अपडेट 
२०७८ चैत्र ३, बिहीबार ०७:१७

परिक्रमाको शाब्दिक अर्थ ‘चारैतिर घुम्ने काम’ हुन्छ । यसलाई अर्को अर्थमा ‘देवताका मूर्ति वा मन्दिरमा चारैतिर घुम्नु वा प्रदक्षिणा’ गर्नु हो । यसरी परिक्रमाको शुरूआतीतिर जाँदा यसको शुरूआत सबैभन्दा पहिले शिवपुराणमा विस्तारपूर्वक उल्लेख गरिएको छ । एक चोटी कार्तिकेय र गणेशका बीचमा बाजी लाग्यो कि जसले कैलाश पर्वतलाई परिभ्रमण गरेर जो पहिले फर्केर आउँछ उ बुवा शिवलाई निकै प्रिय हुनेछ । यस कार्यका लागि कार्तिकेय मयूरमाथि बसेर उडान भरे भने गणेश कहीं कतै गएन । उहाँले के बुद्धि लगाए भने आमाबुवा भन्दा ठूलो अरू के छ र ? त्यसैले आमाबुवालाई नै परिक्रमा गर्न थाले । कार्तिकेय परिभ्रमणबाट फर्केपछि गणेशलाई बुवाको नजिक बसेको देख्दा अचम्भित भए । कार्तिकेय फर्केर आएपछि गणेशलाई सोध्ने गर्छन् कि तिमी परिभ्रमणमा किन गएनौं । गणेशले जबाबमा भन्नुभयो कि म आमाबुवाका परिक्रमा गरेर यहाँ बसेको छु । दुबैको कुरा सुनेर शिव भगवानले भनुभयो म गणेशबाट निकै खुशी छु किनभने यसले बाजी मारिसकेको छ । यसरी परिक्रमाको यसै तथ्यलाई मनन गरी प्राचीन धार्मिक विद्वानदेखि सर्बसाधारणसम्म परिक्रमा गर्दै आइरहेका छन् । यसको सबैभन्दा ठूलो प्रमाण शिवपुराणलाई लिन सकिन्छ । यसै तथ्यलाई मनन गरी प्राचीनकाल देखिनै आजसम्म, मठ, मन्दिर, तथा अन्य धार्मिक स्थलहरूमा भगवानको दर्शन गर्न जाँदा परिक्रमा गरेर आफ्ना श्रद्धा भक्ति अर्पण गरेका हुन्छन् । कुनै धार्मिक अनुष्ठान गर्दा आफ् ना मातापितालाई चारैतिर परिक्रमा गरेर आफ्ना श्रद्धभक्ति अर्पण गरेका हुन्छन् । यस्ता कुरा अठारहौं पुराणमा उल्लेख छ । खास गरी विष्णु पुराणमा विशेष रूपले उल्लेख रहेको देखिन्छ । जनकपुरधाम र अयोध्याधामका परिक्रमा पनि यसै पुराणसँग सम्बन्धित छन् । विश्वका धार्मिक ठाउँहरू मध्ये मिथिलाको स्थान सबैभन्दा उच्च रहेको छ । यसको महत्व पनि निकै उच्च रहेको देखिन्छ । सबै तीर्थ पटक पटक गरे पनि जो कम्तिमा एक पटक मिथिला प्रवेश गर्दैन तवसम्म उसको तीर्थ पूरा हुँदैन । त्यसैले सबै तिर्थालुहरू तीर्थाटन गर्न जाँदा अन्तमा जनकपुरधाम आएकै हुन्छन् । यहाँका सर–सागरमा स्नान गरेर जानकीमाताको दर्शन पछि आफ्ना तीर्थाटनलाई पूरा गरेका हुन्छन् । मिथिलाको परिक्रमालाई हेर्दा यसले हाम्रो सांस्कृतिक परम्परालाई निरन्तरता दिएको छ । मिथिलाको यसै धार्मिक महत्वलाई मनन गरी विभिन्न पुराणले तीन वटा परिक्रमाको बर्णन गरेका छन् ।

(१) बृहत् परिक्रमा (२) पञ्चकोसी परिक्रमा (३) अन्तरगृही परिक्रमा

(१) बृहत् परिक्रमा :

