२०७८ फाल्गुन २४, मंगलवार ०७:४६

राजनीतिक क्षेत्रमा महिलाहरुको सहभागिता अझै पनि न्यून रहेको गुनासो एक कार्यक्रमका वक्ताहरुले गरेका छन् ।

१ सय १२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जनकपुरधाममा सोमबार आयोजित राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता सम्बन्धी प्रदेश स्तरीय राजनीतिक दलहरु संगको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सो गुनासो गरेका हुन् । कार्यक्रममा वक्ताहरुले हरेक निकाय तथा क्षेत्रमा महिलाहरुको ३३ प्रतिशत सहभागिता हुनु पर्ने संविधानमै उल्लेख भए पनि सो अनुसार अझै पनि महिला सहभागिता हुन नसकेको गुनासो पोखे । विगतको तुलनामा अहिले विभिन्न निकायमा महिलाहरु पदासीन भए पनि उनीहरुको निर्णयमा खासै महत्वका साथ नहेर्ने प्रवृतिले गर्दा महिलाहरु अझै पनि विभेदको शिकार बनेको वक्ताहरुको कथन थियो । अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा माण्डवी संस्थाको आयोजनामा भएको सो कार्यक्रममा बोल्दै मधेश प्रदेशका साँसद परमेश्वर साहले प्रदेश सरकारले महिलाहरुको लागि हरेक क्षेत्रमा ५० प्रतिशत आरक्षणको व्यवस्थाको लागि कानून समेत निर्माण गरिसकेको बताए ।

कानून बने पनि सोको कार्यान्वयनमा भने ढिला सुस्ती देखिए पनि विस्तारै यो अवस्थामा परिवर्तन हुने विश्वास उनले व्यक्त गरे । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस महोत्तरीका नेतृ अनीता शर्माले महिलाहरुलाई सहभागिता गराइए पनि महिलाले उठाउने विषयले अझै पनि महत्व नदिने प्रवृतिले पुरुष प्रधान समाजमा विभेद व्याप्त रहेकोले महिलाहरुले पाएको अधिकार पनि महत्वहीन बनेको बताइन् । कार्यक्रममा प्रदेशका आठ वटै जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो क्रममा विभिन्न चार वटा समूह बनाइ महिला सहभागिताबारे छलफल गराइएको थियो ।

 

Comment


Related News