अपडेट 
२०७८ फाल्गुन २७, शुक्रबार ०७:४१

मिथिलाको मध्यमा परिक्रमाको नामले चिनिने मिथिला परिक्रमा सम्भवत विश्वमा सबै भन्दा लामो समय सम्म चल्ने धार्मिक यात्रा मध्येको एक धार्मिक यात्रा हो । मिथिलाको राजधानी एवं धार्मिक र सांस्कृतकि भूमी लगायत विभिन्न नामले समेत परिचित रहेको ७२ कुण्ड र ५२ कुट्टीको शहर जनकपुरधामको वरिपरी पैदल यात्रा गरी परिक्रमा यात्रा सम्पन्न गर्ने गरिन्छ । यो यात्रा नेपाल र भारत को संयूक्त यात्रा रहेको छ । यस यात्रामा जम्मा १३३ किलोमिटर दुरी पैदल तय गरिन्छ । जसमा १०७ कि.मी. नेपाल तर्फ र २६ कि.मी. भारत तर्फ पर्दछ । ऐतिहासिक , पौराणिक एवं धार्मिक यात्राको रुपमा परिचित मध्यमा परिक्रमा चौरासी कोषिय परिक्रमाको नामले समेत परिचित रहेको छ । परिक्रमालाइ मिथिलाको माहा—कुम्भ को रुपमा समेत लिने गरिन्छ । प्रत्येक बर्ष भगवान राम र सिताको सम्झनामा परिक्रमा यात्रा गर्ने चलन मिथिलामा रहेको छ । जानकारहरुको अनुसार ३०० बर्ष अगाडी अर्थात १८ औँ शताब्दीदेखि यो धार्मिक यात्रालाई मध्यमा परिक्रमाको रुपमा मनाउदै आएको हो । बृहत, मध्यमा र अन्तरगृह गरी तिन प्रकारको परिक्रमा गर्ने चलन रहेको छ । यस लेखमा बृहत परिक्रमाको बारेमा उल्लेख नगरिए पनि चलनमा रहेको मध्यमा परिक्रमाको विषयमा उल्लेख गरिएकोछ । परिक्रमामा नेपाल भारत दुबै तर्फका साधु सन्त र गृहस्थहरुको उल्लेख्य सहभागिता रहने गर्छन । परिक्रमालाई नेपाल भारतको सदभावपूर्ण धार्मिक यात्राको रुपमा समेत हेर्ने गरिन्छ । फाल्गुण औंसी मा हनुमाननगरमा विश्रामगरि प्रारम्भ भई फाल्गुण पुर्णिमामा जनकपुर अन्तरगृह परिक्रमा घुमी मध्यमा परिक्रमाको समापन हुने गर्छ । परिक्रमा अवधीमा १५ धार्मिक स्थलमा विश्राम गर्दै १५ दिन सम्म पैदल यात्रा गर्ने गर्दछन । १५ विश्राम स्थल मध्ये ११ नेपाल र ४ भारतमा रहेका छन् । सबै विश्राम स्थल विशेष धार्मिक महत्व बोकेको स्थलहरु रहेका छन् ।

यी स्थलहरुको महत्व रामसिता विबाहसँगै राजा जनकसँग विशेष सम्बन्ध रहेको मान्यता रहेको छ । यी स्थलहरुमा रामसिता विबाहको विभिन्न विधि सम्पन्न गरिएको मान्यता रहेको छ । यी स्थलहरु पौराणिक राज्य मिथिलाको राजधानी जनकपुरको सिमाना रहेको साथै राजा जनकले भगवान शिवको पुजा गर्ने स्थलहरु समेत रहेको मान्यता रहेको छ । जनकपुरबाट ३ कि.मी.को दुरीमा रहेको ठेरा कचुरी स्थित मिथिलाबिहारी मठबाट मिथिलाबिहारी तथा जनकपुरको अग्नीकुण्डबाट किशोरीजी को डोलाको नेतृत्वमा विभिन्न झाकी र किर्तन टोलि सहीत परिक्रमा यात्रा प्रराम्भ हुने चलन रहेको छ । परिक्रमामा विभिन्न डोलाहरुको समेत सहभागिता रहने गर्छ । परिक्रमा अवधीभर सहभागीहरुले भजन किर्तन सहीत विभिन्न झाँकीमा सहभागी हुने र रमाउने गर्छन। पहिलो दिनको विश्राम स्थल जनकपुरको हनुमाननगर रहेको मिथिला परिक्रमाको दोस्रो दिनको विश्राम स्थल भारतको कलानेश्वर रहेको छ । कलानेश्वरमा शिव मन्दिर रहेको र यहा राजा जनक पुजा गर्न जान्थे भन्ने लोकमान्यता छ । तेस्रो दिनको विश्राम स्थल भारतकै फुलहरको गिरिजास्थान रहेको छ । गिरिजास्थानमै राम र सिताको पहिलो भेट भएको जनविश्वाश गरिन्छ । यहा सिता फुल टिप्न आउने गर्थिन । दोस्रो र तेस्रो दिनको भारत विश्रामपछि परिक्रमा यात्रा नेपालको महोत्तरी प्रवेश गर्छ । चौथो दिनको विश्राम स्थल महोत्तरीको मटिहानी रहेको छ । मटिहानीमा सिताको मटकोर भएको थियो । मटकोर मिथिलामा विबाहपूर्व गरिने एक बिधी (कुल पुजा) हो । पाँचौ दिनको विश्राम स्थल महोत्तरीको जलेश्वर रहेको छ । जलेश्वर महोत्तरी जिल्लाको सदरमुकाम हो ।यहाँ बहु चर्चित जलेश्वरनाथको मन्दिर रहेको छ । छैठौ दिनको विश्राम स्थल महोत्तरीको मडई रहेको छ । मडईमा राम र सिताको विबाह उत्सव भएको मान्यता रहेको छ । सातौ र आठौ दिनको विश्राम स्थल पनि क्रमशः महोत्तरीकै ध्रुवकुण्ड र कंचनवन रहेको छ । कंचनवनमा राम र सिताले होली खेलेको विश्वास रहेको छ । परिक्रमा यात्राको क्रममा सहभागीहरुले कंचनवन पुगी होली खेलेसँगै मिथिलामा रंगअबिर र उत्सवको पर्व होली शुरु भएको मानिन्छ । चौथो देखि आठौ दिन सम्मको लगातार ५ दिनको महोत्तरी विश्रामपछि परिक्रमा यात्रा नेपालको धनुषा जिल्ला प्रबेश गर्छ । नबौ दिनको विश्राम स्थल धनुषाको पर्वता रहेको छ ।

