अपडेट 
२०७८ फाल्गुन ३०, सोमबार ०६:४९

रुस–युक्रेनबीच जारी युद्धमा अमेरिकासहितका नाटो देशहरुले बढी सक्रियता देखाएमा नचाहेर पनि तेस्रो विश्वयुद्धको सामना गर्न तयार रहनुको विकल्प छैन । शान्तिप्रिय देशहरुले युद्ध होइन र सहमति र शान्तिको पक्षमा उभिनुपर्छ । वर्तमान अवस्थामा कुनै पक्षमा नलागी असंलग्न अभियाानमा लाग्न विश्वहितमा हुनेछ । रुस र युक्रेनबीचको युद्धमा अहिले विश्वभरिकै सहानुभूति युक्रेनसित रहेको छ । वर्तमान युगमा कुनै एउटा देशले अर्को देशमा आक्रमण गर्नु असम्भव जस्तै छ । आफ्नो सामरिक हितको उपेक्षा भइरहेको ठान्दै रुसले अमेरिका तथा नाटोसँग गरेको गुनासो अनुचित होइन । रुसको पश्चिमी सिमानास्थित देशहरुलाई नाटोमा सहभागि गराउने अभियानलाई रुसले मन पराएको थिएन् । युक्रेनसित रुसको गहिरो तथा ऐतिहासिक सम्बन्ध रहेका कारण युक्रेनको मामिलामा रुसले एउटा लक्ष्मण रेखा कोरिदिएको थियो साथै युक्रेनलाई पनि चेतावनी दिदै आएको थियो तथापि रुसद्वारा युक्रेनमाथि गरिएको आक्रमण जायज होइन । अहिलेको अवस्थाले नाटोमा देशहरु सामु पनि गम्भिर अन्यौलताको अवस्था उत्पन्न गरिदिएको छ किनभने एकातिर रुस पनि संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको स्थायी सदस्य हुनुका साथै ६ हजार भन्दा पनि बढी एटमबम बोकिराखेको अवस्था छ । यस्तो अवस्थामा नाटो देशहरु रुसमा आफ्नो सेना पठाउन सक्दैन किभने यसबाट युद्ध लम्बिएर जानुको साथै आणविक युद्धको खतरा पनि उत्पन्न हुन सक्नेछ । नाटो तीन चरणमा यस युद्धमा आफ्नो भूमिकाको निर्वाह गर्न सक्दछ । पहिलो संयुक्त राष्ट्रसंघको माध्यमबाट रुसमाथि कुटनीतिक दबाब कायम गर्न सक्दछ । दोस्रो युक्रेनलाई हतियारको आपूर्ति गर्न सक्दछ र तेस्रो रुसमाथि कठोर आर्थिक तथा अन्य प्रतिबन्ध लगाउन सक्दछ । वर्तमान अवस्थामा युक्रेनका राष्ट्रपति जेलेन्सकीलाई जतिसुकै विदेशी सहायता प्राप्त भएपनि युक्रेन युद्ध जित्न सक्दैन । रुस पनि युक्रेनमाथि पूर्णतः कब्जा गर्नेछैन तर आफ्ना समर्थक नेतालाई त्यहाँको शासनमा काबिज गराउन सक्नेछ ।

