जनकपुरधाम । स्थायी भौत्तिक संरचना निर्माणका लागि मधेश प्रदेश सरकारले गठन गरेको अध्ययन र व्यवस्थापन समितिले सार्वजनिक जग्गाहरुको तथ्यांक उपलब्ध गराउन सम्बन्धित कार्यालयहरुसंग माग गरेको छ ।
प्रदेशको राजधानीको चार किल्ला भित्रमा ५ विघा भन्दा बढी क्षेत्रलफलका सम्पूर्ण जग्गाहरुको तथ्यांक उपलब्ध गराउन समितिले धनुषा र महोत्तरी जिल्लाको मालपोत, नापी र गुठी संस्थान कार्यालयसंग तथ्यांक माग गरेको हो । समितिका संयोजक तथा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले सोमबार मात्रै धनुषा र महोत्तरी जिल्लाका मालपोत कार्यालय, नापी कार्यालय र गुठी संस्थाका प्रमुखहरु संग जग्गाको सम्बन्धमा संयुक्त बैठक समेत गरेका छन् । बैठकमा संयोजक यादवले राजधानीको चार किल्ला भित्र रहेका ५ बिघा भन्दा बढी सार्वजनिक जग्गाको तथ्याङक उपलब्ध गराउन माग अघि सारेका छन् । राजधानीको चार किल्लाभित्र रहेका ५ विघा भन्दा बढी खालि जग्गाको तथ्याँक उपलब्ध गराउन उहाँहरुलाई अनुरोध गरेका छौ, मन्त्री यादवले भने,‘ उहाँहरुले तथ्यांक उपलब्ध गराए पछि जग्गा खोज्न सहज हुन्छ ।’ प्रदेशको राजधानीमा पूर्वमा कमलानदी, पश्चिममा परिक्रमा क्षेत्र, उत्तरमा पूर्व पश्चिम लोकमार्ग र दक्षिणमा नेपाल भारतका सीमा क्षेत्र सम्म तोकिएको छ ।
संयोजक यादवका अनुसार अहिले सम्म प्रदेश सरकारको स्थायी भौतिक संरचना निर्माणको लागि जनकपुर विमानस्थल नजिक रहेको गुठी संस्थानको १० विघा र जनकपुरकै पुलचोक नजिक रहेको ५२ विघा जग्गाको निरीक्षण तथा अनुगमन गरिसकेको छ । जग्गाहरु यकिन भएपछि सो मध्ये कुन जग्गा उपयुक्त हुने ? त्यसपछि त्यो जग्गा प्राप्तिको प्रक्रिया, निर्माण हुन सक्ने भौतिक संचरना, लाग्ने बजेट लगायतका विषयमा प्राविधिक तथा विज्ञसँग सल्लाह गरी मात्रै प्रतिवेदन बुझाउंछौ,’ संयोजक यादवले भने । मधेश प्रदेशले नाम र स्थायी राजधानी पाए पछि स्थायी भौतिक संरचना निर्माणका लागि जग्गा खोजी कार्यलाई तीव्रता दिएको छ । गत माघ तीन गते मधेश प्रदेशले नाम र स्थायी राजधानी पाएपछि प्रदेश सरकार त्यस तर्फ केन्द्रित भएको हो । मधेश प्रदेश सरकार गठन भएदेखि विगत ४ वर्षदेखि संघीय सरकारको उद्योग मन्त्रालय अन्तर्गत रहेका जनकपुर चुरोट कारखाना परिसरमा प्रशासनिक भवन कायमगरी प्रदेश सरकारले आफ्नो दैनिक कामकाज गर्दै आएको छ ।
जनकपुर चुरोट कारखानाको करिव ३१ विघा जग्गा मध्ये २५ विघामा अहिले मधेश सरकारले उपभोग गर्दै आएको छ । जनकपुर चुरोट कारखानाको पुरानो भवनलाई मर्मत सम्भार गरी त्यसलाई मधेश भवनको संज्ञा दिएर प्रदेश सरकारले आफ्ना काम कारवाही संचालन गर्दै आएको छ । त्यसैगरी प्रदेश सभा सचिवालयको कार्यालय शैक्षिक तालिम केन्द्रको भवनमा सञ्चालन हुँदै आएको छ । प्रदेश प्रमुखको कार्यालय,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बाहेक सबै मन्त्रालयको कार्यालय, मन्त्री निवास, सचिव निवास तथा केही कर्मचारीहरुको निवास पनि जनकपुर चुरोट कारखानाको परिसरमा रहेको छ । प्रदेश सरकारको प्रशासनिक र आवास भवन तथा मातहत कार्यालयको स्थायी भौतिक संरचना निर्माणका लागि माघ १८ गते बसेको प्रदेश मन्त्री परिषदको बैठकले भौतिक पूर्वाधार तथा विकास मन्त्री रामसरोज यादवको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरिसकेको छ ।
समितिमा उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव र आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साह सदस्य रहेका छन् । समितिलाई ६० दिनभित्रमा स्थायी भौतिक संरचना निर्माणको अध्ययन र व्यवस्थापन सहितको प्रतिवेदन मन्त्री परिषदको बैठकमा पेश गर्न समय दिइएको छ ।
https://www.youtube.com/watch?v=VzR7rinzOeY

