अपडेट 
२०७८ चैत्र ३, बिहीबार १६:१०

काेभिड १९ (कोरोना भाइरस) को सङ्क्रमण दर फेरि बढ्न थालेको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सतर्क रहन आग्रह गरेको छ ।

विश्वका कतिपय देशमा सङ्क्रमण दर बढ्न थालेको भन्दै सङ्गठनले कोरोना भाइरसप्रति सजग भनेको हो । एक महिना जति कोरोना सङ्क्रमण दरमा  कमी आएको भए पनि पछिल्लो हप्ता केही देशमा फेरि बढ्न थालेको छ ।

सङ्गठनका प्रमुख डा. टेड्रोस अदानोम गेब्रिएसएसले कतिपय देशमा परीक्षण कम भएकाले कोरोना सङ्क्रमितको सङ्ख्या पनि कम देखिएको हुन सक्ने भएकाले त्यो झन् घातक हुन सक्ने बताउनुभयो । सङ्गठनका अनुसार कतिपय देशमा खोपबारे गलत सूचना फैलाएर र कतिपय देशमा पहुँच नपुगेकाले कोरोनाको थप जोखिम बढ्दै गएको छ ।

पछिल्लो हप्ताको तुलनामा विश्वमा कोरोनाको नयाँ सङ्क्रमण दर आठ प्रतिशतले बढेको छ । गएको ७ देखि १३ मार्चको अवधिमा मात्र विश्वमा ४३ हजार जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । एक करोड १० लाख नयाँ सङ्क्रमित थपिएका छन् ।

पछिल्लो समय चीन र दक्षिण कोरियामा कोरोनाको सङ्क्रमण धेरै देखिएको छ । यी देशमा २५ देखि २७ प्रतिशतले  सङ्क्रमित बढेका छन् ।  यस्तै अफ्रिकामा १२ प्रतिशतले नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै पछिल्लो समय अस्ट्रिया, जर्मनी, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स र बेलायतलगायतका देशमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

Comment


Related News

Latest News

Trending News