क्षीरेश्वरनाथको दर्शन गर्दै परिक्रमा यात्रीहरु रातिको बास बस्न पर्वता पुग्ने गर्दछन । दशौ दिनको विश्राम स्थल धनुषाको धनुषाधाम रहेको छ । सिता स्वंबरको क्रममा रामले भाँचेको धनुषको अवशेष धनुषाधाममा रहेको छ । एघारौ दिनको विश्राम स्थल धनुषाको सतोषर रहेको छ । यहा सतोश्वर महादेवको मन्दिर रहेको छ । बाह्रौ दिनको विश्राम स्थल धनुषाकै औरही रहेको छ । नबौ दिन देखि बाह्रौ दिन सम्मको धनुषा विश्रामपछि पुनः परिक्रमा यात्रा भारत प्रबेश गर्छ । तेह्रौ दिनको विश्राम स्थल भारतको करुणा रहेको छ । करुणामा राजा जनक करुणा महासागरमा डुबेको मान्यता रहेको छ । चौधौ दिनको विश्राम स्थल बिसौल रहेको छ । बिसौलमा परिक्रमा यात्रीहरुले करही बरी खाने चलन रहेको छ । मिथिलामा करही बरी विशेष समयमा खाने चलन रहेको छ। पन्ध्रौ दिनमा परिक्रमा यात्रीहरु पुनः कलानेश्वर हुदै जनकपुर आइ जनकपुरमा बास बस्ने गर्छन् । भोली पल्ट पुर्णिमाको दिन जनकपुर अन्तरगृह परिक्रमा पश्चात परिक्रमा यात्रा समपन्न हुन्छ । मध्यमा परिक्रमामा सहभागीहरु अन्तरगृह परिक्रमामा सहभागी हुनै पर्ने मान्यता रहेको छ । अन्तरगृह परिक्रमामा सहभागी नभई परिक्रमा यात्रा सफल भएको मानिदैन । मध्यमा परिक्रमामा सहभागी हुन नसकेकाहरु पनि जनकपुर अन्तरगृह परिक्रमामा सहभागी भई परिक्रमा यात्रामा सहभागी हुने गर्छन् । अन्तरगृह परिक्रमामा सहभागी हुन समेत उल्लेख्य मात्रामा सहभागीहरु आउने गर्छन् । जनकपुर अन्तर गृह परिक्रमा जनकपुर वरिपरी १५ किलोमिटरको दुरी तय गर्ने यात्रा रहेको छ । यसलाई पन्चकोसी परिक्रमा पनि भन्ने गरिन्छ । अन्तरगृह परिक्रमा समापन भएको भोली पल्ट अर्थात पुर्णिमाको भोलि पल्ट बिधिवत रुपमा होली मनाउने चलन रहेको छ मिथिलामा ।

परिक्रमामा सहभागीहरुको सहायताको लागि विभिन्न संघ संस्था र स्थानीय बासिन्दाले निःशूल्क स्वास्थ शिविर , खानेपानी र भोजनको व्यवस्था समेत गर्ने गरेको छ । विश्राम स्थलहरुमा यात्रीहरुको लागि विभिन्न सामाग्रीहरुको व्यवस्था गर्ने र स्वागत गर्न स्थानीय बासिन्दाको सक्रीय सहभागीता रहने गर्छ । परिक्रमामा सहभागी यात्रीहरु दिउसो एक विश्राम स्थलबाट अर्को विश्राम स्थलमा जाने , बास बस्न बास स्थानको व्यवस्था गर्ने , अस्थायी टहरा बनाउने र सञ्चालन हुने विभिन्न धार्मिक र सांस्कृतिक गतिविधीमा सहभागी हुने गर्छन । त्यस्तै रातको समयमा भजन किर्तन लगायतको कार्यक्रममा सहभागी हुने र आराम गर्ने गर्छन ।

Comment


Related News

Latest News

Trending News