राजविराज । नेपाली कांग्रेस सप्तरीको आगामी निर्वाचनका लागि संस्थापन तथा इतर पक्षबाट सभापति पदको उम्मेदवारी घोषणा भइसकेको छ भने सर्वसम्मत नेतृत्वको लागि पहल भने जारी नै रहेको छ ।
पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्य एवं वर्तमान जिल्ला सभापति दिनेश कुमार यादवको संयोजकत्वमा गठित कार्यदलले सर्वसम्मतिको प्रयास आईतबार पनि जारी राखेको छ । आगामी २० गते हुने जिल्ला अधिवेशनका लागि नेतृत्व चयनमा सर्वसम्मति होस भनी अधिकतम् प्रयास जारी राख्न यादवको संयोजकत्वमा गठित कार्यदलमा डा. सुवोध कुमार पोखरेल र भागवत यादवलाई सदस्यमा राखिएको छ । कार्यदलका सदस्य डा.सुबोध पोखरेलले दुबै पक्षको शक्ती सन्तुलनको आधारमा पार्टीको विभिन्न पदमा बाँडफाँड गरी सर्वसम्मति जुटाउने प्रयास अन्तिम समय सम्म जारी रहने जानकारी दिए । ”पार्टीका केन्द्रीय सदस्य एवं वर्तमान जिल्ला सभापति यादवले केन्द्रीय समितिमा समेत समय दिनु पर्ने हँुदा उनीमाथि कार्यको बोझ बढी छ, पोखरेलले भने “तथापि हामी सदस्यहरुले पनि सर्वसम्मतिका लागि सक्दो प्रयास जारी राखेका छौं ।” पार्टी मजबुत बनाउन आसन्न आन्तरिक निर्वाचन तथा आगामी स्थानीय निर्वाचनमा समेत एकतावद्ध भइ अघि बढ्न सर्वसम्मति नै उत्तम विकल्प रहेको भन्दै उनले यही कुरालाई दृष्टिगत गरी दुबै पक्षसित घनीभूत भेटघाट, वार्ता र सम्वाद जारी राखेको बताए ।
यस क्रममा आईतबार पनि दुबै पक्षका अगुवा नेता कार्यकर्तासंग छलफल गरेको उनले बताए । पार्टीका प्रवक्ता प्रभात कुमार ललनले सर्वसम्मतिका लागि नै कार्यदल सित आफूहरुको समेत समन्वय जारी रहेको तर अहिले सम्म सहमतिको खबर प्राप्त हुन नसकेको जानकारी दिए ।

