२०७८ फाल्गुन २०, शुक्रबार ०७:३६

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संस्कृति र साहित्यको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

तेस्रो संस्करणको ‘नबिल बैंक जनकपुर साहित्य महोत्सव २०२२’ को बिहीबार जनकपुरधाममा उद्घाटन गर्दै मुख्यमन्त्री राउतले भाषा, संस्कृति र साहित्यको संरक्षण संवद्र्धन गर्नु सरकारको दायित्व भएकाले प्रदेश सरकार गम्भीर रहेको बताए । संस्कृति र साहित्यको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ’, मुख्यमन्त्री राउतले भने– ‘सबै भाषा, संस्कृति र साहित्यको संरक्षण संवद्र्धनका लागि हामी प्रतिबद्ध छौँं ।’ संस्कृति र साहित्यको संरक्षणका लागि हुने हरेक कार्यमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो । मिथिला फाउण्डेशन नेपालको आयोजनामा सुरु भएको महोत्सव फागुन २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ । मधेश र मधेशको संस्कार, संस्कृतिलाई देशभरि फैलाउने उद्देश्यले सुरु भएको महोत्सवको पहिलो दिन बिहीबार वरिष्ठ साहित्यकार खगेन्द्र सङ्ग्रौलाले ‘मधेश, साहित्य र म’ विषयमा एकल प्रस्तुति दिने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

साहित्य महोत्सवअन्तर्गत फागुन २० गते मधेश प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष तथा पत्रकार श्यामसुन्दर यादवले मधेशमा साहित्य लेखनसम्बन्धी प्रस्तुत गर्ने कार्यपत्रमाथि विश्लेषक रोशन जनकपुरिया, लेखक गोपाल अस्क र रेणु गुप्ताले टिप्पणी गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक प्रियङ्का झाले जानकारी दिए । यस्तै ‘समाजमा विभेद’, ‘मधेशमा उद्यमी र मधेशको उद्योग’ तथा ‘शिक्षा संस्कार’ विषयक कार्यपत्रमाथि विश्लेषक डा रामेश कोइराला, प्राध्यापक डा सुष्मा द्विवेदी, विश्लेषक तुलानारायण साह, पवन मण्डललगायतका विज्ञहरूले छलफल गर्ने कार्यक्रम तय भएको झाले बताए । त्यस्तै फागुन २१ गते ‘महिला र राजनीति’ विषयमा प्रदेशसभा सदस्य मञ्जु यादव, पत्रकार सलमा खातुन, एलिजा ढकाल, चमेलीदेवी दास तथा ‘कसको लोकतन्त्र कस्तो लोकतन्त्र’ विषयमा राजनीतिज्ञ सरिता गिरी, विश्लेषक सिके लाल र हरि शर्माले टिप्पणी गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News