाथी दमन ग¥यो र त्यसक्रममा सेनाको गोली प्रहारबाट कयौँ छात्रहरु शहिद भए । पछि यो भाषा आन्दोलन राजनीतिक आन्दोलनमा विकसित भयो र अन्ततः सन् १९७१ मार्चमा नौ महिनाको निरन्तर जनसंघर्ष पछि पाकिस्तानबाट विभाजित भएर नयाँ देश बांग्लादेशको जन्म भयो । सन् १९५२मा भाषा आन्दोलनको क्रममा मारिएका शहिद छात्रहरुको स्मरण स्वरुप बांग्लादेशमा ‘ भाषा शहिद दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । सन् १९९९मा युनेस्कोले यस दिनलाई विश्व मातृभाषा दिवसको रुपमा मनाउने घोषणा गरे अनुरुप त्यसपछि विश्वभरी फेब्रूअरी २१लाई मातृभाषा दिवसको रुपमा मनाइन्छ ।

सन् २००० मा संयुक्त राष्ट्र संघले युनेस्कोको घोषणालाई मान्यता दियो । भाषा र साँस्कृतिक अधिकारको क्षेत्रमा कामगर्नेहरु नेपालमा पनि यो दिवस मनाउने गर्छन् । यस दिन सरकारीस्तरमा पनि विज्ञप्ति निकालिन्छ र मातृभाषाको बखान र संरक्षण संबद्र्धनको वाचा गरिन्छ । तर राजकीय भाषाको तुलनामा जसरी मातृभाषाहरु उपेक्षित छन्, त्यसले गर्दा दिवस मनाउनु औपचारिकता पूरा गरेको जस्तै देखिन्छ । नेपालको सम्विधानले मातृभाषाको साँस्कृतिक र राजनैतिक अधिकारहरुको संरक्षण र सम्वद्र्धनको आश्वासन दिएपनि व्यावहारिकरुपमा अहिलेपनि मातृभाषाहरु सामू अनेकौँ चुनौतीहरु छन् ।सम्विधानले संघ र प्रदेश सभाहरुलाई मातृभाषाहरुलाई सरकारी कामकाजको भाषाको रुपमा स्वीकार्ने अधिकार दिएको छ । तर संघीय गणतन्त्रको सम्विधान घोषणा भएको छ वर्ष बितिसक्दापनि प्रदेशहरुमा मातृभाषाहरुलाई कामकाजको भाषाको रुपमा अवलम्बन कार्य बाँकी नै छ । कुनैपनि भाषाको विकासको निम्ती राज्यसत्ताको स्वीकृति र संरक्षणले ठुलो महत्व राख्छ । यो राजकीय विभेदको परिणाम नै हो कि मल्लकालमा शासकहरुबाट प्रयोग हुने समृद्ध मैथिली र भोजपुरी गोर्खाली शाहवंशी शासनकालमा राज्यसत्ताबाट उपेक्षित भएपछि कमजोर र तेजहीन हुँदै गयो र तुलनात्मकरुपमा कमजोर गोर्खाली खस, नेपाली भाषको परिचय सहित नेपालको सबैभन्दा समृद्ध भाषाको रुपमा विकसित भयो । वर्तमान नेपाली भाषा (परिमार्जित गोर्खाली खस)को तुलनामा समृद्ध र कुनै बेला पश्चिम नेपालका खस शासकहरुले प्रयोग गर्ने पश्चिमेली खसभाषाको पछौटेपनको कारणपनि यही हो । उल्लेखनीय छ, कुनैबेला पश्चिम नेपालमा नागवंशी खस शासकहरुको साम्राज्य थियो, जस्लाई इतिहासकारहरुले सिञ्जा साम्राज्य भन्छन् र यो भेरीनदी भन्दा पश्चिम कुमाउँ र गढवालसम्म विस्तृत थियो । यसबाट के बुझिन्छ भने नेपालमा संघीय प्रदेश र सरकारको गठन भएपनि तथा सम्विधान र सरकारी नीतिमा मातृभाषाहरुलाई प्रोत्साहन दिइएपनि, यी नीतिहरु व्यवहारमा लागू हुन अझै बाँकी छ । यसरी मातृभाषाहरुले चुनौतीको रुपमा सामना गरिरहेको भाषाहरुमा एकातिर देशभरी नेपालीभाषाको परम्परागत वर्चस्व छ, र अर्कोतिर अन्तर्राष्ट्रिय भाषा अँग्रेजी र दक्षिण एसियाली स्तरमा क्षेत्रीय वर्चस्वशाली भाषा हिन्दी अहम् चुनौतीको रुपमा देखिएको छ ।

