गौर राइस मिल एण्ड फ्लोरको जग्गा बिक्री गर्न भू– माफियाहरुको चलखेल सुरु भएको छ ।
२००३ सालमा नेपाल र भारतका केही व्यवसायीहरुको साझा लगानीमा स्थापना भएको सो राइस मिलको करिव साढे ६ विघा जग्गा सर्वे नापीको समय २०२१ सालमा कम्पनीको नाउंमा सर्वे भएको जग्गाको हकदाबी गर्ने कोही नभए पनि नक्कली कम्पनी सञ्चालक बनेर सार्वजनिक प्रयोगको जग्गा कानून विपरीत बिक्री गर्न केही जग्गाको करोवार गर्ने व्यक्तिहरुले पुनः चलखेल सुरु गरेका छन् । स्थानीय र प्रादेशिक निर्वाचन पछि सो जग्गा बिक्री गर्न सक्रिय भएका गिरोहले स्थानीयवासीहरुको चर्को विरोधको कारण केही दिन देखि चुप लागेको र अहिले जालझेल गरेर जग्गा बिक्री गर्न सक्रिय भएको खुलासा रौतहट जिल्ला क्रिकेट संघका पदाधिकारीहरुले गएको शनिबार गौर स्थित एक होटेलमा आयोजना गरेको बैठकबाट भएको हो । म
धेश प्रदेश सरकारले सो राइस मिलको जग्गा अधिग्रहण गर्नका लागि १५ करोड रकम विनियोजन गर्दा पनि सो रकम कार्यान्वयनमा बाधा पु¥याउन सफल भएका गिरोहले अहिले नक्कली घर बाटो प्रमाणित गरेको कागजात सार्वजनिक गरेको छ । ३ नम्बर वडा कार्यालयका लेटर पैड प्रयोग गरी सो राइस मिलको जग्गाको घर जग्गा २०७७/ ७/१७ गतेमा नक्कली छाप तथा वडा अध्यक्ष श्यामसुन्दर पटेलको हस्ताक्षर प्रयोग गरेको कागजातलाई आधार बनाएर जग्गा विक्री गर्ने गरेको षड्यन्त्र सार्वजनिक भएको छ । सो पत्रमा पुरानो गौर गाउंको छाप प्रयोग गरिएको छ भने १ नम्बर वडा कार्यालयको छाप लगाइएकोले वडा कार्यालयको कर्मचारी भू– माफियाको गिरोह संग मिलेको शंकालाई बल मिलेको छ । वडा अध्यक्ष पटेलले आफूले त्यस्तो काम नगरेको दाबी गर्दै मेरो किर्ते सही छाप गरेको ठोकुवा गरेका छन् । सार्वजनिक सरोकारको विषय भएकोले यस्तो कार्य कुनै पनि हालतमा गर्न नसकिने बताउंदै उनले नक्कली कागजात बनाउनेको खोजी गरी कानूनी दायरामा समेत ल्याउने चेतावनी दिएका छन् ।
गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले पहिला मिलको समान खरिद गर्ने व्यक्तिले अहिले निर्वाचनको बेलामा निर्वाचित जनप्रतिनिधिलाई बदनाम गर्ने षड् यन्त्र गरिरहेको आरोप लगाए । प्रदेश सरकारले विनियोजन गरेको १५ करोड रुपैयाँ नेपाल सरकारको अर्थ मन्त्रालयले सहमति नदिएको कारण अधिग्रहण हुन् नसकेको जिकिर गरे । गौर राइस मिलको जग्गा गौरको गौरवको विषय रहेकोले कुनै हालतमा सो जग्गालाइ जोगाउने दाबी समेत गरे । राइस मिलको भवनमा बसेका रौतहट जिल्ला क्रिकेट संघका पदाधिकारीहरुले ४ विघा जग्गा अन्य ठाउंमा खेलकुदको लागि दिने र यो जग्गा खाली गरिदिने आएको प्रस्तावलाई समर्थन गर्नको लागि गौरका केही संचारकर्मीहरु समक्ष प्रस्ताव गर्दा राइस मिलको जग्गा बिक्री गर्ने खेल फेरि सुरु भएको खुलाशा भए लगतै केही वर्ष देखि गौण रहेको मुद्दा अहिले एक्कासी चर्चामा आएको छ ।