जबकि नाटोले भने यस्तो सरकारलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिने प्रयास गर्न सक्नेछ । युक्रेन सहानुभूतिका पात्र भएकै कारण नेपाल र भारतका बामपन्थीहरु पनि आफ्ना घोर बिरोधी अमेरिकासहित नाटोको अभियानलाई समर्थन गरिरहेको छन् । जबकि युक्रेनलाई नाटोले उचालेको भन्दै लेनीनको देशलाई चीन र उत्तरकोरिया जस्ता बामपन्थी देशहरुले सहयोग गरिरहेको अवस्था छ । युद्धमा नेपालको प्रतिक्रिया संवेदनशिलताको हिसाबले स्वभाविक देखिएपनि कुटनीति तथा दुरदर्शिताको हिसाबले तटस्थता अथवा निरपेक्षता विपरीत अमेरिकी समुहमा प्रत्यक्ष रुपमा सहभागी भएको जस्तो देखियो । यस युद्धलाई रुसले आफनो देश तथा युक्रेन वीचको युद्ध नठानी दुई महाशक्तिहरु अमेरिका र रुसको युद्धमा परिभाषित गर्न खोजिरहेको छ । असंलग्न राष्ट्रहरुको अभियानमा सहभागी भईसकेको नेपालले आफनो पुरानो अडान विपरीत निरपेक्ष नभई एउटा पक्षमा उभिएको छ । जबकी नेपालकै दुई छिमेकी राष्ट्रहरु उत्तरी छिमेकी चीन यसपालि खुलेरैरुसको समर्थन गरि रहेको पाईएको छ भन्ने भारत निरपेक्षताको नीतिलाई आत्मसात गरेको देखिन्छ । नेपालको अहिलेको नीतिले आफना छिमेकी राष्ट्रहरु सहित विश्व जगतलाई नै आश्चर्य चकित पारेको छ । यसवाट नेपालले पाउन सक्ने लाभ तथा उठाउन सक्ने घाटाको हिसाब–किताब हुँदै गर्ला तर हाल नेपालको नीति सन्तुलित एवं निरपेक्ष देखिएन । युद्ध रोक्न असंलग्न राष्ट्रहरुको अभियानलाई बढाउनु पर्ने आवश्यकता देखिन्छ । रुस–युक्रेन युद्धको विषयमा नेपालले अख्तियार गरेको नीतिमा पनि उसलाई कुनै समस्या नहुनुपर्ने हो तर विगत एक डेढ दशक देखि नेपालको आन्तरिक राजनीतिमा गहिरो चासो राख्दै आएको र आफनो सक्रिय भुमिकाको निर्वाह गर्दै आएको उत्तरी छिमेकी चीनले अवश्य पनि हाम्रो नीतिलाई सामान्य रुपमा न पनि लिएको हुन सक्दछ किनभने स्वयं चीन रुसको पक्षमा उभिएको छ । नाटोका देशहरु खुलेरै युक्रेनको पक्षमा उभिएको तथा त्यसलाई आफनो सैन्य सहयोग समेत उपलब्ध गराई रहेको अवस्थामा नेपालले पनि आफुलाई रुसको विपक्षमा देखाउनु अवश्य पनि चीनलाई दुःखी पारेको हुन सक्दछ । प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा शामिल गठबन्धनका दलहरुमा नेपाली कांग्रेस बाहेकका प्रायः सबै दलहरु कम्युनिष्ट नै हुन । सम्भवतः पहिलो पटक नेपालका कम्युनिष्टहरु, पूर्व कम्युनिष्ट राष्ट्र रुस तथा वर्तमान कम्युनिष्ट राष्ट्र चीनको चाहना विपरति उभिएको छ । एउटा स्वतन्त्र, सार्वभौम तथा लोकतान्त्रिक देश नेपालले लिएको नीति अस्वभाविक पनि होइन । देउवा सरकारको निर्णयलाई अमेरिका सहित युरोपेली राष्ट्रहरुले पनि सराहना नै गरेको हुनपर्छ तर यो अदुरदर्शिता अवश्य पनि हो । हामी निरपेक्ष बस्नु पर्दथ्यो । शीतयुद्धका बेला विश्व राजनीति दुई ध्रुवमा विभाजित थियो । सोभियत संघको नेतृत्वमा एक पक्ष र अमेरिकाको नेतृत्वको अर्को पक्ष थियो । विश्वका अधिकांश देशहरु यी दुई समुहमा विभाजित थिए तर विश्व शान्तिका लागि भारतका तात्कालीन प्रधानमन्त्री पंडित जवाहरलाल नेहरु, इजिप्टका नासिर र युगोस्लाभियाका जोसेफ ब्रज टिटोले असंलग्न राष्ट्रहरुको एउटा छुटै समुह गठन गरे जसलाई असंलग्न राष्ट्र अभियानको संज्ञा दिईयो ।

