सप्तरीको अग्निसाइर कृष्णासवरण गाउंपालिका–४ मा रहेको टेंग्री टोलमा भएको आगलागीमा सिंगो टोल जलेर खरानी भएको छ । स्थानीय डम्बर यादवको घर अगाडि थुपारेर राखिएको रुखको पातबाट शनिबार मध्यरात २ बजे अचानक सल्केको आगो समयमै नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर एक दर्जन भन्दा बढी घर नष्ट भएको छ भने लाखौंको क्षति भएको छ ।
आगलागिमा ९ वटा चौपाया समेत जलेर मरेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी माधवप्रसाद काफ्लेका अनुसार आगलागीबाट २३ लाख ७५ हजारको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगोले डम्बर यादव, श्याम यादव, दिनेश यादव, मनोज यादव, कुलदेव यादव, महेश यादव, बृजनारायण यादव, भोला यादव, सत्यनारायण यादव, अमरेन्द्र यादव, उपेन्द्र यादव, धिरज यादव लगायत १३ जनाको घर जलेर खरानी बनेको छ । उनीहरु घरबारविहीन बनेका छन् । आगो आइतबार बिहान ४ बजे मात्र नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । पीडित अहिले खुल्ला आकाशमुनि बस्न बाध्य बनेका छन् । गाउंपालिका अध्यक्ष परशुराम चौधरीका अनुसार आगलागीमा घर, लत्ताकपडा, खाद्यान्न, फर्निचर र ९ वटा पशु चौपाया समेत जलेर मरेका छन् । मध्यराती अधिकांश व्यक्ति सुतिरहेको तथा केही गाउंमै घरको भोजमा सहभागी हुन गएकाले विद्युतीय गतिमा आगो फैलिएकाले बढी क्षति भएको स्थानीयवासीहरुले बताए । राजविराज, हनुमाननगर र शम्भुनाथ नगरपालिकाको बारुणयन्त्र तथा प्रहरी र स्थानीयहरुको सक्रियतामा विहान ४ बजेतिर आगो नियन्त्रणमा आएको डिएसपी काफ्लेले बताए । गर्मीयाम सुरु भए सँगै आगलागीको घटनामा वृद्धि भएर गएको छ ।
यस अघि शनिबार बिहानै राजविराज नगरपालिका– ५मा रहेको जोगेन्द्र गुप्ताको घरमा ग्यास लिक भई आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको थियो । यसैबीच मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले अग्नि पीडितलाई तत्कालका लागि त्रिपाल र खाद्यान्न उपलब्ध गराएका छन् । मन्त्री साहले आगलागीबाट वस्ती नै जलेको घटनाप्रति दुःख व्यक्त गर्दै थप सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । त्यस्तै धर्मीहल्फा महिला विकास क्लबका अध्यक्ष सूर्यनारायण यादवले पनि १० थान त्रिपाल र भाडाकुंडा लगायतको राहत सामग्री वितरण गरेको अग्नि पीडितहरुले जानकारी दिएका छन् ।

