जनता समाजवादी पार्टी (जसपा) मा एकल नेतृत्व र सामूहिक निर्णयको अवधारणा लागू भएको छ ।
केन्द्रीय समितिको दोस्रो दिन सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । केन्द्रीय समितिको बैठकले एकल नेतृत्व र सामूहिक निर्णय गर्ने सहमति जनाएको छ । बैठकमा असोज मसान्तभित्र एकता महाधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको समापन बैठकलाई सम्बोधन गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीको समायोजन र विधान अधिवेशनपछि महाधिवेशन गराउनेतिर लाग्ने जनाए । उनले प्रतिनिधि र प्रदेशसभाको चुनावअघि नै पार्टीको एकता महाधिवेशन सम्पन्न गरिने जानकारी गराए । त्यसैगरी पार्टीको निर्णयलाई प्रभावकारी बनाउनका लागि तीन सदस्यीय मुख्यालय गठन गरिएको छ । मुख्यालयमा पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई रहने पार्टीका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले जनाए । पार्टीको कुनै पनि निर्णय तीन जनाको सहमतिमा मात्र हुने निर्णय समेत गरेको छ ।
पार्टीमा एकल नेतृत्व भए पनि सामूहिक निर्णय हुने सहमति अनुसार नै यो मुख्यालय बनाएको केन्द्रीय सदस्य यादवले बताए । ‘ पार्टीको कुनै आकस्मिक वा आवश्यक निर्णय गर्नुपरे मुख्यालयले मात्र गर्नेछ ’ उनले भने, कुनै पनि निर्णयमा तीन जनाको हस्ताक्षर अनिवार्य हुनेछ । यो सहमति भएसंगै पार्टी विभाजनबाट जोगिएको उनले बताए । बैठकबाट अन्य प्रदेशका जिल्लाहरुमा गठन भएको सामानान्तर कमिटी समेत विघटन भएको छ । बैठकमा मनमुटाव सकिए संगै सामानान्तर कमिटी समेत विघटन भएको केन्द्रीय सदस्य यादवले जनाए । पार्टीका केन्द्रीय सदस्य उमेश साहले पार्टीमा अब कुनै प्रकारको विवाद तथा मनमुटाव नरहेको स्पष्ट पारे । पार्टीको बारेमा अनेक भ्रम फैलाउने काम भएको तर ती सबै भ्रमलाई केन्द्रीय समितिको बैठकले चिर्न सफल भएको उनले दाबी गरे ।
केन्द्रीय समितिको बैठक सम्पन्न भएसंगै पार्टी भित्रको किचलो सकिएको छ । पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी भित्र रिक्त रहेको अर्का अध्यक्ष पूर्ति गर्नुपर्ने भन्दै पार्टी अध्यक्ष उपेन्द्र यादव विरुद्ध मोर्चाबन्दीमा लागेका थिए ।

