२०७८ फाल्गुन ३०, सोमबार ०६:५३

मधेश प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले संघीयता बलियो भए मात्र सबैक्षेत्र सबल हुने बताएका छन् ।

सप्तरीको राजविराजमा आइतबार संचार माध्यम र पत्रकार आचार संहिता निर्माण सम्बन्धी सुझाव संकलन कार्यशाला गोष्ठीमा उनले सो कुरा बताएका हुन् । मधेश सरकार आन्तरिक मामिला तथा संचार मन्त्रालय मिडिया काउन्सिल मधेश प्रदेश जनकपुरधामद्वारा आयोजित कार्यक्रममा मन्त्री साहले संघीयताको पक्षमा पत्रकारहरुलाई कलम चलाउन आग्रह गरे । देश विकासको मेरुदण्ड संघीयता प्रणाली भएको जिकिर गर्दै उनले संचार मन्त्रालयले संचार माध्यम र पत्रकारहरुको विकासको लागि संचार ऐन निर्माणको क्रममा रहेको जानकारी दिए । मन्त्री साहले प्रदेशको स्रोत र साधनले भ्याएसम्म संचारमाध्यमलाई व्यवस्थापन गर्दै पत्रकारहरुको सेवासुबिधा बढाउने नीति अघि सरिसकेको छ भन्दै राम्रो कार्य गर्नेलाई पुरस्कृत र पीत्त पत्रकारिता गरी जनताको भावनामा कालोपोत्ने पत्रकार र संचारमाध्यमालाई दण्डित गर्ने सम्मको ऐन बन्ने प्रष्ट पारे ।

राज्यमन्त्री रुबी कुमारी कर्णले दलगत प्रयोजनको रुपमा बजेट दुरुपयोग हुन नदिने बताउँदै पत्रकारितालाई मर्यादित र अनुशासित बनाउन सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । प्रदेश आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकार हरूको लागि स्वास्थ्य बीमा दुर्घटना बीमा लगायतका सुबिधाको लागि धेरै काम अगाडि बढेको बताए । १ लाख सम्मको स्वास्थ्य बीमा, ७ लाख सम्मको दुर्घटना बीमा २ करोड सम्मको लोककल्याणकारी बीमा स्थापनाको काम अन्तिम चरणमा छ, उनले भने, प्रेस प्रतिनिधि परिचयपत्र दिने र संचार माध्यमहरुको नवीकरण गर्ने कार्य अब मधेश सरकारले नै गर्छ । यादवले सरकारले ल्याएको ऐन कार्यान्वयन संगै संचार माध्यम र पत्रकारहरुको सेवासुबिधा वृद्धि भएसंगै आचारसंहिता उल्लंघनको घटना न्यूनीकरण हुने विश्वास व्यक्त गरे । मिडिया काउन्सिल मदेश प्रदेशका अध्यक्ष शिवहरी भट्टराईको अध्यक्षतामा आयोजित गोष्ठीमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साह, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष राजेश कर्ण, सचिव भोला पासवान, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, सिरहा अध्यक्ष मनोज मोरबैता लगायतकाले आ–आफ्नो धारणा राखेका थिए ।

यसैगरी वरिष्ठ पत्रकार अनिल कुमार अनल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अवधेश झा, सप्तरी शाखाका पूर्व अध्यक्ष धीरेन्द्र प्रसाद साह, व्यासशंकर उपाध्याय लगायतकाले आचार संहिता निर्माण सम्बन्धी सुझाव दिएका थिए । मिडिया काउन्सिलका सदस्य बन्दना झाद्वारा संचालित र सप्तरी र सिराहाका पत्रकारहरु सहभागिता रहेको गोष्ठीमा मिडिया काउन्सिलका सदस्य गायत्री मिश्रा, अर्जुन मण्डल, कैलाश दासले सहजीकरण गरेका थिए ।

Comment


Related News