अपडेट 
२०७८ चैत्र २, बुधबार ०७:३७

अस्तित्ववान हरेक कुरा परिवर्तनशील छ । परिवर्तन नै परिवर्तनको पनि नियति हो । परिवर्तनशीलतामा सरसता पनि हुन्छ र अपरिवर्तनशीलतामा निरसता हुन्छ भनिन्छ । मानिसलाई धेरै कुरामा परिवर्तन चाहिन्छ । अझ हरेक कुरामा परिवर्तन चाहिन्छ । यसै कारण पहिले जे थियो, त्यो अहिले जस्ताको तस्तै छैन । पहिलेका मानिस आफूलाई आफ्नो जमानाको खूब क्रान्तिकारी विचारको ठान्दथे रे तर उही मानिस आजको निकै पछौटे साबित भइरहेका छन् । यसको अर्थ यो पनि हो कि समयको गति सोचेकोभन्दा धेरै परिवर्तनशील छ । समयको गति नै जब परिवर्तनशील छ भने अन्य कुरामा प्रभाव पर्नुलाई अस्वाभाविक मान्न सकिन्न । अझ हाम्रा चाडपर्वहरु निकै छिटो विस्तार र परिवर्तन हुँदै गइरहेका छन् । हाम्रो संस्कृतिमा निकै धेरै परिवर्तन हुनुका कारणहरु अनेक रहेका छन् । हुन त कुनै पनि संस्कृति एकैचोटि निर्माण भएको हुँदैन । संस्कृति निर्माण हुन धेरै समय लाग्दो रहेछ । धेरै समयको र श्रमको लगानीले संस्कृति निर्माण हुने हुँदा एकैचोटि कुनै संस्कृति हराएर वा बिलाएर जाने होइन । यसकारण संस्कृतिको स्वरुपलाई परम्परागत भनिन्छ । संस्कृति परम्परागत स्वरुपको भए पनि अपरिवर्तनशील भने हुँदै । फेरि पनि एकै किसिमले संस्कृति जस्ताको तस्तै रहिरहँदैन र एकैचोटि कुनै संस्कृति परिवर्तन पनि भइहाल्दैन । संस्कृतिमा विस्तारै परिवर्तन आउँछ ।

अहिलेको अवस्थामा हेर्ने हो भने अहिलेको समाज निकै छिटो विकास भइरहेको सन्दर्भले संस्कृतिलाई पनि प्रभावित पारेको छ । आजभोलि गाउँमा यस्तो गरिबी निकै कम छ कि आफ्नो संस्कृति नै मान्न नसकोस् । पहिले गरिबी धेरै थियो र सहयोगी हात कम थिए । अहिले गरिबी पहिलेको तुलनामा धेरै कम छ र सहयोगी हातको संख्या धेरैले बढेको छ । सहयोगी हातले गरिब र नहुनेलाई सहयोग गर्दछ र दाताको खोजी पनि गरिदिन्छ । जहाँ दाता पुग्न सुरु हुन्छ, त्यहाँ फेरि संस्कृति मान्न सजिलो हुन्छ । जब संस्कृति सजिलो गरी मानिन्छ तब त्यहाँ परिवर्तनले चियाउन सुरु गरेको हुन्छ किनभने पहिले संस्कृति अलिक अप्ठ्यारो थियो तर मनाउन सजिलो भएपछि धेरै कुरा सहज हुन पुग्यो । धेरै सहज हुनुको अर्थ यो पनि हो कि पहिलो मनाउने तरिकामा केही परिवर्तन । यस्तै केही र थोरै परिवर्तनले निरन्तरता पाउँदा संस्कृतिको स्वरुपमा धेरै समयको अन्तरालमा विचार गर्दा धेरै परिवर्तन भइसकेको हुन्छ । आजभोलि विचार गर्ने हो भने सबै सांस्कृतिक उत्सवमा परिवर्तन देखिएको छ । परिवर्तन पनि घनिभूत भएको छ । यो घनिभूत परिवर्तनको युग पनि हो । दुई दशकपहिले जब धेरेको हातमा मोबाइल थिएन, हरेक घरमा टेलिभिजन थिएन तबको अवस्थामा गाउँघरमा मनाइने संस्कृतिको स्वरुप केही भिन्न यस कारण थियो कि संस्कृति मनाउँदा अन्य केही छुट्ला भन्ने थिएन । संस्कृति मान्न र मनाउनमा आफन्त तथा समाजका सबैको ध्यान हुन्थ्यो तर आजभोलि हरेकको घरमा टेलिभिजन पुगिसकेको छ, गाउँमा इन्टरनेट सेवाको पहुँच छ र हातमा मोबाइल छ ।

