मधेश प्रदेश सरकारले जनयुद्धका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई पनि नगद सहित सम्मान गरेको छ ।
सप्तरीको राजविराजमा विहीबार मधेश प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मधेशी शहीद प्रतिष्ठानले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी प्रदेश सरकारको तर्फबाट जनयुद्धका १२ जना शहीद परिवारलाई एक– एक लाख नगद तथा दोसल्ला र कदरपत्रबाट सम्मान गरेका हुन् । शहीद परिवारलाई सम्मान गर्दै मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जनयुद्धका सहिद परिवारलाई पनि तीन–तीन लाख रुपैयाँ सहयोग गर्ने प्रदेश सरकारले निर्णय गरेको बताउँदै पहिलो चरणमा एक–एक लाख र दोश्रो चरणमा बाँकी रकम प्रदान गरिने जानकारी दिए । उनले भने,‘जनयुद्ध र मधेश आन्दोलनका शहीद तथा घाइते. परिवारलाई प्रदेश सरकारले जीविकोपार्जनकालागि आर्थिक सहयोगका साथै विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याइसकेको छ र भविष्यमा समेत प्रदेश सरकारको साधन स्रोतले भ्याए सम्म सहयोगलाई निरन्तरता दिन हामी प्रतिवद्ध छौं।’
शहीद परिवारले चुकाएको मूल्य तिर्न नसकिने भन्दै उनले पीडित परिवारको जीविकोपार्जनमा थोरै भए पनि सहजता हुने अभिप्रायले प्रदेश सरकारले यो कार्यक्रम ल्याएको उल्लेख गरे । एक शहीद परिवार, एक रोजगार कार्यक्रम अन्तर्गत शहीद परिवारलाई रोजगारीको अवसरका साथै प्रदेश सरकारबाट दिन सकिने थप सेवा सुविधा पनि दिन थालिएको जानकारी उनले दिए । मधेश सरकारले माघ ५ गते मधेश आन्दोलनको सम्झनामा बलिदानी दिवस मनाउँदै आएको छ । सो क्रममा गत माघ ५ गते ५८ जना शहीद परिवारलाई ३–३ लाखका दरले सहयोग प्रदान गरिएको थियो । यस पटकदेखि मधेश प्रदेश सरकारले जनयुद्ध दिवस समेत मनाउन थालेको छ । जनयुद्ध दिवस फागुन १ गते जनकपुरधाममा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको थियो । दिवसकै अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानकी सदस्य कविता ठाकुरले बताइन् ।
जनयुद्धको क्रममा मधेश प्रदेशबाट ५ सय ४२ जनाले ज्यान गुमाएको र क्रमिक रुपमा सबैले प्रदेश सरकारको उक्त सहयोग प्राप्त गर्ने प्रतिष्ठानका अर्का सदस्य सिल्पी साहले बताइन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका सप्तरी इन्चार्ज एवम् संविधानसभा सदस्य अशोककुमार मण्डल ‘अमर’, प्रदेश सभा सदस्य जगत यादव, प्रमिला यादव, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतो, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सभापति श्रवण देव लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

