२०७८ फाल्गुन २४, मंगलवार ०७:३२

पर्साको सखुवा प्रसौनी गाउंपालिकाका अध्यक्ष र उपाध्यक्ष बीच कुटाकुट भएको छ । गापा अध्यक्ष प्रदीप जयसवाल र उपाध्यक्ष फलुमति देवी चौधरीबीच सोमबार विवाद बढ्दै जाँदा कुटाकुट भएको हो ।

विकास निर्माण र गाउंपालिकाको ८ औं गाउंसभाबारे जानकारी माग्दा अध्यक्षसहित वडाअध्यक्ष सहितकाले कुटाकुटमा उत्रेको आरोप उपाध्यक्ष चौधरीले लगाइन् । अध्यक्ष जैसवालले भने सामान्य वादविवाद हुँदा उपाध्यक्षले नै आफूमाथि पानीको बोतलले प्रहार गरी दुव्र्यवहार गरेको बताए । सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजन गरी उपाध्यक्षले दुव्र्यवहार गरेको उनले प्रष्ट पारे । यसअघि उपाध्यक्ष चौधरीले अध्यक्षसहितको समूहले आफूलाई आइतबार कुटपिट र दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् । कुटपिटले चौधरीलाई चोटपटक लागेको र जिउमा डाम समेत बसेको बताइएको छ । अध्यक्षका अनुसार आइतबार करिब साढे ३ बजे गाउंपालिका कार्यालयको आफ्नो कार्यकक्षमा पुग्दा उपाध्यक्ष लगायत ५ जना वडाध्यक्ष बसिरहेका थिए । ‘अन्य विषयमा कुराकानी सुरु हुँदा उपाध्यक्षले ८ औं गाउँसभाबारे मलाई जानकारी नगराई किन मनोमानी गरेको भन्दै आक्रोशित हुँदै मसंग अभद्र व्यवहार गरेकोले मैले गाउँपालिका अध्यक्षसँग बोल्न तपाईलाई तमिज नभएकाले नम्र भएर कुरा गर्नुस् मात्रै भनेको बताए । यदि समस्या छ भने सम्बन्धित निकायमा मुद्दा गर्नुस्, यति भनेपछि उनले तंैले मलाई बोल्न सिकाउने भन्दै टेबुलमा रहेको बोतल उठाएर ममाथि फालेकि थिइन् ।

अध्यक्ष जयसवालका अनुसार पहिले पनि अन्य विषयमा उनको रिसाउने बानी रहेकोले आइतबार पानीको बोतल उठाएपछि उनले मजाक गरेको जस्तो लिएको बताउंदै उनले भने,‘ बोत्तलले हिर्काए पनि म आफ्नो कुर्सीमै बसिरहेको थिएँ, तर त्यसपछि झन् अभद्र व्यवहार गरिन् ।’ गाउँपालिकाका अन्य कर्मचारीहरूका अनुसार उपाध्यक्षले अध्यक्षलाई चप्पलले समेत हिर्काएकी थिइन् । जुन सीसीटीभी क्यामेरामा कैद भएको कर्मचारीहरुको भनाइ छ । दुव्र्यवहार गरे पछि उपाध्यक्षका भाइ र वडा ५ का अध्यक्षले उनको हात समाएर कार्यकक्ष बाहिर निकालेको अध्यक्षले बताए । अध्यक्ष जयसवालले घटनालाई पनि मैले सामान्य विवादको रुपमा लिएको भए पनि उपाध्यक्ष आइतबार राती नारायणी अस्पतालमा भर्ना भइ केही सञ्चार माध्यममा अध्यक्षले कुटपिट गरेको आरोप लगाइएको समाचार आए पछि आफू घटना सार्वजनिक गर्न बाध्य बनेको बताए । कार्यकक्षमा सीसीटीभी जडान भएको कुरा उपाध्यक्षले याद गरेको भए यस्तो गलत आरोप नलगाउने अध्यक्ष जयसवालले बताए । उपाध्यक्ष चौधरीले अध्यक्षले अपशब्द प्रयोग गरेपछि आफू बाध्य भएर चप्पल उठाउनु परेको दाबी गरेकी छिन् । उपाध्यक्ष चौधरीले चप्पल हिर्काएको सीसीटीभीमा कैद भएको स्वीकार गर्दै अध्यक्षले प्रयोग गरेको अपशब्द भाषा र गाली कैद नभएको बताइन ।

‘कुटपिटले मेरो शरीरमा डाम बसेको छ,’ उनले भनिन्, ‘छाती र पिठ्युँमा चोट लागेको छ । कारवाहीको लागि प्रहरी प्रशासनमा जाहेरी दिन्छु ।’ उता अध्यक्ष जयसवालले समेत उपाध्यक्ष विरुद्ध उजुरी दिने बताएका छन् । अध्यक्ष र उपाध्यक्षको झगडाले सोमबार दिनभरि गाउंपालिका बन्द रहेको स्थानीयवासीहरुले बताएका छन् ।

 

Comment


Related News