रौतहट जिल्लाको मौलापुर नगरपालिकाको मौलापुर पतौरास्थित पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा तेस्रो मधानी महोत्सवको आयोजना गरिएको छ ।
मौलापुरमा उत्खनन्को क्रममा एकहजार वर्ष पुरानो शिवमन्दिर तथा त्यस वरीपरी फेला परेको दरबार क्षेत्रमा मधानी महोत्सव लगाइएको हो । तीन वर्षअघि उत्खनन्को क्रममा मौलापुर नगरपालिका–५ पतौरामा धेरै पुरानो कर्णाटकालीन मन्दिरको रुपमा शिवको मन्दिर फेला परेको थियो । कर्णाटकालीन एवं पुरातात्विक मन्दिर फेला परेको अवसरमा रौतहट क्षेत्र नं ३ का पूर्व सांसद प्रभु साहको विशेष पहलमा मौलापुर नगरपालिकाले उक्त मन्दिरको प्राङ्गणमा प्रत्येक वर्ष मधानी महोत्सवको आयोजना गर्दै आएको छ । मौलापुर नगरपालिकाले महाशिवरात्रिको अवसरमा मंगलवार पतौरास्थित पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा मधानी महोत्सवको आयोजना गरेको थियो । महोत्सवमा साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । महोत्सवमा आफ्ना प्रस्तुति दिन नेपाल एवम् भारतका भोजपुरी सिनेमा जगतका लोकप्रिय कलाकारहरु सहभागी भए ।
कार्यक्रममा भारतीय भोजपुरी सिनेमा क्षेत्रका नायक तथा गायक खेसारीलाल यादव र नायिका रानी चटर्जीले साँस्कृतिक प्रस्तुति गरे । त्यस्तै नेपालका नायक राजेश हमाल, भोजपुरी गायक सुनिल पंडित, रचना शिवाकोटी लगाएतका कलाकारले आ– आफना प्रस्तुति गरे । भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव, नायीका रानी चटर्जी र नेपाली नायक राजेश हमालको प्रस्तुति हेर्न रौतहट, बारा, पर्सा, सर्लाही लगाएतका जिल्लाबाट लाखौंको संख्यामा दर्शकहरु महोत्सवमा आएका थिए ।
https://www.youtube.com/watch?v=VzR7rinzOeY