मोबाइल र इन्टरनेटले मानिसको सबै समय खाइदिएको छ । आजभोलि दुई चार जना एक ठाउँमा बसे पनि यदि इन्टरनेटको पहुँच छ भने सबै जना मुखले कुराकानी गरिरहेका हुन्छन् तर वास्तवमा मोबाइलमा व्यस्त भइरहेका हुन्छन् । यदि इन्टरनेट छैन भने विभिन्न गेमहरु मोबाइलमा खेलेर समय पास भइरहेको छ । यसले त बालबालिकाको पढाइमा निकै गम्भीर असर पारेको छ । बालबालिकाले खेल्ने खेलहरु लगभग हराउन थालेका छन् र कतिपय अवस्थामा पाँच दशक पहिले गाउँमा खेलिने खेलहरु अहिले समाजमा खोजेर पनि नपाइने अवस्थाको सिर्जना भइसकेको छ । जुन जुन खेलहरु हराइसके, ती खेलहरुलाई फर्काउन अब मुस्किल छ । यसलाई राम्ररी विचार गर्ने हो भने हाम्रो समाजबाट परम्परागत सामाजिक खेल संस्कृतिको अन्त्य भइसकेको छ । अहिले होलीको सन्दर्भ छ, होलीलाई पनि विचार गर्ने हो भने अहिलेको होली निकै कमजोर भइसकेको छ । तिन दशक पहिलेसम्म होली वास्तवमा एक महिनासम्म लाग्दथ्यो । जब कोही मानिस खेततिर डुल्न जान्थे तब उसको मुखबाट सोझै निस्कथ्यो होलीको गीत । खेताला, गोठाला, घसबाहा, चरबाहा, हरबाहा, कोदरबाहा सबैले होलीको गीत गाउँदा वास्तवमा सरेहमा लाग्दथ्यो कि फागुनको आनन्द नै छुट्टै छ । जब साँझ हुन्थ्यो तब मानिसहरु खानपान गरेर फलानोको घर वा फलानाको दुरामा जम्मा भएर आज यसरी होलीको गीत गाउनु छ भन्ने सल्लाह हुन्थ्यो । मिठो मसिनो जे हुन्थ्यो, त्यो खाएर टोलभरिका मानिस एक ठाउँमा भेला भई डम्फू, झिर, झाल, करताल र फुटेको थाल नै लिएर बजाउँदै होलीको एकपछि अर्को जोशिलो गीतले गाउँ नै गुन्जिन्थ्यो । जति जति रात छिप्पिन्थ्यो, त्यत्ति त्यत्ति रागात्मक होली गीत गाएर आनन्दलाई चरमावस्थामा पु¥याउँथे ।

होलीको गीतमा रमाउनेहरु पूरा झुम्मिन्थे, पूरा आनन्दित हुन्थे र उफ्री नाची जोस्सिएर गीतलाई जीवन्त बनाउँथे । आजभोलि अब खोजेर पनि होलीको त्यो रुपलाई पाउन सकिन्न । हो, प्रायोजित होली भने अहिले पर्याप्त पाइन्छ । होलीमा पहिले पनि मदिरापान हुन्थ्यो नै । शायद गरिबी धेरै थियो, त्यसैले कमैले मदिरा पिउँथे । बढीले कुसमा बनाएर पिउँथे । थोरैले भाङ र धतुरो पनि खान्थे तर मदिरा, भाङ र धतुरोलाई पहिलेदेखि नै होलीको विकृति मानिँदै आएको छ । तर कतिपयले त होली भनेकै विकृति हो, होलीको समयमा मन लाग्दो खानपान हुनै पर्छ भन्ने मान्यता राख्नेहरु पहिले पनि थिए र अहिले पनि छन् । यसलाई होलीको एउटा संस्कृति पनि मान्न सकिन्छ तर होलीको संस्कृतिभित्रको रङ संस्कृतिलाई यदि अहिले विचार गर्ने हो भने लगभग अन्त्य भइसकेको छ । रङको विकृति आइसकेको छ । होलीमा पहिलेको प्रेम होइन रहेछ अब प्रेमको विकृति आइसकेको छ । होलीलाई भाइचाराको पर्व पनि मानिन्छ । होलीमा दुस्मन पनि दुस्मनको घर सम्पूर्ण दुस्मनीको अन्त्य गर्न जान्छन् भन्ने गरिन्छ । हरेकले हरेकसित गलामा गला मिलाउँछन् । एकले अर्काको पिठ्युँमा धाप दिन्छन् । एकले अर्कालाई खान बोलाउँछन् । वर्षभरिको सबैभन्दा मिठो र मसिनो खानेकुरा घरमा पाकेको हुन्छ । सबैले मिलेर खान्छन्, मिलेर खुवाउँछन् । सामूहिक संस्कृतिको विकास पनि भएको सम्भवतः यसै कारणले होला तर आजभोलि बिहानैदेखि मदिरापान गरेर आफूलाई आनन्दको सागरमा डुबुल्की मारेको देख्नेहरु धेरै भइसकेका छन् । अरुलाई विकृति लागेको कुरा जो विकृतिमा हुन्छ, आफूलाई स्वीकृतिमा रहेको मान्न थालेको छ । यसले गर्दा पनि होलीको संस्कृतिमा विकृति आएको र होली केही मात्रामा भए पनि फिक्का हुँदै गएको देखिन्छ । होली किन मनाइन्छ र होलीको मौलिकता के हो भन्ने कुरालाई धेरैले बिर्सेर पनि हुनुपर्छ कि होलीको मौलिकता हराउँदै गएको छ । होलीमा के गर्दा नराम्रो हो र किन नराम्रो हो भन्ने कुराको खोजीतर्फ समाज उन्मुख हुन नसकेको र जसले अलिक बढी विकृत काम ग¥यो, होलीको नाममा उसैको अनुकरण गर्ने प्रवृत्ति बढेको कारणले पनि होलीको मौलिकता हराएको हो । अझ हाम्रो होली कस्तो ?

