तराई मधेसका गाउंघरमा झण्डा मेलाको रौनकता देखिन थालेको छ ।
मधेशका सबैजसो गाउंवस्तीमा झण्डा मेलाको आयोजना गरिएको छ । निजी तथा सामूहिक स्तरमा आयोजना गरिने यो मेला तराई मधेशमा छुट्टै पहिचान बनाएको संस्कृतिक उत्सवको रुपमा रहेको जानकारहरु बताउँछन् । बजरंगबली अर्थात हनुमानजीको प्रतिकको रुपमा बाँसद्वारा झण्डा निर्माण गरेर सामुदायिक रुपमा वैदिक विधि अनुसार यसको पुजा आराधना गरी सर्वसाधारणहरुको दर्शनका लागि स्थापना गर्ने गरिन्छ । यो मेला तीनदेखि ७ दिवसीय र सो भन्दा बढी दिनसम्मको लागि पनि आयोजना हुने गरेको छ । मेलाको भव्यता र मनोरञ्जनका लागि आयोजना हुने नाच, विभिन्न खाले खेल तमासाहरुका कारण गाउंघरमा मेलमिलाप र आपसी सद्भावको वातावरण बन्ने गरेको छ । यसका साथै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन पनि यसले धेरै सहयोग गरेको जानकारहरुको भनाइ छ । बजरंगबलीको झण्डा खण्ड– खण्डमा कलात्मक ढंगबाट विभिन्न रंगीचंगी कागज , फोंटो र विभिन्न प्रकारका आकर्षक आकृतिहरु टाँसेर आकर्षक बनाइएको हुन्छ । मेलामा पहलवानी (कुस्ती), ड्रामा,नाच, झरी खेल लगायतको पनि आयोजना गरिन्छ ।
यस्ता आयोजनाहरुले लोप हुन लागेको प्राचीन मिथिला सभ्यताको बारेमा नयाँ पुस्तालाई अनुभव र जानकारी हासिल गर्न ठूलो सहयोग पु¥याउने गरेको मलंगवा–२का स्थानीय नेता भोला साहले बताए । खास गरी प्राचीन मिथिला क्षेत्रमा महावीर झण्डोत्सवको रौनकता बढी देखिने गरेको छ । भक्ति, साहस र पराक्रमका लागि सम्झिने त्रेताकालीन रामभक्त हनुमानलाई मिथिलामा विघ्ननाशक, सङ्कटमोचन, महावीर र पवनदूतसहितका नामले स्मरण गरिन्छ । महावीरको नाममा झण्डोत्सव मेलाको आयोजना गरिंदा नगर,गाउं, वस्तीमा कुनै आपत्त विपत्त नआउने र परिवार तथा समाजमा सुख शान्ति छाउने तथा दुष्ट प्रवृतिको नाशहुने जनविश्वासले गर्दा नै मिथिला क्षेत्रमा यसको महत्व बढेको साहले बताए । विशेष गरेर मेलामा आयोजना हुने विविध खाले क्रियाकलापहरुले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाएको जानकारहरु बताउँछन् ।
झण्डा मेलाको आयोजना गर्न उतरायण माघे संक्रान्तिदेखि असार मसान्तसम्मको अवधिलाई उपयुक्त मानिन्छ । चैतपछि हावाहुरीको प्रकोप बढ्ने हुँदा माघ–फागुन मै बढी जसो महोत्सव आयोजना हुने गरेको छ । यस किसिमका मेलालाई आपसी भेटघाट र रमाइलो गर्न उपयुक्त अवसरको रुपमा लिइन्छ । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–२ स्थित पब्लिक मावि नजिक अहिले सो मेलाको आयोजना गरिएको छ । उक्त मेलामा दैनिक हजारौंको संख्यामा मलंगवा आसपासका साथै छिमेकी भारतका विभिन्न गाउंबाट मेला हेर्ने मानिसहरुको भीड लाग्ने गरेको छ ।