यसो भन्नुको तात्पर्य यी भाषाहरु प्रतिको अवमानना होइन । तर विविध कारणले राजनैतिक, साँस्कृतिक र आर्थिकस्तरमा सिर्जित अवसरहरुमा यी शक्तिशाली भाषाहरु मातृभाषी समुदायहरुको तुलनामा जसरी हावी छन्, त्यो चिन्ताजनक हो । देशभरी शासकीय र सरकारीकामकाजको भाषाको रुपमा नेपालीको वर्चस्व कायम नै छ । भारतको शासकीय भाषा हिन्दी, सिनेमा, टेलिभिजन, साहित्य र आर्थिकक्षेत्रको व्यावसायिक भाषाको रुपमा दक्षिण एसियाका अन्य देशहरुको तुलनामा नेपालमा बढी प्रभावी हुनू एककिसिमले स्वाभाविक नै हो । तर केही राजनीतिक दलहरुले जसरी हिन्दीलाई राजनैतिक एजेन्डाको रुपमा अँगालेका छन् र हाम्रो दक्षिणी मित्र देशले यसलाई कूटनैतिक प्रोत्साहन दिईरहेको छ, मातृभाषाहरुको राजनैतिक अधिकार तथा अवसरहरु सदुपयोगको दृष्टिले यो गम्भीर चुनौती हो । यसलाई शासकीय साँस्कृतिक मनोविज्ञान नै भन्नुपर्छ कि अँग्रजीले आधुनिक बौद्धिक र सुसंस्कारित हुनुको गर्वानुभूति गराए जस्तै नेपालमा हिन्दीले पनि एउटा ठूलो समुदायमा यस्तै गर्वानुभूति गराउँछ । छिमेकी भारतसंगको परम्परागत साँस्कृतिक सम्बन्ध, भारतीय हिन्दी सिनेमा बजारको नेपालमा वर्चस्व, राजनीतिक आन्दोलनहरु तथा राजनैतिक परिवर्तनहरुमा हिन्दीभाषी भारतीय राजनेताहरुको सक्रिय सहयोग, ००७ सापछिको आधुनिक राज्यसत्ता सञ्चालनमा भारतको सहयोग समर्थन ; समग्रमा हिन्दीभाषी भारतसंग बहुआयामिक निकटता यस्का स्वाभाविक कारणहरु हुन् । विश्व राजनीतिमा क्षेत्रीयशक्तिको रुपमा भारतको विकाससंगै हिन्दीको वर्चस्व विस्तार अस्वाभाविक छैन । तरपनि नेपालमा एउटा राजनैतिक र शिक्षित जमात जसरी मातृभाषाको समानान्तर हिन्दीको वर्चस्वको वकालत गरिरहेका छन्, त्यो भनेको चिन्ताजनक नै हो । तथापि एउटा भाषाको रुपमा अन्य भाषा सरह हिन्दीपनि सम्मानित र समृद्ध भाषा हो भन्नेमा दुईमत छैन । यी तमाम अन्तर्विरोधी बहसहरु भन्दा भिन्न, देशको विकासको निम्ती मातृभाषा शिक्षा तथा शिक्षाको माध्यमको रुपमा मातृभाषाको प्रयोग अनुभूत, तर अहिलेको सबैभन्दा बढी उपेक्षित तथ्य हो ।