यस परिक्रमाले पूरा मिथिलालाई समेटेको छ । यो परिक्रमा चारै अन्तरदेशीय सीमालाई पूरा गरी जनकपुरधाममा आएर सकिन्छ । मिथिलाको सीमा पूर्वमा कोसी, दक्षिणमा गंगा, पश्चिममा गण्डकी (नारायणी) र उत्तरमा चुरे क्षेत्रको हरियो जंगल रहेका हुनाले यी पुरै सीमालाई परिक्रमा गर्नु पर्ने हुन्छ । यो परिक्रमा कोसी र गंगाको संगम स्थलबाट शुरू गरेर गंगाको किनारै किनार हुँदै पश्चिमतिर लाग्छ । गंगा र नारायणीको संगम स्थलबाट पुनः उत्तरतिर लाग्छ । यस्तै नारायणी र चुरियाको दक्षिणी समथर भागबाट पूर्वतिर लाग्छ । अन्तमा चुरिया र कोसीको संगम स्थलबाट दक्षिण तिर लाग्छ । जहाँबाट शुरू गरेको हुन्छ त्यही पुगेर जनकपुरधामको बाटो लाग्छ । जनकपुरधाममा पुगेर यहाँका कुनै सर सरोवरमा स्नान गरी रामजानकीको दर्शन पश्चात बृहत् परिक्रमा अन्त हुन्छ । यस परिक्रमाको लम्बाइ निकै बढी तथा बाटो समेत कष्टकर हुने हुनाले सर्वसाधारण यस परिक्रमामा गएको देखिँदैन । साधुसन्त, त्यागी तथा ऋषिमुनिहरू मात्र बृहत् परिक्रमालाई पूरा गरेका हुन्छन् ।

(२) पञ्चकोसी परिक्रमा :

यो परिक्रमा बृहत् र अन्तरगृही परिक्रमाको बीचमा सम्पन्न हुने हुनाले यसलाई मध्य परिक्रमा पनि भनिन्छ । अर्कोतिर पाँच कोसको बृताकारमा घुम्ने हुनाले यसलाई बढी भन्दा बढी मानिसहरू पञ्चकोसी परिक्रमाको नामले जान्दछन् । यस परिक्रमाको शुरूआत कहाँबाट र कहिले भयो भने कुरामा सम्बन्धित जानकारहरूका बीचमा निकै मतभिन्नता देखिन्छ । तर जे जस्तो मतभिन्नता भए पनि एउटा कुरामा सबै सहमत देखिन्छन् कि यस परिक्रमाको शुरूआत सीताकुण्डको महन्थ श्री शियालाल शरणजीले गर्नु भयो । पछि यी मूर्तिहरू कचुरी पु¥याइए । त्यसबेला त्यहाँका महन्थ महावीर दासजी हुनुहुन्थ्यो । सीताकुण्डको महन्थसँग वहाँको गुरुभाइको नाता थियो । सीताकुण्डको महन्थ आफूलाई यस जिम्मेवारीलाई बोक्न असमर्थता प्रकट गरेपछि मिथिला विहारीको डोला गुरुभाइ कहाँ कचुरी पठाउन लगाए । जानकारहरूका भनाइमा यस परिक्रमाको शुरूआत वि.सं. १८१० देखि भएको अनुमान गर्छन । वर्तमान समयमा धनुषाको कचुरीबाट फाल्गुन शुक्ल प्रतिपदाका दिन जनकपुरधामको हनुमाननगर आएर विश्राम लिन्छ र त्यसपछि क्रमशः भारत, मधुवनीको कल्याणेश्वर, गिरिजास्थान, त्यसपछि नेपालको महोत्तरीमा पर्ने मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन हुँदै धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरहीदेखि पुनः भारत, मधुवनीको करूणा, बिसौल हुँदै कल्याणेश्वर डोला पुग्छ । यहाँबाट फाल्गुन शुक्ल चतुर्दशीका दिन जनकपुरधाम पुगेर विश्राम लिन्छ । भोलीपल्ट अर्थात फागुपूर्णिमाका दिन विभिन्न सर सरोवरमा स्नान गरी राम जानकीको दर्शन पश्चात आ–आफ्ना घरतर्फ लाग्छन् । यस परिक्रमामा जम्मा १५ दिन लाग्छन् । अहिले यस परिक्रमालाई कतिपय श्रद्धालु भक्तजनहरू एकादशी तिथिमा शुरू गरी पूर्णिमाका दिन जनकपुरधामको सर सरोबरमा स्नान गरी रामजानकीको दर्शन पश्चात यसलाई पूरा गर्छन । यस परिक्रमामा श्रद्धालु मक्तजनहरूका बढी भीडभाड हुन्छन् । जहाँ बासा पुग्छन त्यहाँ एउटा ठूलो मेलाको रूप लिएको हुन्छ । त्यहाँका स्थानीय सरकारका निकायहरू यसलाई पूरै व्यवस्थित गरेका हुन्छन् । सुरक्षाको राम्रो इन्तजाम गरेका हुन्छन् । विगतभन्दा अहिले विस्तारै अवस्था सुध्रिदै आएको छ । यसको बाटो अहिले पक्कीकरण भएको छ । बासाहरूमा बस्नलाई धर्मशाला तथा शिव र रामजानकीका मंदिरहरू निर्माण भएका छन् । आउने दिनमा अझै यसभन्दा पनि राम्रो व्यवस्था गर्दै जाने नेपाल भारतका सरकार लागीपरेका छन् ।

