२०७८ फाल्गुन २४, मंगलवार ०७:३५

नागरिकता पाउनु पर्ने भन्दै मागसहित आन्दोलनको क्रममा पक्राउ परेका २५ जना नागरिकताविहीनहरुलाई रिहा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी जितेन्द्र बस्नेतका अनुसार ढल्केबरमा पूर्व पश्चिम लोकमार्ग अवरुद्ध गर्ने २५ जनालाई पक्राउ गरिएकोमा सोमबार नै रिहा गरिएको छ । ढल्केबर स्थित पूर्व–पश्चिम लोकमार्गमा नागरिकताविहीन समूहले नागरिकता विधेयक अविलम्ब पारित गर्नु पर्ने माग गर्दै आइतबारदेखि लोकमार्ग केन्द्रित आन्दोलन गर्दे आएको छ । लोकमार्ग अवरुद्ध गर्ने प्रयास गरेपछि इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटेको प्रहरी टोलीले नागरिकता विहीन संघर्ष समिति नेपालका केन्द्रीय संयोजक जित साफी सहित २५ जनालाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले शान्तिपूर्ण विरोध प्रदर्शनको नाउमा चक्का जाम गर्ने प्रयास गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको थियो। प्रदर्शनकारीले ढल्केवर पूर्वपश्चिम लोकमार्गमा धर्ना दिँदै केही बेर राजमार्ग सडक अवरुद्ध समेत पारेका थिए ।

‘संविधानको धारा लागू गर, नागरिकता विधेयक पारित गर, गैर नागरिक बनाउन पाइँदैन, पहिचान खोस्न पाइँदैन, जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनु पर्ने सहितका नारा लेखिएको प्लेकार्डसहित प्रदर्शनकारीहरुले प्रदर्शन गरेका थिए । संघर्ष समितिले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनु पर्ने र आमाको नामबाटसमेत नागरिकता दिनु पर्ने मागसहित दवावमूलक सातदिने आन्दोलनको कार्यक्रम निर्धारण गरेको छ । नागरिकताको माग गर्दै पटक–पटक तीनै तहको सरकारलाई ज्ञापनपत्र बुझाए पनि कुनै सुनवाई नभएका कारण बाध्य भइ सडकमा उत्रिनु परेको समितिका मिथिला नगरपालिका अध्यक्ष कर्मवीरले बताए । माग पूरा नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत समितिले दिइएको छ ।

 

Comment


Related News