अपडेट 
२०७८ फाल्गुन २६, बिहीबार ०७:००

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नामक यो अनुदान नेपालमा एकै साथ निकै धेरै प्रश्न उब्जाएको देखिन्छ । अनुदानको रकम हामी लिने कि नलिने भने कुराले नेपालमा निकै चर्चा भयो । यो अनुदान अन्य अनुदानभन्दा भिन्नै किसिमको थियो । विश्वका अधिकांश देशले नेपाललाई दिने अनुदानमा यस्ता शर्त राखेका थिएनन् । यसले राजनैतिक बृतमा समेत सडक देखि सदनसम्म हल्लाएको देखियो । यसै अनुदान रकम कै कारण गठबन्धनको सरकार समेत फुट्ने कगारमा आइसकेको थियो । यस बारे पार्टीहरू भित्र तथा बाहिर निकै बहस चलेका थिए । यी सबै पार्टीहरू घनीभूत रूपले छलफल गर्न थाले । यस एमसीसी कै कारणले नेपालका पार्टीहरू तीन चिरामा विभक्त भए । पहिलो पंक्तिमा उमिएका पार्टीहरूमा नेपाली काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी तथा जनता समाजवादी पार्टीका बाबुराम भट्टराइ समूह हुबहु समर्थनमा उभिए भने नेत्रबिक्रम चन्द ‘ विप्लव’ को नेकपा लगायत छव कम्युनिष्ट घटक तथा दुई मोर्चाले धुँवाधार विरोधमा उत्रिए । यिनीहरूका भनाइ अनुसार कुनै हालतमा पनि एमसीसी नेपाली संसदबाट पास हुनुहुँदैन वरु यसलाई जस्ताको तस्तै फिर्ता गरेर नेपाललाई अमेरिकाको हस्तक्षेपबाट जोगाइ राख्नु पर्दछ । अर्कोतिर तेस्रो समूहमा पर्ने पार्टीहरूमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) तथा जनता समाजवादी पार्टीका उपेन्द्र समूहले यसलाई संशोधन गरेर मात्र पास गराउने पक्षमा उभिए । यस एमसीसी समस्यामा यिनीहरू पूर्णरूपेण मध्यमार्गी वाटो अपनाए । यिनीहरूका अडानलाई हेर्ने हो भने एमसीसी बिना संशोधन सदनमा लग्नु हुँदैन, लगे पनि संशोधन बिना पास गर्नु हुँदैन । नेकपा (एमाले) यस बारे कुनै ठोस निर्णय लिन सकेन । पर्ख र हेरको अवस्थामा रही रहयो । जुन दिनदेखि देउवाको सरकार बनेको छ त्यहि दिनदेखि सदनलाई अवरोध गरेर सही रूपमा चल्न दिइ रहेको छैन । यसबाट के देखिन्छ भने यी पार्टीहरूका चरित्र अहिले पनि लोकतान्त्रिक चरित्रमा परिणत भएको देखिँदैन । एमसीसीले नेपालका पार्टीहरूका बीचमा मात्र हलचल मचाएन वरु छिमेकी देश चीनलाई समेत बोल्न बाध्य पारे ।

प्रत्येक देशको आफ्नो राष्ट्रिय स्वार्थ हुन्छ । कसैले पनि आफ्नो अनुदान सितैमा बाँडेको हुँदैन । यसको बदलामा उसले आफ्नो देशको हीतमा धेरै कुराहरू सोचेको हुन्छ । एमसीसी सम्बन्धमा पार्टीहरूका भूमिकामा प्रश्न चिन्ह खडा हुँदै आए । नेपाली काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टीका भट्टराई समूह जस्ता पार्टीहरू अमेरिकाको एमसीसी प्रस्तावलाई जस्ताको तस्तै पास गर्नुपर्छ भने दलील दिन थाले । यसमा कुनै किसिमको सैनिक रणनीतिको कुरा उल्लेख रहेको देखिँदैन । बर्तमान प्रधानमन्त्री यसलाई पास गराउन सम्पूर्ण बलबूता लगाउन थाले । त्यति मात्र कहाँ हो र ? विपक्षी नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीको घरमा समेत पुगेर आहार गुहार गर्नसम्म चुकेनन् । तर ओलीको सर्तै सर्तको सामुने लाचार देखिन्थे । यता गठबन्धनका अन्य पार्टीहरू अवतरन गर्न सजिलो बाटो खोज्दै थिए । पार्टी भित्रै विभिन्न सल्लाहकारहरूसँग यस बारे सल्लाह मसविरामा लीन देखिन्थे । कानूनविद्हरू सँग छलफलमा लागेका थिए । यिनीहरूको भित्री इच्छा के थियो भने अहिले गठबन्धनको सरकार टुट्नु हुँदैन । केही दिनसम्म अझ यही सरकारले काम गर्ने मौका पाउनु पर्छ । अन्तोगत्वा प्रचण्ड र माधवजीहरूले एमसीसीलाई व्याख्यात्मक संशोधन गरेर मात्र संसदबाट पारित गराउनु पर्छ । यस प्रस्तावमा गठबन्धनका जनमोर्चा बाहेक सबै पार्टीहरू सहमत भएर एमसीसी संसदबाट पास भयो । सडक आन्दोलनबाट एकीकृत समाजवादी र माओवादी केन्द्रका कार्यकर्ताहरू आ–आफ्ना घर फर्किए । तर सडक आन्दोलनलाई चन्द समूह लगाएत केही नेकपा तथा मोर्चाका कार्यकर्ताहरू दिन दिनै नाराबाजी गर्न छाडेनन् तर यिनीहरूका आन्दोलन कार्यकर्ताका अभावमा दिन प्रतिदिन कमजोड हुँदै आएका छन् । अन्तमा केही उग्रबामपन्थी पार्टीहरू बम आतंकतिर पनि लागेका देखिए । यसको विरोधमा नेपाल बन्दको आह्वान समेत गरेका थिए । तर जनमत त्यतातिर गएको देखिएन । फलस्वरूप हाल शान्त भएको देखिए पनि यसलाई उनीहरू निरन्तर रूपमा विरोध गरिरहेका छन् । उनीहरू १ पुष जस्तै १५ फागुनलाई पनि कालो दिवसका रूपमा आगामी दिनमा मनाउने निर्णय समेत गरेका छन् ।