देशको शिक्षा नीतिमा प्राथमिक शिक्षा जोड दिइएको छ र त्यसभन्दा माथी मातृभाषालाई ऐच्छिक विषयको रुपमा राखिएको छ । यसरी नै एकातिर मातृभाषा शिक्षामा जोड दिनु र अर्कोतिर निजी विद्यालयको तुलनामा सरकारी विद्यालयहरुको शैक्षिक र भौतिक स्थिति दयनिय हुनु, यी दुबै अन्तर्विरोधी स्थिति हुन् । यसबाट न त गुणात्मक शिक्षाको अपेक्षा गर्न सकिन्छ, न त यस्ले मातृभाषाशिक्षा तर्फ आकर्षण नै बढछ । विद्यालयहरुमा पढाउने शिक्षकहरुमा समेत मातृभाषाप्रति हेय धारणा पाइन्छ । उनिहरुले मातृभाषाको साटो नेपाली र अँग्रेजीमा पढाउँदा सहज र प्रतिष्ठित अनुभूत गरिरहेका हुन्छन् । सरकारले मातृभाषाको पुस्तक छाप्छ, तर पुस्तकहरु सरकारी विद्यालय र शिक्षा कार्यालयहरुका गोदामहरुमा कुहिँदैछन् । यस दृष्टिले हेर्दा मातृभाषा अहिले उत्साही मातृभाषी आन्दोलनकर्मी र साहित्यकारहरुको प्रतिबद्धताको भाषामात्र बनेको देखिन्छ । वर्तमान संघीय गणतन्त्रमा स्थानीय सरकारको अवधारणा अन्तर्गत समाजको शैक्षिक विकासको निम्ती मातृभाषा शिक्षाको दायित्व र अधिकार महानगरपालिकादेखी गाउँपालिका र वडाकार्यालयहरुलाई दिएको छ । तर राजनीतिक उठापटकमा बढी रमाउने यी स्थानीय जनप्रतिनिधिहरुले सम्भवतः कि त मातृशिक्षाको महत्व नै बुझेका छैनन्, कि त यसमा उनिहरुको निम्ती लाभको अवसरहरु थोरै छ, त्यसैले उनिहरुले यसलाई महत्व नै नदिएको देखिन्छ । वर्तमानका विकसित देशहरुलाई हेर्ने हो भने मातृभाषालाई शिक्षाको माध्यम बनाउनेहरुले तिव्र विकास गरेका छन् । यसलाई शिक्षाको माध्यमभाषाको अपरिचितपना नै भन्नु पर्छ कि देश गणतन्त्र भएको डेढ दशकपछि पनि नयाँ पुस्ताले देश र राजनैतिक व्यवस्थाप्रति न त अपनत्व अनुभूत गर्नसकेको छ र न त आवश्यकतानुकूल दक्ष र विशेषज्ञ जनशक्ति नै उत्पादन गर्न सकेको छ । यस्तोमा मातृभाषामा शिक्षाको विषय सराहनीय हुँदाहुँदैपनि यो स्वप्न मात्र बनेर रहने त होइन भन्ने प्रश्न यथावत् नै रहन्छ । शिक्षाको माध्यमको रुपमा मातृभाषाको प्रयोगमा एउटा अहम् चुनौती अँग्रेजी माध्यमका निजी विद्यालयहरुपनि हुन् । यी विद्यालयहरुले मात्रभाषा मात्र होइन, नेपाली भाषा समेतलाई हेय दृष्टिले हेर्छन् ।

