जनता समाजवादी पार्टीको जारी कार्यकारिणी समिति बैठकले संघीय परिषद् र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ ।
कार्यकारिणी समितिको चौथों दिन बसेको बैठकले संघीय परिषद् को बैठक फागुन २८ गते र केन्द्रीय समितिको बैठक फागुन २९ र ३० गते गर्ने निर्णय गरेको छ । एमसीसी पास भएपछि सोमवार बसेको बैठकले स्थानीय तह निर्वाचनका लागि निर्वाचन निर्देशिका तयारी समिति गठन गरेको कार्यकारिणी समिति सदस्य गजाधर यादवले जनाए । समितिमा मनिष सुमन, हिसिला यमी र नवराज सुवेदी रहेको उनले बताए । पार्टीको विधान अधिवेशन असार १ र २ गते गर्ने निर्णय भएको यादवले जनाए ।बैठकले कर्णाली, गण्डकी र बागमती प्रदेशको फागुन महिना भित्रै समायोजनको प्रक्रिया पूरा गर्ने निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकमा संघीय सरकारमा मन्त्री रहेका रेणु यादव, महेन्द्र यादव, रामसहाय यादव र राजेन्द्र श्रेष्ठ अल्पसमय मात्र सहभागी भए ।बैठकमा रामनरेश यादव उपस्थित थिएनन् । कार्यकारिणी समितिको बैठक मंगलवार पनि बस्ने भएको छ ।
संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई समूहले मागगर्दै आएको बहुअध्यक्षीय प्रणालीबारे मंगलवारको बैठकमा छलफल हुने एकजना कार्यकारिणी समितिका सदस्यले जनाए । भट्टराई समूहले बहुअध्यक्षीय प्रणाली कार्यकारिणी समितिको बैठकबाट निर्णग गरी संघीय र केन्द्रीय समितिबाट अनुमोदन गराउन चाहेका छन् ।आगामी चुनावमा अध्यक्ष यादवले असन्तुष्ट नेताहरुको टिकट काट्न सक्ने आशंका भट्टराई समूहको छ ।उनीहरुले त्यसको सुनिश्चितताका लागि पार्टीमा भट्टराईलाई पनि यादवको समानान्तर अध्यक्ष बनाउन चाहेका छन् । तर अध्यक्ष यादव पक्ष बहुअध्यक्ष प्रणालीलाई स्वीकार नगर्ने पक्षमा छन् ।यस अघि महन्थ ठाकुर अध्यक्ष रहँदा शक्ति सन्तुलन मिल्न नसक्दा पार्टी विभाजन भएको घाउ आलो नै रहेको बेला फेरि दुई जना अध्यक्ष राखेर जोखिम मोल्ने पक्षमा यादव समूह छैनन् । जसपा अध्यक्ष यादवका विरुद्धमा लागेका भट्टराई समूहले पार्टी विभाजन सम्मको तयारी गरेको बताइन्छ ।उनीहरुले अनेक निहुँमा पार्टी टुक्रयाउने आन्तरिक गृहकार्य गरिरहेको एकजना कार्यकारिणी समिति सदस्यले बताए । कार्यकारिणी समितिका अधिकांश सदस्य पार्टी विभाजनको पक्षमा नरहेकाले भट्टराई समूहलाई निर्णय लिन समस्या देखिएको छ ।
स्थानीय तहको टिकटमा हस्ताक्षर गर्न सो समूहले दुई जनाको प्रस्ताव गरे पनि पछि वरिष्ठ नेता अशोक राईको एकल हस्ताक्षर चल्ने निर्णय गरी निर्वाचन आयोगमा पार्टी दर्ता गराइएको छ ।त्यसमा सहमति जुटाउन दुई दिन समय लागेको थियो ।अध्यक्ष यादवलाई चौतर्फी घेराबन्दी गर्ने अभियानमा भट्टराई, महेन्द्र यादव लगायतका नेताहरु सक्रिय छन् । कार्यकारिणी समिति बैठकमा बहुअध्यक्षीय प्रणाली लागू गर्ने प्रस्ताव पारित हुने संभावना नरहेको उच्चस्रोतले जनाए ।अध्यक्ष यादवसित असन्तुष्ट रहेका सदस्यहरु मध्ये अधिकांश सदस्य एकल अध्यक्षकै पक्षमा रहेको स्रोतले बताए ।

