जनकपुरधाम । जयनगर–कुर्था रेल यात्रु सहित सञ्चालन अझै पनि अनिश्चित बनेको छ ।
यात्रु रहित (ड्राइ रन) सञ्चालन भएको दश दिन माथि भइसक्दा पनि उद्घाटनको मिति निर्धारित नहुँदा यात्रुसहितको नियमित रेल सञ्चालन अनिश्चित बनेको हो । ‘कहिलेदेखि हुने भन्नेमा अन्योल छ ,नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरंजन झाले भने,‘ रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने भएपछि हामीले सरकारको निर्देशन कुरेर बसेका छौं। ’ भारतीय रेल्वे कम्पनी कोंकणले उदघाटनका लागि २०२२ मार्च १ अर्थात फागुन १७ गतेको मिति प्रस्ताव गरेको र आफूहरुले सोही मितिलाई समर्थन गरेर भारतीय दूतावासलाई पत्राचार समेत गरिसकेको महाप्रबन्धक झाले बताए । ‘रेल सञ्चालनको लागि सम्पूर्ण भौत्तिक पूर्वाधार तयारी भइसकेको र विगत दश दिनदेखि ड्राईरनमा नियमित रेल सञ्चालनमा रहेको र कुनै समस्या नदेखिएकोले कोँकण र हामीबीच सहमति भएरै उदघाटनको मिति मार्च १ तय गरेर दूतावासमा पठाएका हौं, उनले भने , ‘‘तर दूतावास र भौत्तिक पूर्वाधार तथा यातायात मन्त्रालयले उदघाटनको मितिबारे निर्णय नगरेकोले रेल्वेको उद्घाटन मिति तय हुन सकेको छैन ।’ उद्घाटन मितिको प्रस्ताव नेपाल सरकारबाट आउनुपर्ने बताउंदै झाले भने,‘ नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका कारण उदघाटनको मिति तय गर्न ढिलाइ हुँदा यात्रु सहित कहिलेदेखि रेल्वे सञ्चालन हुने हो भन्ने बारे केही भन्न सकिन्न ।’ नियमित रुपमा संचालनमा रहेको यात्रुरहित रेल सञ्चालन गर्न सरकार तथा भारतीय दूतावासको निर्णयलाई पर्खिनु बाहेक कुनै समस्या नरहेको बताउंदै उनले भने,‘हामीले सबै तयारी गरिसकेका छौं । उदघाटन हुने बित्तिक्कै नियमित रेल चलाउँछौं, अब ढिलाइ हुनुको कुनै कारण छैन ।’
यता नियमित बिना यात्रु (ड्राई सेवा) भने गत फागुन १ गतेदेखि सञ्चालन हुँदै आएको छ । अहिले बिना यात्रु दैनिक जयनगरदेखि कुर्था र कुर्थाबाट पुनः जयनगर सम्म एक पटक ओहोर दोहोर गरी रेल सेवा सञ्चालन भइरहेको ईन्जिनियर रविन्द्र साहले बताए । जयनगरदेखि कुर्था सम्ममा रहेको २२ वटा क्रसिंग द्वार मध्ये १० वटा पूर्ण रुपमा तयार भइसकेको र बाँकी रहेको द्वारमा फलामको जंजिर प्रयोग गरी रेल्वे सञ्चालन गरिएको बताउंदै उनले भने,‘भारतीय कोँकण कम्पनीले निर्माण गर्नु पर्ने द्वारको काम पनि चाँडै हुनेछ तथापि नभए पनि त्यसले रेल्वे सञ्चालनमा कुनै पनि समस्या आउने छैन ।’

