२०७८ फाल्गुन १४, शनिबार ०७:४२

संघीय सरकारमा सत्तासीन जनता समाजवादी पार्टी(जसपा)ले चर्चित अमेरिकन सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी) को पक्षमा लाग्न एकजुट भएको छ ।

जसपा कार्यकारिणी समितिको बैठक बस्नु अगावै पार्टीका उच्च नेताहरुबीच भएको छलफलमा एमसीसीको पक्षमा मतदान गर्ने सहमति भएको स्रोतले जनाएका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवसित असन्तुष्ट रहेका कृषि मन्त्री महेन्द्र यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव, गजाधर यादव लगायतका नेताहरुबीच भएको छलफलमा एमसीसीको पक्षमा लाग्ने सहमति जुटेको स्रोतले जनाएका छन् । पार्टीमा असन्तुष्ट रहेका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले एमसीसीको समर्थनमा कार्यकारिणी समितिको निर्णय अगावै धारणा सार्वजनिक गरेका थिए ।उनको एकल धारणाले पार्टी विभाजन हुन सक्ने संकेत गरेको बेला एमसीसीको पक्षमा जुट्ने सहमति भएको छ । एमसीसी सम्बन्धी प्रतिनिधि सभामा पेश भएको सम्झौता पत्रको प्रतिलिपि कार्यकारिणी समितिका सदस्यहरुलाई उपलब्ध गराइएको छ ।शनिवार बस्ने बैठकमा एमसीसीमाथि छलफल हुने पार्टी कार्यालय सचिव समेत रहेका प्रकाश अधिकारीले जनाए । सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि एमसीसी पारित गर्न सकारात्मक देखिएका छन् ।उनीहरुले गठबन्धनलाई जोगाउन एमसीसी पारित गर्नुको विकल्प नभएको निष्कर्षमा पुगेका हुन् ।

कार्यकारिणी समितिको अनौपचारिक बैठकबाट छलफलका लागि १२ वटा एजेण्डा निर्धारण गरिएको छ ।एजेण्डामा मधेश प्रदेश सरकारको कामकारवाही पनि राखिएको छ ।संघीय सरकारका विषयमा समेत बैठकमा छलफल हुनेछ । पहिलो दिनको बैठकबाट स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित भएको कार्यकारिणी समितिका सदस्य गजाधर यादवले बताए ।‘निर्धारित १२ वटा एजेण्डामा बैठक केन्द्रित रहने भए पनि अन्य समसमायिक विषयहरु समेत उठन सक्नेछ’ उनले भने, पार्टी विभाजनको संभावना रहेको छैन् । बैठकमा अध्यक्षको कार्यशैलीमाथि समेत टिकाटिप्पणी भइरहेको छ ।केही सदस्यहरुले पार्टीमा बहुअध्यक्षीय प्रणाली राख्नुपर्नेमा समेत जोड दिन सक्ने संभावना छ । बैठकले पार्टीको विधान अधिवेशनबारे समेत निर्णय लिन सक्ने बताइएको छ ।केन्द्रीय समितिको बैठक बोलाउने विषय एजेण्डामा राखिएको छैन् ।

सचिव अधिकारीका अनुसार बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी, समसामयिक राजनीतिक अवस्था, कार्यकारिणीलाई पूर्णता, केन्द्रीय समितिको कार्यविभाजन, नेतृत्व प्रणाली, विधान अधिवेशन, सुज अभियान, सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैली, केन्द्रीय समिति र संघीय परिषद्को बैठकलगायतको एजेण्डा तय गरेर छलफल सुरु भएको छ । भट्टराई समूहले बहुअध्यक्षीय प्रणाली लागू गरेर अध्यक्ष बन्ने दाउमा रहेका छन् ।अध्यक्ष यादवसित असन्तुष्ट रहेका कार्यकारिणी समितिका सदस्यहरु बैठक बस्नु अगावै सहमतिमा आइसकेकाले पार्टी विभाजनको प्रक्रियामा जान जोखिम टरेको बताइन्छ ।

Please subscribe our official youtube channel and support us

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News