नेपालमा स्रोत साधन माथि हस्तक्षेप गर्ने रणनीति अनुसार अमेरिकाले अनुदानको रूपमा पैसा दिएको उनको आरोप छ । उनीहरू प्रचण्ड, माधव तथा बाबुराम भट्टराइका नामै लिएर उनीहरूमाथि खनिएको देखिन्छ । एमसीसीले आन्तरिक राजनीतिमा मात्र होइन बाह्य राजनितिमा समेत ठाउँ लिएको देखियो । चीन तथा अमेरिका जस्ता शक्तिशाली राष्ट्रहरू आमने सामने आएर नेपालको बारेमा बोल्न थाले । यसको पछाडि दुबै देश आ–आफ्ना स्वार्थलाई नेपालसम्म पु¥याउन व्यस्त देखिन्थे । चीनले भारतलाई तथा अमेरिकाले चीनलाई तर्साउने कुराको शंका उपशंकाले बढी सचेत भएको देखियो । जो पार्टी चीनको विचारधारासँग अति नजिक छ तिनीहरू खुलेरै अमेरिकाको विरोधमा उत्रिए । उनीहरूका भनाइ अनुसार कुनै हालतमा पनि एमसीसी नेपालको संसदबाट पारित हुनुहुँदैन । यसलाई जसरी पनि फेल गरेर फिर्ता पठाइ दिनु पर्दछ । जो अमेरिकी विचारधार ासँग नजिक छन् तिनीहरू जसरी पनि जस्ताको तस्तै पास गराउनु पर्दछ । चीनले नेपालमा गर्ने चलखेललाई पूर्णरुपेण निषेध गर्न खोजेको देखियो । यतातिर प्रमुख वामपंथी पार्टीहरू मध्यमार्गी वाटोको खोजमा लागे । खासगरी नेकपा (माके) र नेकपा (एस) का अडान के थियो भने बिना संशोधन पास गर्नु हुँदैन । उहाँहरूका बुझाइमा केही यस्ता बुँदा थिए जो नेपालका सार्वमौम शक्तिलाई पनि चुनौती दिन खोजेका थिए । अन्तोगत्वा यी मध्यमार्गी पार्टीहरू व्याख्यात्मक संशोधनका पक्षमा उभिए र यसलाई सर्वसम्मतिले पारित गराउन सफल पनि भए । यस एमसीसीको कारणले केही राजनैतिक पार्टीलाई नैतिकताको कटघेरामा उभ्याइ छाडेको देखिन्छ । रातमा गठबन्धन गरेर भोली निद्रा टुटेपछि गठबन्धन भत्की सकेको हुन्छ । आजको गठबन्धन ओलीका प्रतिगमनलाई रोक्नका लागि बनेको थियो । अहिलेसम्म ओली प्रतिगमन कै स्थानमा उभिएर राष्ट्र र संविधानसँग फोहरी खेल खेल्न पछि परेका छैनन् । प्रतिनिधि सभामा दिनदिनै नाराबाजी गर्दै प्रतिनिधि सभालाई नियमित चल्न दिइ रहेका छैनन् ।

