अति प्राचीन महोत्तरीको जलेश्वरस्थित श्री जलेश्वरनाथ महादेव मन्दिर परिसरमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको छ ।
पुराणहरूमा वर्णित पुष्प वृष्टिको झल्को दिन महाशिवरात्रि पर्वका अवसरमा मंगलवार दिउँसो मन्दिर परिसर र जलेश्वर नगर परिसरमा पुष्प वृष्टि गराइएको हो । अति प्राचीन जलभित्र विराजमान भगवान् शिवको यो स्थलबारे थप चासो बढाउन हेलिकोप्टरबाट पुष्प वृष्टि गराइएको जलेश्वर नगरप्रमुख रामशङ्कर मिश्रले बताउनुभयो । पुष्प वृष्टिका लागि काठमाडाँैबाट हेलिकप्टर भाडामा झिकाइएको थियो । मन्दिर परिसरमा आकासबाट विमानले दुई फन्का लगाएर पुष्प वृष्टि गराइएको जलेश्वर नगरवासीले बताए । यसका लागि स्थानीय मालीबाट दुई क्विन्टल सयपत्री पूmल सहयोगस्वरुप प्राप्त भएको थियो । हेलिकोप्टरको भाडालगायतका लागि करिब रु दुई लाख २५ हजार खर्च भएको छ । यो खर्च नगरपालिकाको कोषबाट नभइ श्रद्धालु शिवभक्तबाट दानस्वरुप जुटेको रकम भएको नगरप्रमुख मिश्रले स्पष्ट पार्नुभयो । पुष्प वृष्टि हुने सूचना फैलिएपछि टाढाटाढाबाट श्रद्धालु भक्तजनको जलेश्वरमा मंगलवार भीड लागेको थियो ।
पुराणमा पुष्प वृष्टिको कुरा सुनेपनि प्रत्यक्ष भने मंगलवारै देखिएको मन्दिर परिसर पुगेका श्रद्धालुले बताए । अति प्राचीन भएर पनि प्रचारले छायाँमा पर्दै आएको श्री जलेश्वरनाथबारे चासो बढाउन पुष्प वृष्टि कार्यक्रमले सहयोग पुग्ने उनीहरूको विश्वास थियो । “श्री जलेश्वरनाथ पवित्र शिवधाम हो, तर यसको प्रचार राम्रो हुन नसकेर ओझेल पर्दै आएको छ” जलेश्वर–१ का बासिन्दा सुधीर साहले भन्नुभयो, “पुराणवर्णित विमानबाट पुष्प वृष्टिको मंगलवार सम्पन्न कार्यक्रमले यस ठाउँबारे चासो बढ्ने अपेक्षा छ ।” जलेश्वरनाथ अनादिकालमा भगवान् शिवले सपनामा दिनुभएको सङ्केतका आधारमा तीन सन्तले ठाउँ पत्ता लगाएका विश्वास गरिए पनि माटोमुनि गडेको शिवलिङ्ग निकाल्न नसकेपछि सन्तहरूकै आराधनाबाट प्रशन्न हुनुभएका शिव आफैं प्रकट भएको वर्णन पुराणमा छ ।