हाम्रो आफ्नो होलीका विशेषताहरु कस्ता छन् ? हामीले हाम्रो होलीमा कुन कुन कुरा वा पक्षलाई बाहिरबाट ल्याएका छौँ । बाहिरबाट आएको विकृतिले अझ कसरी बिगारिरहेको छ ? यी र यस्ता पक्षमा विचार गर्ने फुर्सद कसैलाई देखिएको छैन । जब कसैलाई पनि फुर्सद छैन भने विकृतिलाई स्वीकृति मिल्ने हुन्छ । यसकारण परिवर्तनले सकारात्मक मोड लिनुको साटो नकारात्मक मोड लिन पुग्दछ । सम्भवतः अहिलेको होलीमा बढी विकृति यसै सन्दर्भमा देखिएको हुनुपर्छ । हाम्रो होलीमा विकृति आउनुमा नवयुवाको मात्र भूमिका रहेको छैन । पुराना पुस्ताले होलीलाई सम्हाल्न नसक्नु पनि हो । होलीलाई विकृतिमूलक बनाउन आफ् नो भूमिका देख्न नसक्नु पनि हो । होलीले मौलिक स्वरुप पाइरहँदा भविष्यमा हुने फाइदालाई नबुझी आफू भलो त जगत् भलो भन्ने उखानलाई चरितार्थ गर्न आफ्नो समयमा सबैभन्दा बढी आनन्द लिनको लागि अरुलाई वास्तविक आनन्द लिने बाटो नै रोकेको कारणले हो । साथै कतिपयको दृष्टिकोणमा संस्कारका हरेक पर्व तथा संस्कृतिमा परिवर्तन आउने क्रममा होली पनि प्रभावित रहन नसक्नु हो भन्ने कुरालाई पनि स्वीकार्नु पर्छ । होलीको मौलितलाई बचाउन आफ्नो भूमिका कस्तो हुनुपर्छ भन्ने खोजी नगर्नु पनि हो । सामाजिक अगुवाहरु तथा सामाजिक अभियन्ताहरुको ध्यान हाम्रो संस्कृतितर्फ जान नसक्नु पनि हो । हैनभने देशमा यति ठूल्ठूला राजनीतिक परिवर्तनहरु हुँदा संस्कृतिको बारेमा खोई कतैबाट सही अर्थमा सोचविचार गर्न सकेको ? कतैबाट मौलिक संस्कृतिको रक्षा गर्न र यसलाई आयको आधार बनाउन सोच्न सकिएको छ त ? जब कोही राम्ररी बाटो देखाउने हुँदैनन् तब जो जहाँबाट जसरी बाटो पाउँछ, त्यहीबाट त्यसरी नै हिँड्ने प्रयास गर्दछ । अनि विकृति आउनु स्वाभाविक हुन्छ । अनि स्वाभाविक छ कि हाम्रो होलीको मौलिकता हरेक दिन हराउँदो छ । हाम्रो होली अत्यधिक परिवर्तन र गतिशील पर्वको रुपमा विकास भइसकेको छ । होलीको आर्थिक सम्बन्धले यस कुरालाई अत्यन्त बलियोसित पुष्टि गर्दछ । सम्भव हुँदासम्म हरेकले होलीको मौलिता जोगाउनेतर्फ विचार पु¥याउनु परेको छ ।

Comment


Related News

Latest News

Trending News