जनता समाजवादी पार्टी (जसपा)को कार्यकारणी समितीको बैठक आज बस्ने भएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले आजकोलागि बैठक बोलाएका छन् । बैठकमा एमसीसीको विषयमा गहन छलफल हुने जनाइएको छ । बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले हस्ताक्षर अभियान जारी राखेका बिषयमा समेत छलफल हुने जनाइएको छ । भट्टराईले सञ्चालन गरेको हस्ताक्षर अभियानप्रति उपेन्द्र यादव पक्षका नेताहरुले आपत्ति जनाएका छन् । भट्टराई पक्षका कार्यकारिणी सदस्य प्रशान्त सिंह भन्छन्, ‘हामीले दुईटा कारणले यो हस्ताक्षर अभियान चलाएका हौं, पहिलो, अध्यक्ष उपेन्द्र यादवमाथि पार्टीको बैठक बोलाउन प्रेसर बनाउन र दोस्रो, हामीले जुन मुद्दा उठाएका छौं, त्यो मुद्दाप्रति पार्टीभित्र कस्तो मत छ त्यो जान्नका लागि ।’ तर, एमसिसी पास गराउनकालागि डा. भट्टराई उपेन्द्र यादवमाथि दवाव दिँदै आएका छन् । उपेन्द्र यादव एमसिसी नेपाली जनताको हितमा तथा सार्भभौमसत्ता विरुद्ध रहेको भन्दै उनले एमसिसीको बिषयमा मौन देखिएका छन् ।
पार्टीका केन्द्रीय सदस्य मनिष सुमनले आफूलाई हस्ताक्षर गर्नका लागि कसैले नभनेको बताएका छन् । उनले भने, ‘पार्टीमा हस्ताक्षर संकलन भइरहेको मैले पनि सुनेको छु, तर हस्ताक्षरका लागि म समक्ष कोही पनि आएका छैनन् ।’ हस्ताक्षरका लागि आए पनि आफूले हस्ताक्षर नगर्ने बताउँदै उनले पार्टी विभाजनको पक्षमा आफू नरहेको प्रस्ट पारे । ‘पार्टीमा कुनै विवाद छैन, बाबुरामहरुले जानी जानी विवाद सिर्जना गर्न खोजेको देखिन्छ,’ उनले भने, पार्टीका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाइसकेको अवस्थामा त्यो बैठकबाट अन्य बैठकहरू पनि तय हुनेछ, तैपनि उनीहरुले हस्ताक्षर संकलन गरिरहेका छन्, यसमा हाम्रो आपत्ति छ ।’