कयौँ विद्यालयहरु यस्ता छन्, जहाँ अँग्रजी बाहेक अन्य भाषा प्रयोग गरे भौतिक र आर्थिक दण्ड समेत दिने गरिन्छ । शिशु कक्षादेखी उच्च माध्यमिकसम्मका यस्ता विद्यालयहरुमा नेपाली भाषाबाहेकका सबै विषयहरु अँग्रेजी माध्यमबाट नै पढाइन्छ । हामी एकातिर आफ्ना सन्तानहरुलाई अबोध अवस्थादेखी यस्तो स्कुलमा पढाउन पठाएर गर्वानुभूति र प्रतिष्ठित अनुभूत गर्छौँ र अर्कोतिर मातृभाषा शिक्षा हतोत्साहित भएकोमा अफसोसपनि जाहेर गर्छौँ, सरकारलाई पनि धारेहात गाली गर्छौँ । निजी अँग्रजी विद्यालयहरु शिक्षणसंस्थाभन्दा बढी शैक्षिक पसलहरु हुन्, जस्मा नाफा बढी उत्पादन हुन्छ । यी विद्यालयहरुको शिक्षा पद्धतिले एकातिर मातृभाषाबाट बालकलाई अलग्याउँछ, अर्कोतिर देशभित्रै अँग्रेजी संसारप्रति गर्व गर्न सिकाउँछ, अँग्रेजीमा बोल्न र लेख्न मात्र होइन, सोँच्नसम्म सिकाउँछ । एक प्रकारले यसलाई हामी मातृभाषी मनोविज्ञानलाई अँग्रेजीभाषी मनोविज्ञानमा रुपान्तरण प्रक्रियापनि भन्न सक्छौँ । तर अँग्रेजी माध्यमबाट पढनुको नोक्सान के छ ? अनेकौँ शोध र तथ्याङकहरुको आधारमा के भन्न सकिन्छ भने मातृभाषामा शिक्षा भएन भने बुझाईको शक्ति घट्छ । सामान्यतः मानिसहरु बेलायत र अमेरिकाको विकास देखाएर अँग्रेजीलाई विज्ञान र व्यवसायको भाषा भन्ने गर्छन् । अँग्रेजी ती देशहरुको मातृभाषापनि हो भन्ने तथ्यतिर उनिहरुले ध्यान दिँदैनन् । यस्तो धारणा राख्नेहरुले अँग्रेजी माातृभाषा नहुने तथा अँग्रेजी प्रयोग नगर्ने देशहरु तिरपनि ध्यान दिन जरुरी छ । क्यामरुन, युगान्डा, नाइजिरिया, यस्ता देशहरु हुन्, जहाँका ६० प्रतिशतभन्दा बढी जनसंख्या अँग्रेजी बोल्छन् । यी देशहरुमा सम्भवतः अँग्रेजीलाई विज्ञान र व्यापारको भाषापनि मानिन्छ । यी देशहरुमा शिक्षाको माध्यम अँग्रेजीभाषा छ, तर यीनीहरु संसारका सबैभन्दा गरिब देशहरु मध्येका हुन् । यसरी नै कयौँ विकसित देशहरु छन्, जो अँग्रजीको प्रयोग गर्दैनन्, तर विश्वका विकसित देशहरुमा अग्रणी छन् । जर्मनी, फ्रान्स, जापान, दक्षिण कोरिया, चीनलाई उदाहरणको रुपमा प्रस्तुत गर्न सकिन्छ । वस्तुतः मानिस वैज्ञानिक बन्छ, भाषा होइन । दक्षिण एसियाका अन्य देश जस्तै हाम्रो देशमा पनि उच्च शिक्षाको माध्यम अँग्रेजी रही आएको छ ।

तर विगत सत्तरी वर्षको अँग्रेजीशिक्षा पछिपनि नेपालमा अनुसन्धान र वैज्ञानिक उत्पादन गर्नेको कमी नै छ । यहाँ भारतका पूर्व राष्ट्रपति तथा प्रसिद्ध भाषा वैज्ञानिक एपिजे अब्दुल कलामको त्यो भनाई सान्दर्भिक हुनेछ, जस्मा उनले आफू मातृभाषामा शिक्षा प्राप्त गरेकोले वस्तुस्थितिलाई सहजरुपमा बुझ्नसकेको तथा वैज्ञानिक हुनसकेको उद्गार व्यक्त गरेका थिए । यसबाट के बुझिन्छ भने मातृभाषा बाहेकका भाषामा अध्ययन गर्नाले हामी शासन वा विश्वबजारका कामचलाउ कारिन्दा वा मजदूर त उत्पादन गर्न सक्छौँ, तर विशेषज्ञ र वैज्ञानिक उत्पादनको निम्ती शिक्षाको माध्यम मातृभाषालाई बनाउनु सबैभन्दा उपयुक्त धारणा हो । मातृभाषाबाट विमुख राखिनु मानवअधिकारको हननपनि हो, तर यसभन्दापनि देशको योग्य नागरिक उत्पादनको निम्ती राज्यले मातृभाषाप्रतिको गर्व जन्माउन मातृभाषा शिक्षालाई अनिवार्य योजनाभित्र पार्नु पर्छ । योजनाबद्ध किसिमबाट विविध विषयका योग्य मातृभाषी शिक्षक उत्पादन तथा मातृभाषालाई शिक्षाको माध्यम अवलम्बन गर्ने विद्यालयहरु सम्मान, पुरस्कार र वृत्तिजन्य सुविधा दिने नीति अवलम्बन गर्नुपर्छ । सरकारीस्तरमा मातृभाषा र शिक्षाको माध्यमको रुपमा मातृभाषाबारे योजनाबद्ध अभियान सञ्चालन गर्नु पर्छ । होइन भने मातृभाषामा शिक्षासम्बन्धी सम्वैधानिक घोषणा तथा तिनै तहका सरकारका योजनाहरु उपेक्षित र प्रभावहीन नै रहनेछन् ।

Comment


Related News

Latest News

Trending News