नेपाली काँग्रेस धनुषाको निर्वाचन नयाँ मोड लिएको छ ।
पहिलो चरणको मतदानमा सभापति पदमा सबभन्दा कम मत प्राप्त गरेको दिनेश प्रसैलाले सबभन्दा बढी मत ल्याएर योगेन्द्र पजियारलाई समर्थन गरेका हुन् । जनकपुरस्थित विमलेन्द्र निधीको निवासमा पत्रकार सम्मेलन गरी प्रसैलाले पजियारलाई समर्थन गरेको घोषणा गरे ।
प्रसैलाले पजियारलाई समर्थन गरेपछि संस्थापन अर्थात पार्टी सभापति शेरबहादुर देउवा गुटका उम्मेदवार सन्तोष यादव संकटमा परेका छन् । यादवले पनि प्रसैलाको समर्थनका लागि पहल गरेका थिए । तर अन्ततः प्रसैला पजियारलाई समर्थन गरे ।
प्रसैला शेखर कोइराला समूहबाट सभापतिका उम्मेदवार बनेका थिए । उनले समर्थन गरेका पजियार विमलेन्द्र निधी समूहका उम्मेदवार हुन् । पजियार क्षिरेश्वरनाथ नगरपालिकाका मेयर पनि रहेका छन् ।
पहिलो चरणमा पजियारले सर्वाधिक १ हजार २४८, यादव ८८३ र प्रसैला ६६३ मत ल्याएका थिए । कुल मतदाता ३ हजार ५० रहेका छन् । जसमध्ये २ हजार ९१२ मत खसेको थियो । खसेको मतमध्ये १५१ मत बदर भएको थियो ।
दोस्रो चरणको निर्वाचन बिहीवार विहान ८ बजेदेखि हुने निर्वाचन समितिले जनाएको छ । प्रसैलाले समर्थन गरेपछि पजियारको जित सुनिश्चित रहेको उनका पक्षका नेताहरुको दावी छ ।
https://www.youtube.com/watch?v=tWGZ5Tgq468&t=5s