निर्वाचनसम्मको कुरा गरेर जब गठबन्धनका घटकहरूले निर्वाचनसम्म नगइ बिचैमा तोडनु हुँदैन । स्थानीय निर्वाचनको घोषणा भैसकेको भएपनि निर्वाचन बारे विभिन्न किसिमका टिका टिप्पणी गर्न पछाडि परेको देखिँदैन । यति हुँदा हुँदै पनि गठबन्धन तोडेर यी पार्टीहरू जनताको सामुन्ने कबुल गरेका बाचालाई बिर्सेर के गर्न खोजेका छन् यी सबैको मूल्यांकन निकट भविष्यमा आउने स्थानीय निर्वाचनले देखाउने नै छ । नेपाल परापूर्वकालदेखि नै एउटा स्वतन्त्र मुलुकको रूपमा कायम छ । एक समय अंग्रेजले भारतलाई आफ् नो अधीनमा लिए पनि नेपाललाई लिन सकेन । अहिले विश्व दुई ध्रुवमा विभक्त हुनलागेका बेला नेपाललाई कुनै गुटमा सामेल नगरी असंलग्न परराष्ट्रनीतिको मान्यतालाई जीवन्त राखेर अगाडि बढ्नु पर्ने देखिन्छ । खास गरी यस्तै बेलामा एउटा मध्यमार्गीको भूमिका कसरी खेल्ने सबैले हेक्का राख्नु पर्ने कुरा देखिन्छ । मलाई लाग्छ यदि प्रचण्ड र माधवले एमसीसीको बारेमा मध्यमार्गी वाटो नअपनाएको भए पक्कै नेपाल एउटा गुटमा संलग्न हुन्थ्यो होला । एमसीसीलाई जस्ताको तस्तै पास गर्दा चीन चिढिने थियो भने यसलाई फिर्ता पठाउँदा अमेरिका चिढिने थियो । हाम्रो लागि दुबै देशले समान महत्व राख्छन् । दुबै देश हाम्रा असल मित्र हुन् । यस्ता मित्रहरूबाट कसरी बढी भन्दा बढी सहयोग लिन सकिन्छ भने विचार गरेर नै अगाडि बढ्नु राष्ट्रहीतमा हुने देखिन्छ । अहिले भर्खर यूक्रेन र रसिया बीचको युद्धमा नेपालले खेलेको भूमिका प्रशंसा योग्य रहेको देखिन्छ । नेपालको परराष्ट्र नीति अनुसार कुनै देश माथि कसैले आक्रमण गर्दछ भने संयुक्त राष्ट्र सुरक्षा परिषदको उद्देश्य अनुसार त्यसलाई सबै राष्ट्रले विरोध गर्नु पर्ने हुन्छ ।

संयुक्त राष्ट्र मानवाधिकार आयोग अनुसार रसियाले मानवाधिकारका नियम कानूनलाई धज्जी उडाएको देखिन्छ । यसैलाई मनन गरी नेपालले युद्ध विरूद्धको पक्षमा आफ्नो मत जाहेर गरेर विश्वमा नेपालको असंलग्नतालाई बलियो पारेको देखिन्छ । हुनत यस युद्धमा चीन र भारत रसियाका पक्षमा रहेका देखिए । रूस र चीनलाई राष्ट्र संघको साधारण सभामा भीटोको अधिकार रहेका कारणले यी दुबै देश भीटो समेत प्रयोग गरेका थिए । यस युद्धबाट अमेरिकालाई एक प्रकारको चेतावनी हो भने अर्कोतिर रूस, चीन र भारतलाई नजिक आउन मद्दत गरेको देखिन्छ । पूर्वी दक्षिणी एसियालाई सुरक्षित तथा शान्त राख्न यी दुबै विशाल देश चीन र भारतलाई एकै ठाउँमा आउनु नितान्त आवश्यक छ । यसबाट अमेरिकाको एक्लो ध्रुवीय हैकमलाई एउटा ठूलै धक्का लागेको देखिन्छ । उता इयू तथा नाटोलाई नियन्त्रणमा रहन निर्देश दिएको छ । विश्वका साना देशहरू माथि ठूला देशहरूले गर्दै गरेको थिचोमिचोलाई नियन्त्रणको सीमा भित्र नराखुन्जेलसम्म विश्वशान्तिको कल्पना गर्नु सपना सरह मात्र हुने देखिन्छ । सोभित संघको पतन पश्चात एउटै ध्रुवमा रहेका विश्व पुनः दुई ध्रुवमा विभक्त भएको छ । एउटा ध्रुवलाई नेतृत्व गर्ने अमेरिका लगायत नाटो र इयू सँग संलग्न देशहरू रहेका छन् भने अर्कोसँग चीन, रसिया, भारत, सउदी अरेविया, उत्तरी कोरिया जस्ता देशहरू अर्को ध्रुवमा उभिएका छन् । नेपालले दुबै छिमेकी राष्ट्रसँगको कुटनीतिक सम्बन्धलाई कायम गर्दै विश्वमा एउटा सार्वभौम देशको रूपमा कस्तो भूमिका खेल्न सकिन्छ भने एउटा जटिल प्रश्न खडा भएको देखिन्छ । एमसीसीले नेपालको परराष्ट्र नीति तथा असंलग्नतालाई क्षति पु¥याउन खोजे पनि यहाँका मध्यमार्गी बामपन्थी नेताहरूका सोचले यसलाई रोक्न सफल भएका छन् । यसबारे अब बढी टिका टिप्पणी गर्नु भनेको अनावश्यक रूपले राष्ट्रलाई संकटतिर धकेल्ने प्रयास गर्नु हो । सबै पार्टीहरू मिलेर यसको प्रयोगमा बढी भन्दा बढी ध्यान केन्द्रीत गर्नु नितान्त आवश्यक देखिन्छ । अस्तु ।

Comment


Related News

Latest News

Trending News