हाम्रो देश नेपाल पनि यस समुहको संस्थापक सदस्यहरु मध्येकै एक हो । नेपाल पनि शुरु देखि नै विश्व शान्तिको पक्षमा रही आएको छ तथा युद्धको विपक्षमा उभिदै आएको छ । वर्तमान अवस्थामा युक्रेन पीडित अवश्य पनि देखिन्छ तर अमेरिका तथा उसको नेतृत्वमा नाटो समुह रुसको छेउमा (युक्रेनमा) आफनो प्रभाव विस्तार गर्नुले रुसलाई आक्रोशित पार्नु अस्वभाविक होइन । पूर्व सोभियत संघवाट अलग भएका राष्ट्रहरुमध्ये एक पछि अर्को राष्ट्रलाई नाटोमा सहभागी गराउने अभियान भनेको जानी जानी रुसलाई भित्तामा पु¥याउन खोज्नु हो । सोभियत संघको विघटन पश्चात अमेरिकाले रुसलाई महाशक्ति मानि रहेको थिएन जबकी रुस भने आफुलाई पुरानो जमिन्दार जस्तो धन–जग्गा र वैभवमा ह«ास आएपनि आफनो फणाटोप (फण काढनु) बन्द गरेको छैन । उ अहिले पनि आफुलाई सात हजार एटम बम राखेको देशकै रुपमै परिभाषित गर्न खोजिरहेको छ । प्रत्येक पाईलामा रुसी राष्ट्रपति बलादिमिर पुतिनले अमेरिकी निर्णयको विरोध गर्नु यसैको संकेत हो । रुसले युक्रेनसित गरेको अथवा गरि रहेको व्यवहार अवश्य पनि संयुक्त राष्ट्र संघको सिद्धान्त विपरीत रहेको छ तर के अमेरिका र रुसको सहयोगी राष्ट्रहरुले गरि रहेको व्यवहार पनि यस नीतिको कति नजिक छ ? यसको समीक्षा हुनु पनि आवश्यक छ तर यस्तो कहिल्यै हुने छैन । युद्धको अवस्था त्यतिबेला मात्रै निम्तिन्छ जब प्रत्येक पक्ष आफुलाई मात्रै जायज र अर्को पक्षलाई गलत ठानी रहेको हुन्छ । अतः विश्वका प्रत्येक देशहरु यस संकुचित परिभाषा भन्दा बाहिर आउनु आवश्यक छ । दक्षिणी छिमेकी भारतको धारणा निकै संवेदनशील र सन्तुलित रहेको पाईयो । भारतले रुसी आक्रमणको आलोचना त प्रत्यक्ष रुपमा गरेन तर रुसी आक्रमणको समर्थन पनि गरेन । उसले युक्रेनको स्वतन्त्रता र सम्प्रभुताको रक्षाको माग अवश्य पनि गर्दै आएको छ ।

भारतले आफना छिमेकी राष्ट्रहरु सित शान्तिपूर्ण सम्बन्ध कायम राख्नुपर्छ भन्ने पश्चिमेली राष्ट्रहरुको तर्कलाई यसपालि भारतले पनि कपी पेष्ट गरेको छ र पश्चिमेली देशहरुलाई आफनो छिमेकी राष्ट्रहरु सित शान्तिपूर्ण एवं मित्रवत सम्बन्ध राख्न सुझाव दिएको छ । विश्व शान्ति, विश्व बन्धुत्व, विश्व कल्याण र प्रत्येक प्राणीको भलाईको कामना गर्ने सनातन धर्मका अनुयायी भारत र नेपालले कुनै पनि किसिमको आक्रमणको समर्थन गर्ने प्रश्न नै उठदैन । यसपालि नेपाल त खुलेरै यस आक्रमणको आलोचना गरेको छ । भारतले संप्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गर्न आहवान गर्दै हिंसा र शत्रुतालाइ तत्काल समाप्त गर्न युद्धरत दुवै देश सित आग्रह गरेको छ । युक्रेन–रुस युद्धमा युक्रेनलाई हतियार दिने राष्ट्रहरु आगोमा घ्यु हाल्ने काम गरि रहेका हुन र तेसे विश्वयुद्धको वातावरण तयार गरि रहेका हुन, भन्दा अतिश्योक्ति नहोला । रुसलाई बढी हुनुको क्षति अर्थ विश्वकै विनाश हुनु हो भन्ने यथार्थलाई बुझनु पनि आवश्यक छ । युद्ध रोक्नु तत्कालको आवश्यकता हो । पक्ष र विपक्षमा नलागेर तटस्थ भएर शान्ति एवं वार्ताको वातावरण मिलाउनु आजको आवश्यकता हो एक पटक फेरि पनि भारत र नेपाल जस्ता देशहरुले असंलग्न आन्दोलनलाई तीव्रता प्रदान गर्ने वेला आएको छ । निरपेक्ष देशहरुलाई एउटै थलोमा ल्याउनु आवश्यक छ । निरपेक्ष देशहरुले मात्रै दुवै देशलाई शान्तिपूर्ण वार्ताको टेबुलमा ल्याउन सक्दछ ।

Comment


Related News

Latest News

Trending News