(३) अनतरगृही परिक्रमा :

यस परिक्रमामा भक्तजनहरू जनकपुरधामलाई चारैतिर बृताकारमा परिक्रमा गर्छन । यसका लागि विगतमा जनकपुरधामकै साधु मौनीबाबा भनिने अवधकिशोरदास बैष्णवले यस गृहीपरिक्रमाको पथलाई कच्ची माटोको सडक बनाइ दुबै साइडमा बृक्षारोपन समेत गरी निकै राम्रोसँग सजाएका थिए । नगर बिस्तारको कारणले अहिले न त्यो सडक छ न ती रूख विरूवाहरू । अहिले यो परिक्रमा सडक पक्कीरूप लिइसकेको छ भने दुई साइडमा बृक्षारोपन समेत गरेका छन् । यस परिक्रमामा भक्तजनहरू विहानै जनकपुरधामका सर सरोवरहरूमा स्नान गरी पूरै परिक्रमा सङकलाई परिभ्रमण गरी आ–आफ् ना घर÷डेरातिर लाग्छन् । यस परिक्रमाभित्र पनि जनकपुरधामका व्यक्ति, सामाजिक संघसंस्थाहरूले सर्बत, चिया, दही, चिउरा, भातप्रसाद तथा पूरी तरकारी आदि खाने व्यवस्था गरेका हुन्छन् । अर्कोतिर माग्नेहरू निकै संख्यामा भारत तथा नेपालबाट यहाँ आएका हुन्छन् । उनीहरू सडकको सौन्दर्यतालाई नराम्रोसँग विगार गरेका हुन्छन् । सरकारले यस्ता माग्नेहरूलाई राम्ररी व्यवस्थित गर्ने तिर ध्यान दिनु पर्ने हुन्छ । अन्यथा यसको प्रभाव आउने सन्ततिमा समेत पर्न जाने सम्भावनालाई नकार्न सकिँदैन । यस परिक्रमामा रामजानकी डोला कदम चौकबाट शुरू गरी पुनः कदम चौकमा फर्केर आ– आफ्ना घर÷डेरातिर लाग्छन् । श्रद्धालुहरू आ–आफ् ना सुविधा अनुसार शुरू गरी पुनः त्यही फर्केर समाप्त गरेका हुन्छन् । यसरी यी तीनै परिक्रमा आ–आफ्ना स्थानमा अति महत्त्व बोकेको देखिन्छ । मिथिला परिक्रमाले हाम्रो सांस्कृतिक परम्परालाई निरन्तरता दिएको देखिन्छ । विष्णुपुराण अनुसार मिथिलाको महत्व निकै उच्च रहेको छ । त्यसैले यस्ता परिक्रमा जस्तो धार्मिक परिभ्रमणमा भाग लिँदा अत्यधिक पुण्यको भागीदार हुन्छ भने जनविश्वास छ । मिथिलाको राजधानी जनकपुरधाम प्राचीन कालदेखिनै सांस्कृतिक परम्पराको उद्गम स्थल मानिन्छ । यहाँबाट लाखौं मानिसहरू दीक्षित भएर जान्थे र दुनियाँलाई संस्कृति र सभ्यताका पाठ पढाउँथे । आजको मिथिला भूगोलको पानामा नरहे पनि यसका सांस्कृतिक सम्पदाहरू जिवितै छन् । यसबाट हामी आफ्ना जीवनको वाटो सजिलैसँग तय गर्दछौ । जुन मान्छे सम्यता के हो भने कुरा जान्दैन उ मान्छे पशुसरह मानिन्छ । अहिले मिथिला नेपाल भारतमा विभक्त छन् । प्राचीन मिथिलाको राजाधानी लगायत मूल भाग नेपालमा रहेको छ भने बढी क्षेत्रफल भारतमा पर्न गएको छ । अहिले पनि यस क्षेत्रका मानिसहरूका सम्यता, ज्ञान, परम्परा आदि कुरा निकै उँच रहेका छन् । यस्ता परिक्रमाले मानिसहरू गृहस्ती जीवनबाट दिक्क भएको बेला मनको दिक्ततालाई स्वच्छ पार्ने काम गर्छ । कहिले पनि घरबाट बाहिर ननिस्केका लोग्नेस्वास्नी मानिसहरू बढी संख्यामा परिक्रमाको मेला भर्न आउँछन । जो पञ्चकोसी परिक्रमा घुम्न सकेको हुँदैनन् । उनीहरू अन्तरगृही परिक्रमा गरेर नै धर्मको भागीदार बन्छन र आफ्ना जीवनमा गरेका पापबाट उन्मुक्ति पाउँछन् । अस्तु । लेखक ः त्रिविका सेवानिवृत सह–प्राध्यापक तथा अन्वेषक हुनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News