२०७८ फाल्गुन १७, मंगलवार ०७:४०

जनकपुरधाम । मिथिला मध्यमा १५ दिने परिक्रमा यस वर्ष फागुन १९ गतेदेखि प्रारम्भ हुने भएको छ ।

मिथिला बिहारी नगरपालिका स्थित कुट्टीबाट मिथिला बिहारीको डोला र जनकपुरधाम स्थित सुन्दर सदन अग्निकुण्डबाट किशोरीजीको डोला सहित गरिने यस परिक्रमामा नेपाल र भारतका हजारौं यात्री सहभागी हुने गरेका छन् । मिथिला बिहारीको डोला सहितका यात्रीहरु विहीबार जनकपुरधामको हनुमाननगर स्थित हनुमान गढी पुग्ने र विश्राम गर्ने कार्यक्रम रहेको छ । शुक्रबार किशोरीजीको डोला हनुमानगढी पुगेर सोही दिन भारत बिहारको मधुबनी जिल्लाको नेपाल सीमावर्ती क्षेत्रमा रहेको कल्याणेश्वर महादेव स्थान पुग्ने सुन्दर सदनका महन्त नवकिशोर शरणले जानकारी दिए । नेपाल भारतका हजारौं यात्रीहरुले कल्याणेश्वर स्थानमा एक रात विश्राम गरी १५ दिने परिक्रमा सफलताको लागि संकल्प लिने र त्यहाँबाट अगाडि बढ्ने परम्परा रहिआएको छ । सोही परम्परा अनुसार यस वर्ष पनि कल्याणेश्वर महादेवलाई साक्षी राखेर यात्रीहरुले यात्रा प्रारम्भ गर्ने कार्यक्रम रहेको महन्त शरणले बताए ।

२१ गते भारतकै फुलहर स्थित गिरिजा स्थानमा पुगेर परिक्रमाका यात्रीहरुले विश्राम गर्नेछन,भने २२ गते ऐतिहासिक स्थान महोत्तरीको मटिहानी पुग्ने बताइएको छ । त्यसै गरी २३ गते जलेश्वरनाथ महादेव स्थानमा विश्राम गर्नेछ भने २४ गते मडै ,२५ गते ध्रुबकुण्ड पुगेर विश्राम गरिने कार्यक्रम रहेको उनले बताए । २६ गते कञ्चनवन पुगेर त्रेतायुगमा राम र सीताले होली मनाएको लोकमान्यता अनुसार त्यहाँ यात्रीहरुले होली महोत्सव मनाउने गरेका छन् । कञ्चनवनमा होली महोत्सव मनाइ यात्रीहरु २७ गते धनुषाको पर्वता अर्थात क्षीरेश्वरनाथ महादेव स्थानमा विश्राम गर्नेछन् भने २८ गते धनुषाधाममा धनुषमन्दिरमा पुगेर विश्राम गर्नेछन । त्यसै गरी २९ गते सतोखर,३० गते औरही र चैत १ गते पुनःभारतको बिहार स्थित करुणा स्थानमा विश्राम तथा २ गते बिसौलमा पुगेर विधिवत् रुपमा मध्यमा परिक्रमा समापन हुनेछ । तत्पश्चात परिक्रमा ४ गते जनकपुरधाम पुगेर जनकपुरधामको पाँचकोशे अन्र्तगृह परिक्रमा गर्ने परम्परा रहिआएको छ । स्वस्फुर्त रुपमा आफ्नै घरबाट भोजन सहित हजारौंको संख्यामा यात्रीहरुले यस परिक्रमामा सहभागिता जनाउने गरेका छन् । यो यात्रा १ सय ३३ किलोमिटरको रहेको बताइन्छ । यता मन्दिरहरुबाट परिक्रमाको लागि तयारी पूरा भए पनि यात्रुहरुको लागि आवश्यक ठाउँ ठाउँमा चाहिने शौचालय तथा खानेपानीको चरम समस्या हुने गरेको छ ।

मधेश प्रदेश सरकारको पाँच वर्षे कार्यकाल पूरा हुन लाग्दा पनि मध्यमा परिक्रमाबारे क समेत उच्चारण गर्न नसकेको दुर्भाग्यपूर्ण स्थिति विद्यमान छ । यता यसै परिक्रमा मेला लगायतको धार्मिक सांस्कृतिक संरक्षण सम्वद्र्धनकै लागि स्थापना गरिएको वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले पनि यस वर्ष परिक्रमाको व्यवस्थापन बारे केही पनि गर्न नसकेको देखिएको छ । त्यसैगरी मेला व्यवस्थापनको लागि स्थानीय पालिकाहरुले गर्नु पर्ने व्यवस्थापनमा समेत कसैले चासो नदिँदा यात्रीहरुले विभिन्न प्रकारको समस्या भोग्नु परेको छ । । धर्मशाला ,मन्दिर सौन्दर्यकरणमा काम गरेको दाबी गर्दै आएको मधेश प्रदेश सरकारले मिथिला मध्यमा परिक्रमाको लागि भने केही पनि गर्न नसकेको जनगुनासो छ ।

https://www.youtube.com/watch?v=KFeu-Xb4TaI

Comment


Related News

Latest News

Trending News