२०७८ फाल्गुन ३०, सोमबार २०:५१

जनता समाजवादी पार्टी (जसपा)ले तीन सदस्यीय मुख्यालय समिति गठन गरेको छ ।

कार्यकारिणी बैठक बस्ने स्थिति नहुँदा पार्टीको सामूहिक निर्णय गर्न संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहेको मुख्यालय गठन गरेको छ । काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकले मुख्यालय समिति गठन गर्ने निर्णय गरेको हो ।

पार्टीभित्रका निर्णय प्रक्रियामा यादव पक्षको एकलौटी हुने गरेको भन्दै भट्टराई पक्षले आपत्ति जनाउँदै आएको थियो । पार्टी विभाजनको तहसम्म जाने जोखिम बढेपछि केन्द्रीय कार्यकारिणी बैठकले त्यो जोखिम टार्न सामूहिक निर्णय गर्ने विधि र त्यसको थलो निर्माण गर्ने निर्णय गरेको हो ।

बैठकले स्थानीय चुनावका लागि निर्वाचन आयोगमा वरिष्ठ नेता राईको मात्र हस्ताक्षर प्रयोग गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी सदस्य प्रशान्त सिंहका अनुसार पार्टीभित्रका आन्तरिक समस्यालाई समाधान गर्न मुख्यालय समितिले भूमिका खेल्ने र मुख्यालय समितिले गरेका निर्णयलाई केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था राखिएको छ ।

बैठकले पार्टीको विधान सम्मेलन स्थानीय तहको निर्वाचनपछि गर्ने निर्णय गरेको छ ।

समानान्तर कमिटीहरु खारेज
यस्तै जिल्ला तथा स्थानीय तहमा बनेका विभिन्न समानान्तर कमिटीहरु खारेज भएको छ । केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको सांगठनिक प्रस्तावमाथि छलफल भइ सो निर्णय भएको हो ।

पार्टी समायोजन गर्ने क्रममा केही जिल्ला तथा स्थानीय तहका पालिकाहरुमा समानान्तर कमिटी गठन भएका थिए । अब कुनै पनि समानान्तर कमिटी नरहने केन्द्रीय समितिले निर्णय गरेको अध्यक्ष यादवले बैठकमा घोषणा गरेका हुन् । केन्द्रीय समिति, संघीय परिषद् र प्रदेश समितिको समायोजन सम्पन्न भइसकेको छ भने बाँकी रहेका जिल्ला, पालिका, भातृ तथा शुभेच्छुक संगठनको समायोजन चैत १० गतेभित्र टुगों लगाउने निर्णय समेत गरेको छ । त्यसका साथै स्थानीय तहको चुनावमा केन्द्रीय सदस्यलाई समेत थप जिम्मेवारी दिने निर्णय गरेको छ ।

Comment


Related News

Latest News

Trending News