२०७८ फाल्गुन २०, शुक्रबार ०६:५४
बारा जिल्लाबाट तीन लाख रुपियाँको नक्कली नोट सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–५ दिगम्बरपुरका १९ वर्षीय वीरेन्द्रकुमार महतो रहेको प्रहरीले जनाएको छ । लु ७८ प २३९७ नम्बरको मोटरसाइकलमा बाराको सिम्रौनगढ नगरपालिका–६ अम्मरपुरबाट नहर तर्फ जाने क्रममा सशस्त्र प्रहरीले उनलाई विहीबार दिउँसो नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको जनाइएको छ ।
महतोको साथबाट नेपाली एक हजार दरको ३ सय १ वटा नक्कली नोट र १५ सय २५ रुपैयाँ सक्कली समेत बरामद गरेको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख (डीआइजी) गणेश ठाडा मगरले जनाए । पक्राउ परेका युवक महतोलाई आवश्यक कानूनी कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइने डीआइजी मगरले बताए ।

