राजविराज । नेकपा एमालेका स्थानीय नेता एवं पूर्वप्रधानपञ्च सुशील बरबरिया पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
सोमबार जसपाद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा बरबरियासँगै विभिन्न पार्टी परित्याग गरी एक सय भन्दा बढी नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् । तिरहुत गाउंपालिकामा आयोजित उक्त कार्यक्रममा नवप्रवेशीहरुलाई मधेश प्रदेशका सामाजिक विकास मन्त्री एवं जसपाका कार्यकारिणी सदस्य नवलकिशोर साहले फूलमाला र अबिर लगाइ स्वागत गरे । सो अवसरमा मन्त्री साहले मुलुकमा देखिएको विद्यमान संकट र समस्याको समाधान जसपाले मात्र गर्न सक्ने दाबी गर्दै नवप्रवेशीहरुलाई योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिइने बताए । कार्यक्रममा तिरहुत गाउंपालिकाका अध्यक्ष हेमन्त बहरखेर, जसपा गाउं कमिटीका अध्यक्ष बिरेन्द्र मिश्रा, वडा अध्यक्ष शिवनारायण मेहता, जयप्रकाश यादव, मनोज यादव लगायतले पनि नवप्रवेशीहरुको स्वागत गर्दै जसपाले नै देश र जनताको हितमा काम गर्न सक्ने बताएका थिए ।

