मिथिला मध्यमा परिक्रमाका यात्रीहरुले विहीबार कञ्चन वनमा होरी महोत्सव मनाउने भएका छन् ।
परिक्रमाका यात्री ध्रुबकुण्डबाट कञ्चन वनमा आएपछि होरी महोत्सव मनाउने परम्परा रहिआएको छ । त्रेतायुगमा भगवान राम र माता सीताले कञ्चन वन पुगेरै होली मनाएको सन्दर्भमा प्रत्येक वर्ष परिक्रमाको सातौं दिन होली मनाउने गरिएको छ । आजैको दिन देखि होलीको सुरुवात भएको समेत मानिन्छ । बुधबार ध्रुबकुण्डमा मिथिला बिहारीको डोला तथा किशोरीजीको डोला सहित परिक्रमाका सहभागी यात्रीहरुलाई ध्रुवकुण्डमा स्थानीयवासीहरुले भव्य स्वागत गरेका छन् । यस अघि यात्रीहरु मंगलबार महोत्तरीको मडै मा विश्राम गरेका थिए । गत बुधबार धनुषाको कचुरीको मिथिलाबिहारी मठबाट मिथिलाबिहारी तथा जनकपुरको अग्निकुण्डबाट किशोरीजीको डोलाको नेतृत्वमा सुरु भएको मिथिला मध्यमा परिक्रमाका यात्रुहरु हनुमान नगर, भारतको कल्याणेश्वर, फूलहर, गिरिजा स्थान हुदैँ शनिबार महोत्तरीको मटिहानी, जलेश्वर, मडै हुँदै बुधबार ध्रुबकुण्ड पुगेका थिए ।
विहीबार कञ्चनवनमा विशेष होली महोत्सव मनाउंदै विश्राम गरेर शुक्रबार धनुषाको पर्वता ,धनुषाधाम, सतोषर, औरहीमा राति विश्राम गरी पुनः भारतको विशौल, करुणा हुँदै पूर्णिमाको पूर्व सन्ध्यामा जनकपुरधाम आइपुगेर भोलिपल्ट अन्तरगृह परिक्रमा गरेपछि परिक्रमा विधिवत् रुपमा सम्पन्न हुनेछ । मिथिला परिक्रमामा सहभागीहरुले नेपालको १ सय ७ किलोमिटर र भारतको २६ किलोमिटर गरी १ सय ३३ किलोमिटर लामो बाटो तय गर्दै नेपालमा १० तथा भारतमा पाँच गरी १५ ठाउँमा रात्रीवास गरी बिहानै यात्रा प्रारम्भ गर्ने चलन रहेको छ । परिक्रमा यात्रामा नेपाल भारतका विभिन्न स्थानका हजारौं भक्तजनहरु घरबाटै भोजन र आवासको व्यवस्था सहित सहभागी हुने गरेका छन् । विभिन्न विश्रामस्थलमा परिक्रमा विश्राम गर्ने दिन स्थानीय मेलाको आयोजना हुने गरेको छ । मिथिला परिक्रमामा सहभागी भए मोक्षको प्राप्ति हुने जनविश्वास रहेको छ ।
https://www.youtube.com/watch?v=tWGZ5Tgq468&t=6s

