जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मधेशमा मात्र नभइ देश र विश्वमै आर्थिक तरलता रहेकाले व्यवसायीहरुको समस्या समाधानका लागि प्रदेश सरकार तत्पर रहने बताएका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघले होलीको अवसरमा जनकपुरधाममा आयोजना गरेको होली मिलन समारोह र व्यवसायीहरुले पालना गर्नुपर्ने आचार संहिता सार्वजनिक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । कुनै पनि पेशालाई मर्यादित बनाउन अनुशासन र आचार संहिता आवश्यक रहेको बताउंदै उनले भने,‘व्यवसायीहरुले आचारसंहिता निर्माण गरी पालना गर्न लागेकोमा मलाई अत्याधिक खुशी लागेकोछ ।’ कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले मिथिलाको संस्कार, अनुशासन र शान्ति पूर्वक होली हुनुपनेमा जोड दिए । उद्योगी व्यवसायीहरुले होलीको अवसरमा शुभकामना दिँदै व्यापारीको समस्या र समाधानका लागि सबै क्षेत्रले पहल गरी दिए मात्र जनकपुरधामको बजार सन्तुलित र अपनत्व सहितको हुने बताएका थिए ।
कार्यक्रममा मैथिली गीत संगीत सहितका सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रममा संघका अध्यक्ष जितेन्द्र महासेठ, वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, उपाध्यक्ष अम्भु प्रसाद साह, महासचिव मनोज कुमार साह सहितको सक्रिय सहभागिता थियो भने कार्यक्रममा जउवासंघका पूर्व अध्यक्ष,स्थानीय राजनीतिकर्मी लगायतका विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।

